केन्द्रको निर्देशनपछि बागमतीमा तत्काललाई रोकियो एमाले मन्त्रीको राजीनामा

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेका एमालेका मन्त्रीहरूको राजीनामा तत्कालका लागि रोकिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि कांग्रेस नेतृत्वको बागमती प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा नदिने निर्णय गरेका हुन्।

यसअघि केन्द्रमा नेपाली कांग्रेस र एमालेबिचको सत्ता साझेदारी अन्त्य भएसँगै बागमती प्रदेश सरकारबाट एमालेका सबै मन्त्रीले बिहीबार मन्त्रिपरिषद् बैठकपछि सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका थिए। तर, अन्तिम समयमा पार्टी नेतृत्वबाट नयाँ निर्देशन आएपछि उक्त निर्णय स्थगित गरिएको हो।

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री तथा एमाले नेता किरण थापामगरले पार्टीको केन्द्रीय निर्देशनअनुसार राजीनामाको तयारी तत्कालका लागि रोकिएको पुष्टि गरे। उनले अहिलेको राजनीतिक परिस्थितिमा पार्टीले थप रणनीति तय गरिरहेकाले त्यसैअनुसार अघि बढ्ने बताए।

उनका अनुसार प्रदेश सरकारमा एमालेको सहभागिताबारे अन्तिम निर्णय पार्टीको केन्द्रीय नेतृत्वले गर्ने भएकाले हालका लागि मन्त्रीहरूले आफ्नो जिम्मेवारी कायमै राख्नेछन्।

हाल बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ सहभागी छन्।

सुझावित समाचार