सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग गरेको छ। शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकले सरकारले सदनको विश्वास गुमाइसकेकाले मुख्यमन्त्रीलाई छिटोभन्दा छिटो मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको हो।
अल्पमतमा परेको सरकारलाई दुरगामी प्रभाव पार्ने निर्णय नगर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको नेकपा संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए। मुख्यमन्त्रीले बहुमत गुमाइसकेको अवस्थामा लामो समयसम्म सरकारमा बसिरहन नहुने उनले बताए।
‘सरकार गठबन्धन जोगाउन असफल भएको छ। बजेट ल्याउन असफल भएको छ र सदनको विश्वास कायम राख्न असफल भएको छ,’ भट्टले भने, ‘यस्तो संवेदनशील अवस्थामा सरकारले लामो समय लिने कुरा प्रदेशको दीर्घकालीन हितका निमित्त राम्रो परिणाम दिँदैन। त्यसैले यो यथार्यलाई दृष्टिगत गरी छिटोभन्दा छिटो मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेका छौँ।’
संसदीय दलको बैठकले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय पनि गरेको छ। त्यसका लागि संसदीय दलका नेता खगराज भट्टको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ। समितिको सदस्यमा उपनेता प्रकाश रावल, प्रमुख सचेतक खुशीराम चौधरी, पूर्वमन्त्री मानबहादुर धामी र रमेशसिंह धामी रहेका छन्।
समितिले सरकार गठनका लागि प्रदेश सभामा रहेका सबै दलसँग संवाद अगाडि बढाउने नेता भट्टले जानकारी दिए। प्रदेश सभामा नेकपा सबैभन्दा ठूलो दल हो।
‘दुई दलको सरकार असफल भइसकेको स्थितिमा र तत्काल दुईटै दल मिल्ने संभावना पनि नदलेखिएकाले दुवै पक्षसँग समदुरीमा रहेर सम्बन्ध राख्न सक्ने वातावरण हामीसँग मात्र रहेको स्थिति छ’ उनले भने, ‘र सदनमा सबभन्दा ठुलो दल भएको कारणले पनि हाम्रो नेतृत्वमा अब सबै दल मिलेर सरकार बनाउन संवाद अगाडि बढाउने निर्णय गरेका छौँ।’
बजेट विवाद उत्कर्षमा पुगेपछि सुदूरपश्चिममा काँग्रेस–एमाले गठबन्धन टुटेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका थिए भने लगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। एमालेको निर्णयसँगै सरकार अल्पमतमा परेको छ।