उदयपुर सिमेन्ट उद्योग लिमिटेड आव ०८१/८२ मा २८ करोड ९५ हजार रुपैयाँ खुद नोक्सानमा छ । यसको कुल सञ्चित घाटा ६ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ पुगिसकेको छ । त्यस्तै, हेटौँडा सिमेन्ट उद्योग आव ०८१/८२ मा ३१ करोड २४ लाख रुपैयाँ खुद नोक्सानमा छ । सञ्चित घाटा एक अर्ब ७६ करोड ६६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गोरखकाली रबर उद्योगको सञ्चित नोक्सानी चार अर्ब ४० करोड ५२ लाख रुपैयाँ कायम छ । आव ०८१/८२ मा खुद नोक्सानी नौ करोड ५७ लाख छ ।
लामो समयदेखि बन्द रहेको र हालै १६ लाखभन्दा बढी खर्चेर डिडिए गर्न लागिएको जनकपुर चुरोट कारखाना लिमिटेडको अवस्था झनै दयनीय छ । यसले उद्योगका अन्य स्रोतबाट ५२ लाख ४२ हजार रुपैयाँ आम्दानी गर्दा ३१ लाख ८० हजार रुपैयाँ प्रशासनिक खर्च गरेर कागजी रूपमा १२ लाख ८५ हजार रुपैयाँ खुद नाफा देखाए पनि यसको सञ्चित नोक्सान दुई अर्ब ९० करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
पूर्ण रूपमा बन्द रहेको र डिडिए भइरहेको बुटवल धागो कारखाना लिमिटेडको सञ्चालन आय जम्मा ९३ हजार मात्र हुँदा त्यहाँका कर्मचारी र प्रशासनका नाममा ४५ लाख २८ हजार खर्च भएको छ । उद्योगलाई तीन करोड ५७ लाख ५१ हजार खुद नोक्सान भई कुल सञ्चित घाटा एक अर्ब ८९ करोड ५२ लाख पुगेको छ ।