संकटमा काठमाडौं उपत्यकाको कृषि संस्कृति

कृषि जोगाउनु भनेको केवल खेत जोगाउनु होइन, मानव सभ्यता, संस्कृति र भविष्य पनि जोगाउनु हो

शनिबार, २० असार, २०८३
डिजिटल संस्करण

काठमाडौं उपत्यकालाई धेरैले मन्दिर, दरबार, जात्राहरूको सहरका रूपमा चिन्छन् । तर, सम्पदाको कुरा गर्दा कृषि संस्कृतिबारे भने कम चर्चा हुन्छ । उपत्यकामा कुनै समय विशाल धानका फाँट, गहुँ, तोरी, आलु, मकैजस्ता बालीनाली लगाइन्थ्यो । हिउँदमा खेतमा परालका थुप्रा हुन्थे । बर्खामा कुलोमा पानी बगिरहेको र किसान खेतबारीमा भरिएका हुन्थे । यहाँको कृषि केवल अन्न उत्पादन गर्ने माध्यम थिएन, जीवनशैली, संस्कृति, अर्थतन्त्र, परम्परा र सामाजिक सम्बन्धको केन्द्रसमेत थियो । तर, आज अग्ला भवन, सवारीसाधनको भिड, कंक्रिट जंगलले ढाकेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका गाउँ कृषि जीवनका आधार थिए । खेतको कामसँगै पूजा, जात्रा, पर्व, गुठी, सामूहिक श्रम र स्थानीय परम्परा गाँसिएका थिए । तर, समयसँगै उपत्यकाको स्वरूप फेरियो । कृषि भूमि आवासमा बदलियो, किसानहरू पेसाबाट विस्थापित हुन थाले । कृषिसँग जोडिएको संस्कृति बिस्तारै सम्झनामा सीमित हुन थाले ।

भक्तपुरबाट काठमाडौंतिर हेर्दा स्वयम्भू र धरहरा स्पष्ट देखिन्थ्यो । त्यतिवेला सिमेन्टका अग्ला भवन, सिसाका घर थिएनन् । हिउँदमा सुनजस्तै पहेंलिएका धानका बाला झुलेका हुन्थे । बर्खायाममा विभिन्न तरकारीका खेतीले मनै आनन्दित बनाउँथ्यो । अहिलेको पुस्तालाई यो कुरा सुनाउँदा सायद एकादेशको कथाजस्तो ठान्लान् ।

उपत्यकाको किसानी जीवन 
आजभन्दा पाँच–६ दशकअघि काठमाडौं उपत्यकाको अधिकांश भूभाग खेतीयोग्य थिए । यहाँका किसानको दैनिकी मौसमसँग जोडिएको हुन्थ्यो । असारमा रोपाइँ, कात्तिक–मंसिरमा धान काट्ने, त्यसपछि गहुँ, तरकारी लगाउने चक्रीय नियमजस्तै थियो । बिहान सबेरै हलो जोत्ने, साँझ गाईभैँसीको स्याहार गर्ने र कुलोको पानी प्रयोग गर्ने गतिविधि सामान्य थियो ।

त्यतिवेला खेतीकिसानी व्यवसाय मात्र होइन, परिवार र समुदायलाई जोड्ने साझा अभ्यास पनि थियो । गाउँका मानिस एक–अर्काको खेतमा पालैपालो काम गर्न पुग्थे । यसले श्रमको अभाव हटाउनुका साथै सामाजिक सम्बन्धलाई पनि बलियो बनाउँथ्यो ।

आज उपत्यकाका जुन ठाउँमा घना बस्ती बनेका छन्, ती सबै कुनै समय खेतैखेत थिए । कालोपुल, रातोपुलमा खेती हुन्थ्यो । अहिले ती दृश्य पुराना चलचित्रमा मात्रै देख्न पाइन्छ होला । मैले देखेको त्यो काठमाडौं उपत्यका आज कतै पनि भेटिँदैन ।

कृषि र संस्कृतिको सम्बन्ध
काठमाडौं उपत्यकाको कृषि संस्कृति विशेषगरी नेवार समुदायको जीवनसँग जोडिएको छ । खेतीसँग धार्मिक विश्वास र सांस्कृतिक अभ्यास मिसिएका थिए । त्यसैले, काठमाडौं, ललितपुर, भक्तपुर वरपरका ग्रामीण क्षेत्रका नेवार समुदायले कृषिलाई जीवनको आधार बनाएका थिए । कुनै वेला उनीहरूको आत्मनिर्भरता र कृषिमाथिको विश्वास नै समाजको शक्ति थियो ।

बिउ छर्नुअघि भूमिपूजा गरिन्थ्यो । वर्षा राम्रो होस् भनी देवताको आराधना गरिन्थ्यो । धान रोपाइँका वेला खेतमै गीत गाउने, हिलोमा रमाउने चलन थियो । नयाँ अन्न देवतालाई पहिले अर्पण गर्ने चलन थियो । धेरै पर्व नयाँ अन्न, मौसमी उत्पादन र कृषिचक्रसँग सम्बन्धित थिए । यसरी, कृषि उत्पादन केवल आर्थिक विषय नभई सांस्कृतिक उत्सवजस्तै थियो ।

उपत्यकाका चाडपर्व, जात्रा र सांस्कृतिक परम्परा पनि कृषिसँगै गाँसिएका छन् । पुर्खाहरूले समाज समृद्ध होस् भनी धार्मिक तथा सांस्कृतिक गतिविधि चलाइरहन्थे । उपत्यकामा गुठीका नाममा एक–दुई रोपनीदेखि हजारौँ रोपनीसम्म जमिन छुट्याएर राखेका थिए । तर, अहिले ती गुठी जग्गा संरक्षण हुन सकेनन् । यही कारणले गुठी व्यवस्थामा आधारित धेरै जात्रा र परम्परा संकटमा परे ।

पहिले खेतैखेत देखिने ठाउँमा अहिले घरैघर बनेका छन् । यही परिवर्तनले हाम्रो कृषि संस्कृति नै मरेको छ । कृषि भनेको केवल अन्न उत्पादन गर्ने माध्यम होइन । कृषि भनेको जीवन हो, सभ्यता हो र अर्थतन्त्रको मेरुदण्ड हो । नेपाललाई कृषि प्रधान देश भनिन्छ, तर आज यो शब्द आफैँमा व्यंग्यजस्तो लाग्छ । उपत्यकाको कृषि कहाँ छ ? खेतीयोग्य जमिन कहाँ छ ? किसान कहाँ छन् ? यसबारे कसैले चासो लिएको देखिँदैन ।

खेत छ भने किसान हुन्छ, किसान छ भने उत्पादन हुन्छ, उत्पादन छ भने अर्थतन्त्र चल्छ, अनि त्यही आयबाट संस्कृति, सभ्यता, जात्रा र चाडपर्व जोगिन्छन् । त्यसैले, कृषि नै हाम्रो सांस्कृतिक जीवनको आत्मा हो ।

उदाहरणका लागि रातो मच्छिन्द्रनाथको जात्रा, इन्द्रजात्रा, बिस्काः जात्रा, हरिसिद्धि नाच, नरदेवी नाच, भक्तपुरको नवदुर्गा नाचजस्ता उपत्यकाका अधिकांश जात्रा कृषिसँग जोडिएका छन् । यी जात्रा सञ्चालन गर्न आवश्यक खर्च व्यवस्थापन र गुठी प्रणालीको आधार नै खेतीयोग्य जमिन थियो । अहिले उपत्यकाका पुराना किसानलाई सोध्यो भने एउटै उत्तर दिन्छन्, ‘जग्गा छैन, खेती छैन, त्यसैले परम्परा जोगाउन गाह्रो हुँदै गएको छ ।’

बिस्काः जात्रामा रथ बनाउने छुट्टै गुठी, डोरी तान्ने छुट्टै गुठी, लिंगो ल्याउने छुट्टै गुठी हुन्थे । इन्द्रजात्रा, हरिसिद्धि नाच, नवदुर्गा नाच सबैको आफ्नै गुठी व्यवस्था थियो । यी सबैको आधार खेतीयोग्य जमिन थियो । जब जमिन नै मासियो, ती व्यवस्था पनि कमजोर बन्दै गए ।

पशुपतिनाथको गुठीको उदाहरण मात्रै लिऔँ । कुनै समय पशुपतिनाथसँग यति धेरै गुठी सम्पत्ति थियो, आवश्यक परे नेपालका मानिसलाई वर्षौंसम्म पाल्न सक्ने सामर्थ्य थियो । तर, ती सम्पत्तिको वास्तविक अवस्था खोज्ने हो भने अहिले धेरै मानव बस्ती त्यसैमा बसेको भेटिन्छ ।

आज उपत्यकाभरि जता हेर्यो कंक्रिटका घर मात्रै देखिन्छन् । कृषि गर्न आवश्यक भूमि नै समाप्त हुँदै जाँदा कृषि संस्कृति पनि अन्तिम अवस्थामा पुगेको छ । उपत्यकाका किसान, जात्रा, चाडपर्व र सभ्यता एक–अर्कासँग अभिन्न रूपमा जोडिएका छन् । जात्रा र संस्कृतिको स्रोत नै कृषि हो । कृषिबाट आएको आम्दानीले नै ती परम्परा धानेको थियो । अहिले उपत्यकाको कृषि संस्कृति अन्तिम सास फेरिरहेको छ ।

अहिले असारमा धान दिवस मनाइन्छ । धान दिवस मनाएको सामाजिक सञ्जालमा फोटा राखेको देखिन्छ । तर, मलाई यो नाटकजस्तो लाग्छ । धान दिवस मनाउनुभन्दा पनि बाँकी रहेका खेतीयोग्य जमिन कसरी जोगाउने भन्ने राष्ट्रिय बहस हुनुपर्थ्यो । कृषि भूमिमाथि भएको अतिक्रमण अब सहन नसकिने अवस्थासम्म पुगेको छ ।

संसारका सबै महान् सभ्यता कृषिक्रान्तिबाटै जन्मिएका हुन् । करिब दश हजार वर्षअघि मानिसले कृषिकर्म सिकेपछि स्थायी बसोवास सुरु भएको मानिन्छ । त्यससँगै पशुपालन, उद्योग, व्यापार, धर्म, राजनीति र शासन व्यवस्थाको विकास भयो । मानव सभ्यताको आधार नै कृषि क्रान्ति हो ।

मानिसले अन्न उत्पादन गर्न सिकेको दिनदेखि सुरु भएको कृषियुग आजसम्म निरन्तर चलिरहेको छ । तर, जुन दिन कृषि समाप्त हुन्छ, त्यस दिन मानव सभ्यताको अस्तित्व पनि गम्भीर संकटमा पर्छ । त्यसैले, कृषि जोगाउनु भनेको केवल खेत जोगाउनु होइन, मानव सभ्यता, संस्कृति र भविष्य पनि जोगाउनु हो ।

गुठी, अर्मपर्म र सामूहिक श्रमको संस्कृति 
उपत्यकाको कृषि व्यवस्थामा गुठी संस्थाको महत्वपूर्ण भूमिका थियो । गुठीको जग्गामा खेती हुन्थ्यो, त्यसबाट आएको आम्दानीले मठ–मन्दिर, जात्रा, पूजा र सामाजिक कार्य सञ्चालन हुन्थे । उपत्यकाको कृषि व्यक्तिगत प्रयासले मात्र चलेको थिएन । यसको आधार गुठी संस्था र सामूहिक श्रम थियो । रोपाइँ, धान काट्ने, अन्न भिœयाउने, खेत जोत्ने सबै काम अर्मपर्मको संस्कृतिबाट हुन्थे । पैसाभन्दा ठुलो अर्मपर्मको विश्वास थियो । गाउँ नै एउटा परिवारजस्तो थियो । समुदाय आफैँले समस्याको समाधान गर्थ्यो । अहिले त्यो पराम्परा हराउँदै गएको छ । खेती गर्ने जमिन नभएपछि सामूहिक संस्कृति कमजोर भएको छ । रोपाइँ, धान काट्ने काममा गाउँलेहरू एक–अर्कालाई सहयोग गर्थे । श्रमको मूल्य पैसा मात्र थिएन, सामाजिक विश्वास र आत्मीयता पनि थियो । आज यस्ता अभ्यास निकै कम देखिन्छन् ।

प्रकृति, कृषि र संस्कृति एउटै चक्र
उपत्यकामा ‘सिठी नख’ विधिपछि औपचारिक रूपमा खेती सुरु हुन्थ्यो । त्यसपछि मनोरञ्जन, जात्रा र उत्सव केही समयका लागि स्थगित हुन्थे, किनभने किसान खेतमा व्यस्त हुन्थे । कहावत नै छ, उपत्यकामा बिहान खेत गएको किसानले साँझ फर्किंदा मात्रै घरमा बच्चा जन्मिएको थाहा पाउँथ्यो । खेतीको व्यस्तता यति धेरै थियो ।

रोपाइँ सकिएपछि घण्टाकर्ण चतुर्दशीदेखि फेरि जात्रा–पर्वको चक्र सुरु हुन्थ्यो । त्यसपछि इन्द्रजात्रा, दसैँ, नवदुर्गा, विभिन्न देवपरम्परा क्रमशः अघि बढ्थे । मानिस, प्रकृति, देवता र कृषि एउटै सांस्कृतिक चक्रका अंग थिए । यही काठमाडौं उपत्यकाको वास्तविक सभ्यता थियो ।

हाम्रा पुर्खाले सबैभन्दा ठुलो सम्पत्ति भूमिलाई माने । त्यसैले त्यसवेला जल, जमिन र जंगललाई सधैँ सम्मानका साथ संरक्षण गरे । लिच्छविकालका अभिलेखदेखि मल्लकालसम्मका ताम्रपत्र हेर्ने हो भने भूमिको संरक्षणलाई राज्यको प्रमुख दायित्वका रूपमा लिइएको देखिन्छ । राजा जयप्रकाश मल्लले चाँगुनारायण क्षेत्रका जंगल संरक्षणका लागि जारी गरेको ताम्रपत्र यसको उत्कृष्ट उदाहरण हो । त्यसमा चाँगु क्षेत्रमा कसैले चोरेर रुख काट्न, दाउरा, स्याउला वा काठ लैजान नपाइने व्यवस्था गरिएको थियो । उल्लंघन गर्नेलाई कडा जरिवानाको व्यवस्था थियो ।

यसको उद्देश्य केवल जंगल जोगाउनु थिएन । चाँगु धार्मिक स्थल मात्र नभई राज्य सुरक्षाका दृष्टिले पनि संवेदनशील क्षेत्र थियो । जंगल विनाश भए प्राकृतिक सौन्दर्य मात्र होइन, सुरक्षा प्रणाली पनि कमजोर हुने बुझाइ थियो । आज त्यही चाँगुवरिपरिका कृषि भूमि प्लटिङ भइरहेका छन् । खेतीयोग्य जमिन घरले ढाकिरहेको छ । नेपालको इतिहास सुरु भएको ठाउँमै कृषि संस्कृति संकटमा परेको छ । इतिहास, संस्कृति र समाजलाई नबुझ्नुको परिणाम यही हो ।

विदेशी विद्वान् टोनी हेगनले दशकौँअघि नै काठमाडौं उपत्यकालाई ‘सुन्दर बगैँचा’ नामकरण गरेर संरक्षण गर्नुपर्ने भनेका थिए । तर, आज यो सुन्दर बगैँचा अस्तव्यस्त भइरहेको छ ।

कुनै समय स्वयम्भू, चाँगु, नागार्जुनसहित वरिपरिका डाँडा खुला खेतबाट सजिलै देखिन्थे । हरियाली फाँटमा बालबालिका खेल्थे । आज ती दृश्य सम्झनामा मात्र सीमित छन् । त्यसवेला बस्ती र खेतको बिचमा निश्चित सीमा थियो । बस्तीबाहिर कृषि भूमि फैलिएको हुन्थ्यो । ऊवेला खेतीयोग्य जमिनमा घर बनाउने कुरा कल्पनाभन्दा बाहिरको विषय थियो । त्यसवेला साँखु, चाँगु, नाला, पनौती, धुलिखेल, लुभु, थानकोट, पाँगालगायत पुराना गाउँमा पनि घर बस्तीभित्र मात्रै बन्थे । खेत खेतीकै लागि सुरक्षित हुन्थ्यो ।

आज भने जहाँ मन लाग्यो, त्यहीँ घर बनाउने प्रवृत्ति बढ्यो । राजधानीमा सानो भए पनि एउटा घडेरी जोड्नुपर्छ भन्ने मानसिकता विकसित भयो । यही सोचले कृषिभूमिलाई क्रमशः समाप्त गर्दै लगियो । यदि मानिस जहाँ जन्मियो, त्यहीँको विकासमा योगदान दिने नीति अपनाइएको भए काठमाडौंमाथिको यस्तो चाप सिर्जना हुने थिएन । कर्णाली, डोल्पा, मुगु, कालिकोट, इलाम, पोखरा सबै क्षेत्र आफ्नै सम्भावनाअनुसार विकसित हुन्थे ।

२०४६ पछि कृषिभूमिको विनाश
२०४६ सालको राजनीतिक परिवर्तनपछि उत्पयकामा बसोवास गर्ने संख्या बढ्न थाल्यो । रोजगारीका लागि ग्रामीण क्षेत्रका मानिस सहर भित्रिन थाले । राजनीतिक परिवर्तन, खुला अर्थतन्त्र र बसाइँसराइले उपत्यकाको जनसंख्या तीव्र रूपमा बढ्यो । अग्ला सिमेन्टेड भवन ठडिन थाले । खेतहरू घडेरीमा परिणत हुन थाले । जुन फाँटमा धान फल्थ्यो, त्यहाँ घर, अपार्टमेन्ट, व्यापारिक भवन बन्न थाले । कृषिभूमि बिस्तारै टुक्राटुक्रा हुँदै गए ।

उपत्यकाबाहिरका मानिस राजधानीमा बसोवास गर्ने क्रम बढ्यो । त्यससँगै खेतीयोग्य जमिन घरले भरिन थाले । राज्यसँग योजना थियो, संस्था थिए, नीति–निर्माण गर्ने निकाय थिए । तर, ती अधिकांश कागजमै सीमित भए । काठमाडौं, भक्तपुर, ललितपुर मात्र होइन, वरिपरिका गाउँ पनि कंक्रिटको जंगलमा परिणत भए । पृथ्वीलाई आमाको रूपमा सम्मान गर्ने समाजले आफ्नै आमालाई बेच्न थाले ।

परनिर्भर बन्यो आत्मनिर्भर उपत्यका
कुनै समय काठमाडौं उपत्यका खाद्यान्नमा आत्मनिर्भर थियो । धान, मकै, तरकारी, फलफूल, दूध, दही, घिउ सबै स्थानीय उत्पादनबाट चल्थ्यो । पशुपालन हुन्थे । कुनै समय टुँडिखेल गाईवस्तुले भरिएका हुन्थे । गाईवस्तुको गोबर मल थियो । उपत्यकावरिपरि गाईवस्तुको गौचर क्षेत्र थिए । जुजुधौदेखि स्थानीय तरकारी र नेवारी परिकारसम्म सबै कृषि संस्कृतिका उपज थिए । आज मल विदेशबाट आयात गर्नुपर्छ । स्थानीय बिउ हराउँदै गए । खानेकुराको स्वाद बदलिएको छ । कृषि र संस्कृतिसँग जोडिएका धेरै परम्परा लोप भइसकेका छन् ।

आज काठमाडौंको कृषि संस्कृति अन्तिम सास फेर्दै छ । पूर्ण रूपमा मरिसकेको छैन । तर, यसको स्वरूप धेरै बदलिएको छ । कतिपय किसानले व्यावसायिक तरकारी खेती, च्याउ उत्पादन, फलफूल उत्पादनतर्फ ध्यान दिएको देखिन्छ । आधुनिक प्रविधि, प्लास्टिक टनेल, ड्रिप सिँचाइ र उन्नत बिउको प्रयोग बढेको पाइन्छ । तर, कृषियोग्य जमिन घट्दै गएको छ । उपत्यकाले दैनिक उपभोग गर्ने अधिकांश खाद्यान्न अब बाहिरबाट आउँछ । कुनै समय आत्मनिर्भर रहेको उपत्यका आज आयातमा निर्भर बन्दै गएको छ ।

उपत्यकामा भूमि मात्र हराएको छैन, त्यससँगै धेरै सांस्कृतिक अभ्यास पनि हराउँदै गएका छन् । अहिले मेसिनले रोप्ने वा ज्यालादारी श्रमिकले काम गर्ने चलन बढेको छ । पहिले रोपाइँका लागि गाउँलेहरू सामूहिक रूपमा जुट्थे । किसानले आफ्नै बिउ सुरक्षित राख्थे । अहिले बजारबाट बिउ किन्ने समय आयो । यी परिवर्तनले उत्पादन प्रणाली मात्र होइन, सामाजिक सम्बन्ध र सांस्कृतिक निरन्तरतामा पनि प्रभाव पार्यो ।

पुनर्जीवन सम्भव कति ? 
अब आवश्यक कुरा भनेको विकास र संरक्षणबिच सन्तुलन कायम गर्नु हो । विकास भनेको खेतीयोग्य जमिनमाथि कंक्रिटको जंगल उभ्याउनु मात्र होइन । जल, जमिन, जंगल, सांस्कृतिक सम्पदा र कृषिभूमि बचाउँदै अघि बढ्नु नै दिगो विकास हो ।

कृषि संस्कृतिलाई पुनर्जीवित गर्न सरकार, स्थानीय तह, समुदाय, किसान र नागरिक सबैले साझा जिम्मेवारी लिनुपर्छ । विज्ञान र प्रविधिको प्रयोग कृषिलाई विस्थापित गर्न होइन, अझ बलियो बनाउन हुनुपर्छ । किनभने, विज्ञानको उत्कर्ष पनि कृषिकै जगमा उभिएको हो । काठमाडौंको संस्कृति बचाउन कृषि बचाउनैपर्छ । कृषि मरेपछि संस्कृति पनि बाँच्दैन ।

कृषिभूमि, जलस्रोत, खुला क्षेत्र र सांस्कृतिक सम्पदाबिच सन्तुलन कायम गरी विकास हुनुपर्छ । विश्वका धेरै विकसित सहरले आफ्नो कृषिभूमि संरक्षण गरेको पाइन्छ । सहर विस्तार भए पनि खेतीयोग्य क्षेत्र जोगाउने प्रयास गरेका छन् । कृषि संस्कृति जोगाउनु भनेको केवल पुरानो जीवनशैलीको सम्झना जोगाउनु होइन । यसले खाद्य सुरक्षा, वातावरणीय सन्तुलन, स्थानीय अर्थतन्त्र, सांस्कृतिक पहिचान पनि दिन्छ । कृषियोग्य भूमि संरक्षण, स्थानीय उत्पादन प्रवर्द्धन, परम्परागत ज्ञानको संरक्षण र आधुनिक कृषि प्रविधिको समन्वय गर्न सक्यो भने उपत्यकाको कृषि संस्कृति बचाउन सकिन्छ ।

प्रस्तुति : पवन बराइली

See More On

सुझावित समाचार