प्रतिनिधि टुंग्याउन ढिला हुँदा सोमबार भएन बन्दसत्र, आज केन्द्रीय सदस्य र भोलि पदाधिकारी निर्वाचन

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण
प्रतिनिधि टुंग्याउन ढिला हुँदा सोमबार भएन बन्दसत्र, आज केन्द्रीय सदस्य र भोलि पदाधिकारी निर्वाचन

बन्दसत्रका लागि तयार हल । तस्बिर : सञ्जीव योञ्जन/नयाँ पत्रिका

  • मंगलबार मध्यरातिसम्म पनि प्रतिनिधि टुंग्याउन सकेन, टुंगिएका प्रतिनिधिका कार्ड सोमबार साँझदेखि वितरण गरियो, बाँकी कार्ड छापेर मंगलबार बिहान ७ बजेदेखि वितरण गरिने, त्यसपछि बन्दसत्र सुरु हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत सोमबार बिहान ८:३० बजे सुरु हुने तय भएको बन्दसत्र प्रतिनिधि छनोट कार्य नटुंगिँदा स्थगित भएको छ । दिनभर प्रतीक्षा गराइएपछि साँझ ६ बजे बन्दसत्र स्थगितको घोषणा गरिएसँगै महाधिवेशन प्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका छन् । सोमबारको सम्पूर्ण कार्यतालिका मंगलबारका लागि सारिएको छ । कार्यतालिका प्रभावित भए पनि मंगलबार बिहानबाट बन्दसत्र सुरु हुने रास्वपाले बताएको छ । 

बन्दसत्र सुरु हुने सूचना पाएपछि प्रतिनिधिहरू बिहानैदेखि चितवनस्थित प्रदर्शनी केन्द्रमा पुगेका थिए । चर्को गर्मीका बिच दिनभर प्रतीक्षा गरेका उनीहरूले बन्दसत्र हलभित्र नाचगान गर्दै समय बिताए । तर, दिनभर कुराएर अन्ततः बन्दसत्र स्थगित गरिएपछि प्रतिनिधिहरूले व्यवस्थापनमाथि प्रश्न उठाएका थिए । 

केन्द्रीय निर्वाचन आयोग र प्रतिनिधि व्यवस्थापन उपसमितिले सोमबार साँझ संयुक्त सूचना जारी गर्दै प्रतिनिधिहरूको नामावली प्रमाणीकरण तथा परिचयपत्र (कार्ड) छपाइ कार्य अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्र तत्काल सञ्चालन गर्न नसकिएको जनाएको छ । ‘प्रदेशबाट प्राप्त महाधिवेशन प्रतिनिधिहरूको नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड छपाइ गर्ने कार्यमा अपेक्षाभन्दा बढी समय लागेको छ । छापिएका कार्डहरू सोमबार साँझ ७ बजेदेखि वितरण सुरु गरिनेछ भने बाँकी कार्ड मंगलबार बिहान ७ बजेदेखि वितरण गरिनेछ । त्यसपछि बन्दसत्र सञ्चालन हुनेछ,’ सूचनामा भनिएको छ । 

रास्वपाले यसबाट प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूलाई परेको असुविधाप्रति क्षमा माग्दै धैर्य र सहयोगका लागि धन्यवाद दिएको छ । सुरुमा मंगलबार सकिने भनिएको महाधिवेशन बुधबारसम्मका लागि लम्बिएको छ । कार्यसूची प्रभावित भएसँगै प्रतिनिधिको समेत बसाइ लम्बिने भएको छ । 

पार्टी प्रवक्ता मनीष झाले समय अभाव र केही प्राविधिक तथा व्यवस्थापकीय चुनौतीका कारण बन्दसत्र निर्धारित समयमा सञ्चालन गर्न नसकिएको बताए । ‘प्रथम महाधिवेशन भएकाले हामीले धेरै कुरा सिकिरहेका छौँ । समयमै कार्यक्रम सक्नेभन्दा पनि कुनै प्रतिनिधि नछुटोस् भन्ने कुरालाई प्राथमिकता दिएका छौँ । पाँच वर्षमा एकपटक हुने महाधिवेशनमा हतारमा निर्णय गर्दा गलत नजिर बस्न सक्छ,’ उनले भने, ‘सजगता अपनाएर नै मंगलबारसम्मका लागि बन्दसत्र सारेका हौँ ।’

उनका अनुसार प्रारम्भिक प्रतिनिधि सूची सार्वजनिक भएपछि मधेश प्रदेशबाट प्रतिनिधि छुटेको गुनासो आएकाले थप ८३ प्रतिनिधि समावेश गर्ने निर्णय गरिएको थियो । तर, ती नामावली ढिलो प्राप्त हुँदा प्रक्रिया प्रभावित भएको उनले बताए । 

झाले अनुशासन आयोगको कारबाहीमा परेका १६ जनालाई महाधिवेशनसम्मका लागि प्रतिनिधि बन्न दिने निर्णय गरिएको पनि बताए । उनका अनुसार प्रतिनिधिको संख्या ४३ सयदेखि ४४ सयको हाराहारीमा पुग्नेछ ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले प्रतिनिधि प्रमाणीकरण प्रक्रियामा समय लागेकाले बन्दसत्र सार्नुपरेको बताए । ‘जिल्ला र प्रदेश अधिवेशनहरू निर्धारित समयभन्दा ढिलो सम्पन्न भएकाले त्यसको प्रभाव प्रतिनिधि प्रमाणीकरणमा परेको हो । टाढाबाट आएका प्रतिनिधिहरू छुट्न नदिन सबैलाई समेट्ने प्रयास गर्दा केही ढिलाइ भएको हो,’ उनले भने । उनका अनुसार सोमबार रातिसम्म २,५०० प्रतिनिधिलाई कार्ड वितरण गरिनेछ भने बाँकीलाई मंगलबार बिहान उपलब्ध गराइनेछ । 

महाधिवेशन स्थगित भए पनि नेतृत्व चयनको विषयमा चासो बढ्दो छ । सभापतिमा रवि लामिछाने तथा वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत चयन हुने लगभग निश्चित मानिएको छ । 

अन्य पदहरूमा भने प्रतिस्पर्धा हुने देखिएको छ । एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता तथा सहप्रवक्ताका लागि विभिन्न नेता आकांक्षी छन् ।

उपसभापतिमा स्वर्णिम वाग्ले, सुनील लम्साल, अशिम शाह, शिशिर खनाल र गणेश पराजुली चर्चामा छन् भने महिला उपसभापतिमा सोबिता गौतम, प्रतिभा रावल, लीमा अधिकारी र समीक्षा बाँस्कोटाको नाम अगाडि आएको छ ।

महामन्त्रीमा मनीष झा, विपिन आचार्य, कवीन्द्र बुर्लाकोटी र भूपदेव शाहबिच प्रतिस्पर्धा हुने सम्भावना छ । सहमहामन्त्री पदमा भने दर्जनभन्दा बढी नेताको दाबी छ । सहमहामन्त्रीमा दीपक बोहोरा, इन्दिरा राना, क्रान्तिशिखा धिताल र रन्जु दर्शनालगायत आंकाक्षी देखिएका छन् । 

केन्द्रीय निर्वाचन आयोगका अनुसार सभापति तथा केन्द्रीय सदस्य पदको निर्वाचन प्रक्रिया मंगलबार सुरु हुनेछ । केन्द्रीय सदस्य पदका लागि सांसद, मन्त्रीदेखि महाधिवेशन प्रतिनिधिसम्म गरी एक हजारभन्दा बढी आकांक्षी देखिएका छन् । 

अन्य पदाधिकारीहरूको निर्वाचन बुधबार सम्पन्न गरिनेछ । महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुने व्यवस्था छ । त्यसमध्ये सभापति एकजना र ९९ सदस्यको निर्वाचन हुनेछ भने ५१ सदस्य सभापतिले मनोनयन गर्नेछन् । कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता पदमा सभापतिले मनोनीत गर्नेछन् । सभापति स्वतः केन्द्रीय सदस्य हुनेछन् ।

यसअघि सोमबार बिहान सार्वजनिक गरिएको कार्यतालिकाअनुसार सभापतिको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, वित्तीय प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि छलफल हुने कार्यक्रम थियो । 

यसरी चयन हुँदै केन्द्रीय सदस्य र पदाधिकारी : ५१ केन्द्रीय सदस्य र ११ पदाधिकारी सभापतिले मनोनीत गर्ने
विधान संशोधनसम्बन्धी मस्यौदा प्रस्तावमा १५८ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ । जसमध्ये एकजना सभापति र ९९ केन्द्रीय सदस्यको पहिलो चरणमा निर्वाचन हुनेछ । ५१ सदस्य सभापतिले मनोनयन गर्नेछन् भने सात प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुनेछन् । सभापति पनि स्वतः केन्द्रीय सदस्य हुन्छन् ।

रास्वपाले केन्द्रीय सदस्य निर्वाचित व्यक्ति मात्र पदाधिकारीका लागि योग्य हुने व्यवस्था गरेको छ । १९ सदस्यीय पदाधिकारीमध्ये १ वरिष्ठ नेता, २ उपसभापति, १ महामन्त्री, ३ सहमहामन्त्रीका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ । १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, प्रवक्ता र ३ सहप्रवक्ता सभापतिले मनोनीत गर्ने प्रस्ताव मस्यौदामा गरिएको छ ।

सहमहामन्त्री विपिन आचार्य नेतृत्वको विधान संशोधनको मस्यौदा सचिवालय र केन्द्रीय समिति बैठकले पास गरिसकेको छ । मंगलबार हुने बन्दसत्रले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । प्रवक्ता मनीष झाका अनुसार महाधिवेशनमा ४३ सयदेखि ४४ सयको हाराहारी प्रतिनिधि पुग्नेछन् ।

See More On

सुझावित समाचार