- राजनीतिलाई केही व्यक्तिको चंगुलबाट निकालेर आमनागरिकमाझ पुर्याउन सुरुमा विवेकशील, त्यसपछि रास्वपाले महत्वपूर्ण भूमिका खेलेका छन्
विवेकशील पार्टीभित्र एउटा चर्चित प्रेरक कथा थियो । त्यो कथाको स्रोत थिएन, तर हाम्रो लागि प्रेरणा बनेको थियो । कुनै देशमा एउटा पार्टी थियो, जसले राजनीतिक संस्कार बदल्न नेतृत्व लियो । उक्त दलको संगठन सानो थियो । पहिलो निर्वाचनमा त्यो पार्टी नराम्ररी हार्यो । किनकि, उनीहरू परम्परागत राजनीति गर्दै थिएनन्, पृथक् राजनीति गर्थे । उनीहरूलाई दल बनाउनु थिएन, संसार बदल्नु थियो ।
समाजलाई उनीहरू राजनीतिक लाग्दैनथ्यो । तैपनि, उनीहरूले आफ्नै शैलीमा काम गरी नै रहे । उनीहरूको सन्देश युवाहरू अनि बच्चाहरूका लागि हुन्थ्यो । भाषा पनि सरल थियो । सन्देश पनि कार्टुनमा आउँथ्यो । अरू ठुला पार्टी उनीहरूलाई हेरेर हाँस्थे । ‘केटाकेटी आए, यसरी राजनीति हुन्छ ?’ भन्थे । तर पनि उनीहरू निरन्तर अघि बढिरहे । उनीहरूले दोस्रो निर्वाचन पनि हारे, तैपनि रोकिएनन् । उनीहरू निरन्तर आफ्नै शैलीमा अघि बढिरहे । तेस्रो निर्वाचनमा (करिब १५ वर्षपछि) उनीहरूले बहुमत ल्याएर जिते । उनीहरू लगातार १५ वर्षदेखि आफ्नो मतदाता निर्माण गर्दै थिए । मलाई त्यो नेतृत्व गर्ने पार्टी विवेकशील हो भन्ने लाग्छ । मलाई त्यो हार व्यहोर्ने पार्टी विवेकशील हो भन्ने लाग्छ । र, त्यही अभियानको नयाँ रूप रास्वपा हो भन्ने लाग्छ ।
विवेकशील : एक दशकको आशा
२०६९ जेठ १५ गते राति पहिलो संविधानसभा भंग हुँदै गर्दा धेरै नेपालीको आँखा निराशाको आँसुले भरिएको थियो । त्यो दिन दिउँसो संविधान समयमै आओस् भनेर केही युवाले ‘नयाँ संविधानलाई स्वागत छ’ भनेर संविधानसभा अगाडि अभियान गर्दै थिए । त्यो राति जब संविधानसभा भंग भयो, त्यसपछि जन्मिएको थियो वैकल्पिक राजनीति । ती युवाको आँसुबाट जन्मिएको थियो विवेकशील अभियान । संविधानसभा भंग भएपछि ती युवा अब कसरी अगाडि बढ्ने भन्ने छलफलमा जुटे । उज्वल थापाहरूले अब नयाँ संस्कार र डेलिभरीसहितको राजनीति चाहिन्छ भनेर छलफल अगाडि बढाए ।
केही साथी राजनीतिभन्दा अभियानमार्फत नै अघि बढ्ने धारणा राख्दै दलमा प्रत्यक्ष आबद्ध हुनुभएन । हप्तौँको छलफलपछि २०६९ साल भदौमा ‘विवेकशील नेपाली मञ्च’ गठन भयो र उक्त मञ्चले ‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ?’, ‘युवा अघि सर्छ, देश अघि बढ्छ’, ‘यो वाद त्यो वाद देश भयो बर्बाद’, ‘विकल्प कुर्दै बस्ने कि आफैँ बन्ने ?’ जस्ता नारासहित अब शिक्षा, स्वास्थ्य, बिजुली, पानीलगायत डेलिभरीको राजनीति गर्नुपर्छ भनेर अभियान छेड्न थाल्यो ।
०६९ सालकै मंसिरमा विवेकशील नेपालीले चप्पल कारखाना, चक्रपथमा आफ्नो कार्यालय स्थापना गर्यो । त्यसको केही दिनपछि भारतमा केजरीवालले आम आदमी पार्टी स्थापना गरे । नेपालमा विवेकशील नेपाली र भारतमा आम आदमी पार्टी संयोगले उस्तै समयमा उदाएको थियो । समय हेर्ने हो भने विवेकशील नेपाली अझ केही महिना जेठो हो । विवेकशील नेपाली दल साइकल यात्रा गर्दै, सडक अभियान गर्दै, रचनात्मक कार्यक्रम गर्दै टिम बनाउँदै थियो । २०७० सालको सुरुवातमा विवेकशील नेपालीले १४ वटै अञ्चलबाट देश बुझ्न पदयात्रा गर्यो र नेपालीहरूको सपना संकलन गर्यो । नागरिकले ‘विदेश गएका श्रीमान् फर्किऊन्, र सँगै बस्न पाइयोस्’, ‘पानी लिन दुई घन्टा हिँड्न नपरोस्’, ‘राम्रो शिक्षा पाइयोस्’ जस्ता आफ्ना सपना सुनाएका थिए । २०७० सालको बुद्धजयन्तीका दिन लुम्बिनीमा भेला भएर ती सपनालाई साक्षी राख्दै वृक्षरोपण गर्दै ती सपना साकार पार्ने कसम खाएर विवेकशील नेपाली अघि बढेको थियो ।
विवेकशील नेपालीले २०७० साल मंसिर ४ गते संविधानसभाको निर्वाचनका निम्ति २०७० साल असोजमा उम्मेदवारी दिने तय गर्यो र काठमाडौं १, ४, ५, ८ बाट चारजना युवालाई मैदानमा उठाएर राजनीतिक मैदानमा प्रवेश गर्यो । उक्त निर्वाचनमा पाएको तीन हजारभन्दा बढी मतले हामीलाई उत्साही बनायो ।
साधारण अधिवेशन गरेर २०७१ साल जेठ २९ गते विधिवत रूपमा निर्वाचन आयोगमा विवेकशील नेपाली दल दर्ता भयो । आम तहमा नचिनिएका युवाले सामाजिक, राजनीतिक र आर्थिक अभियानसहित विवेकशील नेपालीलाई अघि बढाए । विवेकशील नेपालीले डाक्टर गोविन्द केसीको अनशनलाई समर्थन गर्दै शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भनेर अभियान सञ्चालन गर्यो । भूकम्प जाँदा राहत र उद्धारमा गरेको कामले विवेकशील नेपालीलाई आम मानिसबिच फरक पार्टीको रूपमा चित्रण गर्यो । सरसफाइ अभियान, सडक सन्देश, विपत् व्यवस्थापन, स्वास्थ्य शिविर, महिला हिंसाविरुद्ध जनचेतनामूलक अभियानजस्ता सामाजिक काम विवेकशील नेपालीको परिचय बन्दै गयो । उद्यमशीलता तालिम, विदेश जाँदै गरेका नेपालीलाई विशेष परामर्श, उद्यममैत्री नीतिलगायत काम गर्दै आर्थिक अभियानलाई अघि बढाउँदै थियो ।
व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको सांगठनिक अभ्यास, पृथक् विधान, सिइओसहितको पार्टी व्यवस्थापन, आर्थिक र निर्णयमा पूरा पारदर्शितासहित विवेकशील नेपाली दल धेरैका निम्ति पृथक् उदाहरणीय पार्टीका रूपमा स्थापित हुँदै थियो । यसैबिच २०७२ सालमा माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराईले माओवादी त्यागेर २०७३ साल जेठ ३० गते नयाँ शक्ति पार्टीमार्फत वैकल्पिक राजनीतिको सुरुवात गर्नुभयो । पूर्वप्रधानमन्त्रीको यो अभ्यासले वैकल्पिक राजनीतिमा नयाँ आशा जगायो । यसले विवेकशील नेपालीको पनि चर्चा बढायो । नयाँ शक्तिमा भने बिस्तारै नयाँ अनुहार हराउँदै माओवादीकै नेताको अनुहार अगाडि आउँदै गर्दा नयाँ शक्ति ‘नयाँ’ रहन सकेन । नेकपा घोषणासभामा केपी ओली र प्रचण्डसँग एउटै मञ्चमा जब बाबुराम भट्टराई देखिए, तब नयाँ शक्तिले आफ्नो वैकल्पिक राजनीतिको क्लेमलाई आफैँले त्याग्यो ।
लामो समयदेखि विभिन्न क्षेत्रका मानिसलाई जुटाएर नयाँ पार्टी खोल्न बिबिसीबाट रवीन्द्र मिश्रले २०७३ फागुन १७ गते राजीनामा दिए र साझा पार्टी स्थापना गरे । रवीन्द्र मिश्र र बाबुराम भट्टराईको आगमनले वैकल्पिक राजनीतिले थप चर्चा पाइनै रहेको थियो । ०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौंबाट रञ्जु दर्शना र किशोर थापाको उम्मेद्वारीले वैकल्पिक राजनीतिलाई थप स्थापित गर्यो । लगभग उस्तै दल मिलेर लडेको भए राम्रो हुने भन्ने सबैको आग्रह, दुई पार्टीको विचार र मूल्यमान्यतामा समानता रहेकाले २०७४ साल साउन ११ गते विवेकशील नेपाली दल र साझा पार्टी मिलेर विवेकशील साझा पार्टी बन्यो । विवेकशील साझा जन्मँदै गर्दा विवेकशीलले गरेको कामले पार्टीको धरातल मजबुत बनाएको थियो ।
२०७४ कै प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा समेत भाग लिएर दुई लाख १२ हजार ३६४ प्राप्त गर्यो । प्रादेशिक पार्टीसहित प्रदेशमा अब्बल प्रस्तुति प्रस्तुत गर्दै विवेकशील अघि बढ्दै थियो । तर, विवेकशील नेपाली दल र साझा पार्टीका नेताबिच कार्यशैली नमिलेपछि २०७५ साल पुस २७ गते विवेकशील साझा पार्टी फेरि विवेकशील नेपाली दल र साझा पार्टीमा विभाजित भयो । करिब २३ महिनाको अभ्यासपछि फेरि यी दुई दल एक भए । दुर्भाग्य, दोस्रो एकीकरणको आठ महिनापछि पार्टीमा रवीन्द्र मिश्रले राजावादी धार लिएपछि पार्टी वैचारिक रूपमा विभाजित हुन पुग्यो ।
रास्वपा–बालेनको धमाकेदार इन्ट्री
विवेकशीलमा वैचारिक बहसबिच विवेकशीलबाट नै मेयर उठ्ने कुराकानीबिच पार्टीभित्रको कलहको कारणले पनि हालका प्रधानमन्त्री बालेन्द्र शाह स्वतन्त्र उम्मेदवार बन्नुभयो । उहाँ काठमाडौंको मात्र होइन, राजनीतिकै ‘कोर एरिया’लाई टक्कर दिएर देशकै केन्द्रको मेयर निर्वाचित हुनुभयो । स्वतन्त्र व्यक्तिको जितलाई संगठनमा ढाल्ने नेतृत्व भने चर्चित टेलिभिजन प्रस्तोता तथा हालका रुलिङ पार्टीका सभापति रवि लामिछानेले लिनुभयो र असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभयो । राजनीतिमा नागरिकको फ्रस्टेसन मात्र थिएन, कांग्रेस–एमाले–माओवादीको दादागिरी पनि थियो । त्यही दादागिरीविरुद्ध नागरिकले २० सिटसहित रास्वपालाई राष्ट्रिय पार्टी बनाए । दादागिरी नरोकिएपछि र नयाँ राजनीतिक व्यक्ति र दललाई बारम्बार पेलेर सिध्याउन खोजेपछि जेन–जी आन्दोलन भयो । देशको आवश्यकतालाई पहिल्याउँदै विवेकशील साझा पार्टी र रास्वपाको एकीकरण भयो । यो एकीकरणसँगै रास्वपा नयाँ दलहरूको मूलधार बन्यो । त्यसपछि, यो दशककै सबैभन्दा महत्वपूर्ण मिलन भयो । रास्वपा र तत्कालीन काठमाडौंका मेयर बालेन मिलेर स्वतन्त्र पार्टी पुनर्गठन भयो र रास्वपा यो निर्वाचनमा निर्विकल्प शक्ति बन्यो । करिब एक लाख नागरिक सडकमा आएर भएको जेन–जी आन्दोलनको दोस्रो भागको आन्दोलन मतपेटिकामार्फत फागुन २१, २०८२ मा भयो । रास्वापाले ऐतिहासिक रूपमा करिब दुईतिहाइ मत ल्याएर ऐतिहासिक सरकार बनाउन सफल भयो । बालेन्द्र शाहका रूपमा देशले नयाँ प्रधानमन्त्री पायो ।
गत दशकको उपलब्धि
विवेकशील, स्वतन्त्र र नयाँ विभिन्न रूपमा विगत १० वर्षमा राजनीतिक रूपमा मलजल गर्नका लागि प्रत्यक्ष–अप्रत्यक्ष धेरै काम भएको छ । राजनीतिक, सामाजिक र आर्थिक चेतना फैलाउन यी आन्दोलनको ठुलो भूमिका छ । बालेन शाहले स्वतन्त्र नेताका रूपमा र रवि लामिछानेले पार्टी निर्माण गरेर ठुलो पार्टी बनाउन जुन भूमिका खेल्नुभएको थियो, त्यो अद्भूत हो । यो नेतृत्व लामो समयसम्मका लागि विश्लेषण र अध्ययनको विषय बन्नेछ । गत १० वर्षमा केही महत्वपूर्ण भाष्य, मुद्दा र संस्कार स्थापना भएका छन्, जसले आउँदो केही दशक नेतृत्व गर्नेछ ।
१. राजनीतिमा नयाँ अनुहार
कुनै वेला दल भनेकै कांग्रेस, एमाले, माओवादी, राप्रपा भन्ने थियो । नेता भनेकै तिनै अनुहार थिए । विगत केही वर्षयता त्यो भाष्य बदलिएको छ । अब नागरिकले नयाँ पार्टी अनि नयाँ अनुहारमा विश्वास गरेका छन् । राजनीतिलाई केही व्यक्तिको चंगुलबाट निकालेर आमनागरिकमाझ पुर्याउन सुरुमा विवेकशील, त्यसपछि रास्वपाले महत्वपूर्ण भूमिका खेलेको छ । जेन–जी आन्दोलन भने निर्णायक घटना बनेको छ । आमनागरिकलाई व्यक्तिगत अनि पार्टीगत स्वार्थभन्दा माथि उठ्न प्रेरित गरेको छ ।
२. मुद्दाकेन्द्रित राजनीति
विवेकशील नेपाली २०६९ सालमा बाटोमा धारा, बिजुलीको बल्ब, किताब झुन्ड्याएर अभियान गर्दै स्थापना भएको दल हो । बालेन शाहले काठमाडौंको मेयरका रूपमा ‘डेलिभरी’लाई केन्द्रमा राखेर काम गर्न सफल हुनुभयो । रास्वपाले २०७९ को निर्वाचनपछि संसद्मा खेलेको भूमिकालाई धेरैले प्रशंसा गरे । स्वास्थ्य, शिक्षा, सुशासनजस्ता सामाजिक मुद्दा मूल धारको राजनीतिको मुद्दा बन्नु अनि बहस चलाउन सक्नु सानो राजनीतिक उपलब्धि होइन ।
३. शान्तिपूर्ण पृथक् शैली
पेट्रोलको भाउ बढ्दा होस् वा सरकारको विरोध गर्दा होस्, हाम्रो राजनीतिमा चक्काजाम गर्ने, बन्द गर्ने, हड्ताल गर्ने राजनीतिक परम्परा थियो । विवेकशील नेपालीले ‘नेपाल खुला छ’जस्ता अभियान अनि शान्तिपूर्ण दबाबको नयाँ शैली ल्यायो, जसले आन्दोलनको नयाँ रूपमा माइतीघरलाई अगाडि सार्यो । केही पुराना दलले पनि कुचो समात्नेदेखि ‘प्ले कार्ड’ बोकेर शान्तिपूर्ण राजनीति सुरु गरे । अहिले प्रविधिसँगै धेरै आवाज सामाजिक सञ्जालमार्फत उठ्दै छ । राजनीति सकारात्मक अनि रचनात्मक बन्दै गइरहेको छ ।
४. ध्रुवीकृत राजनीतिमा मध्यमार्ग
विवेकशील आन्दोलन सुरु हुँदै गर्दा एउटा नारा खुब घन्कायौँ, ‘यो वाद, त्यो वाद, देश भयो बर्बाद’ हामीले दलको वाद सिद्धान्त हुनुहुँदैन भनेका थिएनौँ । हाम्रो बुझाइ थियो, अबको संसारमा कुनै पनि दल वादको सीमित घेरामा अल्झनुहुँदैन । हामी नेपाली राजनीतिमा नयाँ धार स्थापना गर्न चाहन्थ्यौँ, डेलिभरीको राजनीति अर्थात् परिणाम दिने राजनीति । नागरिकको आवश्यकतालाई केन्द्रमा राख्ने राजनीति । आज पनि देशले त्यस्तो पार्टी खोज्दै छ, जो भविष्यमुखी होस्, समाधान दिन सक्ने होस् र सबैलाई जोड्न सक्ने होस् । विवेकशीलले यो बहसलाई एक हदसम्म अगाडि बढाएको थियो । अब त्यसलाई संस्थागत गर्ने जिम्मेवारी रास्वपाको काँधमा आएको छ ।
विचार–मुद्दा
जेन–जी आन्दोलनपछि आज देश र राजनीति यस्तो ठाउँमा आइपुगेको छ, यहाँबाट देश अनि राजनीति पछि हट्न सक्दैन । आज कुनै पनि नेपाली रास्वपा असफल होस् भन्ने चाहँदैनन् । रास्वपा असफल हुनु भनेको धेरै कुरा असफल हुनु हो । आशा मार्नु हो । तसर्थ, यो पार्टी अनि यो सरकार सफल हुनैपर्छ । तर, पार्टी सफल हुन धेरै कुरा आवश्यक पर्छ । संगठन, विचार, नेतृत्व, मूल्य–मान्यता आदिमा स्पष्टता आवश्यक छ । रास्वपाको चुनौती के हो भने यी सबैमा सँगसँगै स्पष्टता ल्याउँदै सरकारमार्फत संस्थागत गर्दै डेलिभरी गर्नु छ ।
अबको बहस गएको युगजसरी बित्नेछैन, तसर्थ विगतका सैद्धान्तिक विभाजनमा उभिएर तिनको वकालत गर्नुभन्दा पनि सबै सफल अभ्यासलाई देश र जनताका मौलिक चुनौती र लक्ष्यसँग दाँजेर प्रयोग गर्न सकिने रहेछ भने प्रयोग गर्ने नीति नै आजको आवश्यकता हो । स्वतन्त्रता, समृद्धि र स्वाभिमान कुन लोकतान्त्रिक माध्यममा रही मूल्य र मान्यतालाई स्वीकार गर्दै कुन तरिकाद्वारा हासिल गर्न सकिन्छ र सो गर्न हाम्रा आर्थिक, सामाजिक र प्रशासनिक बाटो के हो ? त्यो विषयमा भने हामी स्पष्ट हुनुपर्छ ।
राजनीतिमा लाग्दै गर्दा सबैभन्दा बढी सोधिने प्रश्न हो, यो पार्टी राइट कि लेफ्ट ? मलाई लाग्छ अब कुनै पनि व्यक्ति वा पार्टी राइट वा लेफ्ट भन्ने रहँदैन । तसर्थ, रास्वपा पनि लेफ्ट वा राइट स्पष्ट एकातिर ढल्कन सक्दैन । त्यसैले, गतिशील मध्यमार्ग आजको वैचारिक आवश्यकता हो । शिक्षा, स्वास्थ्य, सामाजिक न्यायजस्ता विषयमा हामीले लेफ्टका अवधारणालाई अंगीकार गर्न सक्छौँ भने व्यक्तिगत स्वतन्त्रता, सम्पत्तिको हक, राष्ट्रियता, संस्कृति–सम्पदा संरक्षणमा हामी राइट देखिन सक्छौँ । समाजलाई प्राथमिकता दिँदै गर्दा हामीले व्यक्तिले ल्याउन सक्ने इनोभेसनलाई ध्यान दिन जरुरी छ । फेसबुक, ट्विटर, इन्टरनेटका याप, प्रविधिको विकासमा राज्यको भन्दा व्यक्तिको योगदान बढी छ । त्यसैले, व्यक्तिले ल्याउने नवीनतालाई राज्यले प्रोत्साहन गर्न जरुरी छ । त्यसैले, हामीले गतिशील मध्यमार्गलाई लेफ्ट–राइट, लेफ्ट–राइट गर्दै अघि बढ्ने विचारको रूपमा पनि बुझ्ने गरेका छौँ । सामान्यतया हामीले मध्यमार्ग भन्नेबित्तिकै बिचको बाटो भन्ने बुझ्छौँ । वा, आधा–आधाजस्तो भन्ने बुझ्छौँ । तर, गतिशील मध्यमार्ग भनेको बिचको भन्ने होइन, यो विचारले मूलभूत सिद्धान्तअनुसार नागरिकलाई जे गर्दा ‘उचित’ हुन्छ, त्यही गर्ने भन्ने हो । त्यसैले, अब कुनै मुद्दामा राइट देखिनु वा कुनैमा लेफ्ट देखिनु मुद्दाको विषय हो ।
सहभागिता र समावेशी लोकतन्त्र आजको आवश्यक हो । आमनागरिकको भाषामा भन्नुपर्दा आजको आवश्यकता मुद्दाकेन्द्रित राजनीति हो, जसले प्रत्येक नागरिकलाई आत्मसम्मान र प्रत्येक नागरिकलाई धनी बनाउने दिशा दिन सक्छ । हामीले खोजेको लोकतन्त्र खुला समाज, आत्मसम्मान, सामाजिक न्याय, स्वाभिमान, व्यक्तिगत स्वतन्त्रता, वाक्–स्वतन्त्रता, सहभागितासहितको लोकतन्त्र हो । शिक्षा, स्वास्थ्य, रोजगारी नागरिक बसेको ठाउँबाट आधा घन्टाको दूरीमा उपलब्ध गराउने डेलिभरीको राजनीति नै आजको माग हो । ‘सबैका लागि समृद्धि, सबैका लागी आत्मसम्मान’ नै आजको आमनागरिकको लक्ष्य हो ।
पहिलो महाधिवेशन : उत्सव
रास्वपाको पहिलो महाधिवेशन असार ७, ८, ९ गते चितवनमा हुँदै छ । यो वैकल्पिक राजनीतिमा लाग्ने प्रत्येक व्यक्तिका लागि उत्सव हो । साथै, यो एउटा भावनात्मक क्षण पनि हो । विगत १० वर्षदेखिका आन्दोलन र नेतृत्वलाई समेट्दै बनेको पार्टी आज एउटा सागर बनेको छ । एकल नेतृत्वको सरकार छ । हामीले युवा नेतृत्व चाहिन्छ भन्यौँ, नागरिकले यसपालि हामीले भनेकै युवालाई भोट दिए । हामीले नयाँ विकल्प चाहिन्छ भन्यौँ, नागरिकले नयाँ शक्तिलाई विश्वास गरेर मत दिए । हामीले बहुमत चाहिन्छ भन्यौँ, नागरिकले बहुमत दिए । हामीले दुईतिहाइ चाहिन्छ भन्यौँ, नागरिकले त्यो पनि दिए । हामीले मागेको हरेक कुरा र अपेक्षा नागरिकले पूरा गरेका छन् । त्यसैले, अब दिने पालो रास्वपाको हो, दिने पालो सरकारको हो । नागरिकले आफ्नो कर्तव्य पूरा गरिसकेका छन्, अब परिणाम देखाउने जिम्मेवारी नेतृत्वको काँधमा छ ।
यो महाधिवेशनले दुईवटा सन्देश दिन जरुरी छ । पहिलो, रास्वपा सांगठनिक रूपमा देश हाँक्न सक्षम छ र कम्तीमा २० वर्षसम्म देशलाई सही दिशामा अघि बढाउन सक्ने क्षमता छ भन्ने सन्देश । दोस्रो, पार्टी एकताबद्ध छ भन्ने सन्देश स्पष्ट रूपमा दिनुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले यो अवसर (पेनाल्टी) मिस गर्नुहुँदैन ।
(पाण्डे रास्वपाका नेता हुन् )