नेपाली कांग्रेस र नेकपा एमालेबिच बजेटमा भागबन्डा नमिलेपछि सुदूरपश्चिम प्रदेश सभा बैठक राति ९ बजेलाई सारिएको छ। यसअघि बजेट प्रस्तुत गर्नका लागि आज बेलुकी ५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो।
आर्थिक मामिलामन्त्री बिक्रमसिंह धामीले राति ९ बजे बस्ने बैठकमा सरकारको बजेट प्रस्तुत गर्ने कार्यसूची छ। बेलुकी ५ बजे बोलाइएको बैठक विशेष कारणवश स्थगित भएकाले अर्को बैठक राति ९ बजे बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए।
बजेट प्रस्तुत गर्नुअघि प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्नुपर्ने व्यवस्था छ। तर, बजेटमा दुई दलबिच भागबन्डा नमिल्दा मन्त्रिपरिषद्को बैठक पनि अहिलेसम्म बस्न सकेको छैन। एमाले आफूूले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट बढाउनुपर्ने माग गरिरहेको छ।