सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता फेरबदलको मागबाट सांसद डम्मरी महरा पछि हटेकी छिन्। योसँगै मुख्यमन्त्री कमलबहादुर शाहको पदमाथि आएको अप्ठ्यारो तत्कालका लागि टरेको छ।
दलको नेता फेरबदलको माग गर्दै कांग्रेसका नौजना सांसदले आज संसदीय दलमा निवेदन दिएका थिए। प्रदेश सभामा रहेका १८ जना सांसदमध्ये एक सांसद लामो समयदेखि विदेशमा रहेका र नौजना विपक्षमा उभिएपछि मुख्यमन्त्री अप्ठ्यारोमा परेका थिए। हाल रहेका १७ जनामध्ये नौजना आफ्नो पक्षमा उभिएपछि संसदीय दलमा मुख्यमन्त्री शाहको तत्कालका लागि बहुमत देखिएको छ।
दलको नेता फेरबदलको माग गर्दै निवेदन दिनेमध्येका एक महराले आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा गर्दै शाहलाई समर्थन गरेर जाने बताएकी छिन्। मुख्यमन्त्री शाहको उपस्थितिमा मुख्यमन्त्री कार्यालयमा भएको पत्रकार सम्मेलनमा उनले हस्ताक्षर फिर्ता लिएको निवेदन संसदीय दलमा पनि बुझाइसकेको बताइन्।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि रहेकाले आफूले दलको नेता फेरबदलका लागि हस्ताक्षर गरेको, तर पार्टी एक भएर जानुपर्छ भन्ने मनसायले हस्ताक्षर फिर्ता लिएको उनले बताइन्।
संसदीय दलका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता फेरबदलको माग गर्दै संसदीय दलमा निवेदन दिने निर्णय गरेको थियो। रावल, महरासहित सांसदहरू दिवानसिंह विष्ट, पदमबहादुर शाही, गीताकुमारी चौधरी, तुलसी देवकोटा, बेलबहादुर रानामगर, ललिता सुनार र जुनाकुमारी दानीले दलको नेता फेरबदलको माग गरेका थिए।