रामेछाप बहुप्राविधिक शिक्षालयमा यसअघि पढाइ सञ्चालन हुँदै आएको फुड एन्ड डेरी विषयमा भर्ना हुने विद्यार्थीको संख्या घटेसँगै उक्त विषयको पढाइ बन्द गरिएको छ ।
शिक्षालयमा गत आर्थिक वर्षमा खुलाएको भर्नामा न्यून विद्यार्थीले मात्रै भर्ना गरेसँगै यस चालू शैक्षिक सत्रका लागि भने सो विषयमा विद्यार्थी भर्ना नलिने निर्णय गरेको हो ।
विद्यार्थी संख्यामा गत वर्षदेखि नै उक्त विषयमा आकर्षण देखिएको थिएन । गत वर्ष पनि यहाँ भर्ना भएकाभन्दा पनि बाहिर जिल्लाबाट स्थानान्तरण गरेर आएका विद्यार्थीलाई अध्यापन गराएको रामेछाप बहुप्राविधिक शिक्षालयका अधिकृत पवन दाहालले जानकारी दिए ।
गत वर्ष भर्ना भएर अध्ययन गरिरहेका उक्त विषयका विद्यार्थीको पठनपाठन भने शिक्षालयले सञ्चालन गर्नेछ । २०७४ सालमा स्थापना गरिएको उक्त शिक्षालयले कृषि र पशु विज्ञान विषयमा भने यस वर्ष पनि भर्ना खोलेर भर्ना अभियान जारी राखेको छ ।
केही वर्षअघिसम्म शिक्षालयले कोटाभन्दा धेरै आवेदन पर्ने गरेको भए पनि पछिल्ला वर्षहरूमा विद्यार्थीको आकर्षण देखिएको छैन । स्थानीय सरकारको पूर्ण छात्रवृति हुँदा पनि विद्यार्थी अन्य विषयमा अध्ययन गर्न राजधानीकेन्द्रित विद्यालयहरूमा जाने गरेका छन् ।