- सगरमाथा आरोहणमा आकर्षण बढ्दै गएकाले अप्ठ्यारो पर्दा सहायता पुग्ने गरी चौथो आधार शिविरमा उद्धार टोली तैनाथ गर्नुपर्छ
नेपालमा रहेको विश्वको सर्वोच्च हिमशिखर सगरमाथा (एभरेस्ट/चोमोलोङमा) चढ्न संसारभरका मानिस लालायित देखिन्छन् । हरेक पर्वतारोहीको अन्तिम लक्ष्य सगरमाथा आरोहण नै हो । विश्वका विभिन्न देशका विभिन्न चुली चढिसकेका आरोहीले अन्तिममा सगरमाथाको टुप्पोमाथि उक्लने लक्ष्य राखेकै हुन्छन् । सगरमाथाको सफल आरोहण नगरेसम्म उनीहरू प्रशिद्ध पर्वतारोहीको दर्जामा पुग्दैनन् । त्यसैले, सगरमाथा आरोहण टोलीमा संलग्न भएर विश्वका विभिन्न देशका पर्वतारोही प्रतिवर्ष सयौँको संख्यामा नेपाल आउँछन् । तीमध्ये कतिपयले सफलता प्राप्त गर्छन् भने कतिपयले आरोहण बिचैमा परित्याग गर्छन् ।
सगरमाथा आरोहण : २९ मे १९५३ मा सर्वप्रथम सगरमाथाको थाप्लोमा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले पाइला टेकेपछिको ७२ वर्षको समयावधिभित्र १७ मे २०२५ सम्ममा ९६२ महिला र ११ हजार ९५५ पुरुष गरी जम्मा १२ हजार ९१७ जनाले सफल आरोहण गरिसकेका छन् (एपिएफ, १६ मे २०२५) । त्यस वर्षसम्ममा दुई सय १६ जनाले विनाअक्सिजन सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण पर्मिट लिएर सफलता नपाएका आरोही एक हजार ३१० जना रहेको बुझिन्छ । यस्तै, हिमालयन डाटाबेसअनुसार आरोहणपछि र अघि १९२१ जुन ५ देखि आरोहण बाटो, डेथ जोन, क्रिभासस, खोंच र आइसफलमा ज्यान गुमाउनेको संख्या ३४० जना पुगेको छ । तीमध्ये करिब २०० को शव अझै हिमालमै यत्रतत्र छन् ।
आरोहण सिलसिलामा यतिका आरोहीको ज्यान गइसके पनि विश्वका विभिन्न देशका आरोहीको सगरमाथा आरोहण गर्ने लोभ र संख्या वर्षैपिच्छे बढ्दै गएको छ । आरोही हर्बर्ट म्यालोरीलाई १९२३ मार्च १८ मा न्युयोर्क टाइम्सको पत्रकारले ‘तपाईं किन सगरमाथा चढ्न चाहनुहुन्छ ?’ भनी सोधेको प्रश्नमा उनले जवाफ दिएका थिए– ‘किनकि त्यो त्यहाँ छ ।’ यसबाट सगरमाथा नेपालमा रहेकाले सगरमाथा चढ्न नेपालमै आउनुपर्छ भन्ने विश्व सन्देश पुगेको थियो । यसले सगरमाथालाई आरोहणमय र आकर्षक बनाइराखेको छ ।
यो वर्ष वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न यो लेख तयार पार्दासम्म ४५ समूहका ४६४ जनाले अनुमति लिएका छन् । यो क्रम जारी रहेको छ । अनुमति लिनेमध्ये ३५३ पुरुष र १११ महिला रहेका छन् । यस वर्ष चीनले विदेशीलाई आरोहण अनुमति नदिने र चिनियाँलाई पनि कडा मापदण्ड अपनाएकाले नेपालबाट आरोहण गर्न १०३ जना चिनियाँले अनुमति लिएका छन्, जुन सबैभन्दा ठुलो समूह हो ।
गत वर्ष पहिलो आरोहण (मे १४) मा एकै दिन ४०, मे १८ मा एकैदिन १३५ र यस वर्षको मे २० मा एकैदिन २७४ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । यसैसाथ संलग्न तथ्यांक तालिकाले देखाएअनुसार सगरमाथा आरोहणप्रति आकर्षण बढिरहेको पाइन्छ ।
कीर्तिमान कायम गर्ने होडबाजी : सगरमाथाको थाप्लोमा टेक्ने मात्र होइन, को धेरैपटक पुग्छ भन्ने पनि होडबाजी चल्ने गरेको पाइन्छ । यसै सिलसिलामा सर्वाधिक थाप्लोमा टेक्ने ‘एभरेस्ट म्यान’को उपनामले विश्वभर कहलिएका कामिरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै यस वर्ष ३२औँपटक सगरमाथा चुमेर नयाँ विश्वकीर्तिमान कायम गर्न सफल भएका थिए । सन् २०२४ को एकै सिजनमा उनले २९औँ र ३०औँपटक सफल आरोहण गरेका थिए । २९औँपटक सफल आरोहण गरेका पासाङ दाबा शेर्पाले कामिरितालाई पछ्याउँदै ढिलोचाँडो दाउ हेर्दै छन्– सके कामिरितालाई उछिन्ने, नसके उनीजत्तिकैमा पुग्ने । विदशीमध्ये धेरैपटक ५१ वर्षीय ब्रिटिस आरोही केन्टोन कुलले २०२५ मे १८ का दिनसमेत गरी १९औँ सफल आरोहण गरी पासाङ दाबा शेर्पालाई पछ्याएका छन् ।
गत सिजनमा २९ वर्षीय टासीग्याल्जेन शेर्पाले १५ दिनमा ४ पटक (मे ९–१४–१९–२३) सफल आरोहण गरी कीर्तिमान कायम गरे । चीनका ३२ वर्षीय आरोही जिङ झाङले मे १४ मा चुचुरोदेखि क्याम्प नं. ३ सम्म ‘स्की’ गरेर कीर्ति राखे । मिर्गौला प्रत्यारोपित ३७ वर्षीय पेम्बा शेर्पाले मे १४ मा सगरमाथा थाप्लोमा फुगेर कीर्तिमान रचे । युत्रेनी–अमेरिकी नागरिक एन्डु उसाकोभले मे १५ मा न्युयोर्कको समुद्री सतहबाट यात्रा सुरु गरी तीन दिन २३ घण्टामा सगरमाथा शिखर चुमेर रेकर्ड बनाए । उनी फर्कने वेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० हजार अमेरिकी डलर अवैध रूपमा लैजान खोज्दा पक्राउ परे । बेलायतका रक्षामन्त्री कर्णेल यलिस्टेयर स्कट कर्नससमेत चारजना पूर्वसैनिकले बेलायतबाट उडेको चौथो दिन मे २१ मा सगरमाथा सफल आरोण गरी छैटौँ दिनमा आफ्नो देश पुगी कीर्तिमान कायम गरेका छन् । यद्यपि, जेनन ग्यास प्रयोग गरी आरोहण गरेकोले यस्तो ग्यास प्रयोग गर्न हुने–नहुनेबारे विवादास्पद भई अन्तर्राष्ट्रिय चर्चा पाएको छ । नेपाल प्रहरीका असइ कुन्जाङ छोपेल शेर्पाले पहिलो महिला प्रहरीका रूपमा मे १९ मा सफल आरोहण गरिन् । यसपटक मृत्यु हुनेमा मे १४ मा फिलिपिन्सका ४५ वर्षीय फिलिप सन्तायागो र मे १५ मा भारतका ४४ वर्षीय सुब्रता घोस रहेका छन् ।
‘पर्वतकी रानी’ उपनामले अल्पाइन क्षेत्रमा नाम कमाएकी ल्हाक्पा शेर्पाले महिलातर्पmको आफ्नो रेकर्ड तोड्दै सन् २०२५ मा समेत गरी ११औँपटक सगरमाथाको थाप्लो कुल्चिएकी छन् । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सन् २०२४ को एउटै सिजनको १३ दिनभित्र तीनपटक सफल आरोहण गर्ने पहिलो कीर्तिमानी महिला बनिन् भने गत सिजनमा समेत गरी उनले पाँचौँपटक आरोहण गरेकी छिन् । युएनडिपी नेपालले गत वर्ष अन्तर्राष्ट्रिय ख्यातिप्राप्त आरोहीहरू पूर्णिमा श्रेष्ठ र निमिरिन्जी शेर्पालाई नेपालमा ‘जलवायु न्याय’सम्बन्धी चेतना जगाउन नेपालको पहिलो ‘जलवायु अभियन्ता’का रूपमा मनोनयन गरेको थियो ।
२०२३ मे २५ का दिन १७ वर्षका निमारिन्जी शेर्पाले १० घण्टाभित्र सगरमाथा र ल्होत्सेको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाए । २०२३ मा पाठेघर क्यान्सर भएकी अमेरिकी महिला आरोही जेसिकारे वेदेल, युक्रेनका पूर्वमन्त्री ५१ वर्षे इमार किस्निर र उनकी श्रीमती ४६ वर्षीया ओकसाना (दम्पती), १६ वर्षीय सोनाम शेर्पा र उनका बाबु पूर्णकुमार (पिके) बाबुछोराले एकैदिन एकैसाथ, आजन्म बहिरा अमेरिकी दम्पती स्कट लेहम्यान र उनकी श्रीमती सायना अंगर (दुवैजना दुइटै कानले नसुन्ने) र कृत्रिम खुट्टाको सहायताले २०२२ मा पूर्वगोर्खा सैनिक हरि बुढामगरले थाप्लोमा टेकेको रेकर्ड कायम गरे ।
सन् २०२१ को सिजनमा फुन्जोझाङ्मु लामाले सर्वाधिक छोटो समय (१४ घण्टा ३१ मिनेट) मा सगरमाथा चुचुरोमा टेक्ने महिलाको कीर्तिमान बनाइन् । कीर्तिमान राख्ने क्रममा उच्च घरानामध्ये सन् २०२१ मा बहराइनका राजकुमार सेख मोहमेद हमाद मोहमेद–अल खालिफा तथा आङदाबा शेर्पा र उनकी पत्नी पासाङफुटी शेर्पाले २०१९ मा ‘फास्ट कपल समिटर्स’ को रेकर्डमा नाम लेखाए । २०१८ मा १६ वर्षीया भारतीय सिवांगी पाठक सबभन्दा कम उमेरकी महिला कीर्तिमानीमा परिन् । भारतकी पूर्वमिस इन्डिया संगीता सिन्धी बही तथा ३७७ घण्टा अन्तरिक्षमा बिताएका इटालीयन अन्तरिक्षयात्री मौरिजिओ चेउलीले सगरमाथा चुमे ।
नेपालका सर्भेयर प्रमुख नापी अधिकृत खिमलाल गौतम पहिलोपटक २०११ मा निजामती कर्मचारीको टोलीमा र सगरमाथाको उचाइ मापन गर्ने क्रममा २०१९ मा दोस्रोपटक सगरमाथाको थाप्लोमा पुगेको रेकर्ड छ । २०१८ मा दुवै गोडा नभएका ६९ वर्षीय चिनियाँ नागरिक सिया बोयु, पाँचपटक स्पेस सटलमा यात्रा गरेका अमेरिकी अन्तरिक्षयात्री स्कट पराजिन्स्की २००९ मा तथा सबभन्दा बढी उमेरकी ७९ वर्षीया जापानी महिला फुनाहासी यई, बुढा पुरुष आरोही ७६ वर्ष १० महिना उमेर पुगेका मिनबहादुर शेरचनले २००८ मा सगरमाथा थाप्लोमा टेकेरै छाडे ।
३५ वर्षीय बाबुछिरी शेर्पा अक्सिजन प्रयोग नगरी १९९९ मे १९–२० मा २१ घण्टा थाप्लोमै वास बसे । २५ वर्षे लाक्पाथार्के शेर्पाले २४ मे २००६ मा सगरमाथा थाप्लोमा अर्धनग्न (शरीरको माथिल्लो भाग खुला भएको) अवस्थामा तीन मिनेट बिताए । फुर्वातासी शेर्पा र सुश्री छुदिन शेर्पाले एक हप्तामा दुई–दुईपटक सगरमाथा थाप्लोमाथि टेके, सुश्री मोनी मुलेपातीले र प्रेम दोर्जीले सगरमाथाको थाप्लोमा ३० मे २००५ मा सिन्दुर–पोते लगाएर बिहे गर्न भ्याए । २००४ मे २१ मा पेम्बा दोर्जी शेर्पाले आधार शिविरबाट आठ घण्टा १० मिनेटमा चुचुरोमा पुग्न भ्याई सबभन्दा छोटो समयमा आरोहण गर्ने पुरुषको कीर्तिमान कायम गरे । २००१ मा अमेरिकी दृष्टिविहीन आरोही एरिक विहेनमायरले पनि शिखर चुमेका थिए । आरोहणमा आकर्षण बढेकाले यस्ता कीर्तिमान राख्ने होडबाजी रहेको बुझिन्छ ।
आरोहण रोयल्टी : सगरमाथाबाट सरकारलाई यस सिजनमा सबैभन्दा धेरै रोयल्टी एक अर्ब एक करोड प्राप्त भएको छ । गत वर्ष ७७ करोड प्राप्त भएको थियो । वसन्त ऋतुमा आरोहण गर्ने रोयल्टी दुई वर्षअघिको ११ हजारबाट यस वर्ष १५ हजार अमेरिकी डलर पुर्याइएको छ ।
सुझाव : सगरमाथा आरोहण गर्ने अनुमति एक वर्ष दिने र अर्को वर्ष रोकेर हिमाल सफाइ गर्ने प्रबन्ध गरिए हिमालको हिउँ पग्लने र प्रदूषण हुने क्रम केही मात्रामा घट्न सक्छ, हिमाल नांगो हुन केही मात्रामा जोगिन सक्छ । यद्यपि, ‘ग्लोबल वार्मिङ’को भूमिका पनि छ । अर्को कुरा, एकै वर्षमा दुईपटक सगरमाथामा उक्लने एउटै आरोहीले दुईपल्ट पर्मिट लिनुपर्ने व्यवस्था हुनुपर्छ । अहिले तुरुन्तै दोस्रोपटक आरोहण गर्ने आरोहीबारे पर्यटन विभाग तथा बेस कयाम्प लियाजो अधिकृतलाई पनि थाहा नहुन सक्छ । यस्ता आरोहीले सफलता हासिल गरेपछि लियाजो अधिकृतको सिफारिस माग्न आउँदा मात्र विधिवत् जानकारी मिल्ने गरेको पाइन्छ ।
आरोहणयामका रूपमा रहेको वसन्त मौसममा अहिलेकोभन्दा कम्तीमा १५ दिनअगावैदेखि आरोहण सुरु गराउने व्यवस्था गर्दा साउथ कोल र हिलारी स्टेपदेखि चुचुरोसम्म ट्राफिक जाम हुने समस्या कम हुन हुन्छ । पर्वतारोहण गाइडको आधारभूत आचारसंहिता, सदाचार, सीप, तालिमका आधारमा मात्र गाइड बन्ने लाइसेन्स दिइनुपर्छ ।
आरोहण आकर्षण बढ्दै गएकाले जोसुकैलाई अठ्यारो पर्दा सहायता पुग्ने गरी चौथो आधार शिविरमा एउटा उद्धार टोली तैनाथ गर्ने व्यवस्था हुनुपर्छ । त्यस क्रममा पर्यटन विभाग, आधार शिविर र हिमाल आरोहीबिच सञ्चार सम्पर्कको प्रभावकारी संयन्त्रको प्रबन्ध गरिनुपर्छ । आरोहीको पोसाकमा विद्युतीय चिप्स जडान भए पनि आरोहण गर्ने प्रत्येक आरोहीलाई जिपिएस प्रविधिद्वारा ट्र्याकिङ गर्ने व्यवस्था गरिनुपर्छ । यसबाट सफल आरोहण गरेको हो–होइन, यकिन गर्न मद्दत पुग्छ । दुर्घटनामा परी मृत्यु भएमा पनि तत्काल थाहा पाउन सजिलो हुन्छ ।
(सीमाविद् श्रेष्ठ नेपाल पर्वतारोहण संघका पूर्वसल्लाहकार हुन्)