- वार्षिक २९ लाख भाडा बुझाउने गरी १० वर्षका लागि लिजमा लिएको उत्तम प्रगति नामक कम्पनीले चलाउँदै छ वृक्षालय होटेल
चियाको स्वाद, गुणस्तर जाँच र बाली संरक्षण गर्ने उद्देश्यका साथ इलामको कन्याममा चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र (टी–टेस्टिङ एन्ड प्रोमोसन सेन्टर) बनाउन राज्यले १८ करोडमा भव्य भवन बनायो । तर, चिया अनुसन्धान केन्द्र सञ्चालन नगरी लिजमा लगाइएको भवनसहितको संरचनामा निजी कम्पनीले वृक्षालय कन्याम होटेल चलाएको छ ।
कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको १८ करोडको संयुक्त लगानीमा उक्त भवन दुई वर्षअघि निर्माण गरिएको थियो । तर, नगरपालिकाले निजी कम्पनी उत्तम प्रगतिलाई लिजमा दियो । भवनमा उक्त कम्पनीले होटेल चलाएको हो । चिया केन्द्र सञ्चालनका लागि दक्ष जनशक्ति र उपकरण अभावको कारण देखाउँदै चालू आर्थिक वर्षदेखि वार्षिक २९ लाख रुपैयाँ भाडा पाउने गरी नगरपालिकाले उक्त कम्पनीलाई १० वर्षका लागि लिजमा दिएको छ । होटेलका सुपरभाइजर सञ्जय प्रधानका अनुसार चार रोपनी जग्गामध्ये तीन रोपनीमा बनेको ‘टी–टेस्टिङ सेन्टर’का पाँचमध्ये चार भवनमा होटेल छ ।
‘गत वर्ष फागुनमा सम्झौता सम्पन्न भएसँगै ७ वैशाखदेखि होटेलले फुडिङ सेवा सुरु गरिसकेको छ,’ उनले भने, ‘लजिङ सेवा भने आन्तरिक सजावटको काम भइरहेकोले आउँदो असारबाट मात्र सुरु हुनेछ ।’
कोशी प्रदेशलाई चिया–कफीको विकासमा अघि बढाउने भन्दै सरकारले सूर्योदय नगरपालिका– ७, कन्याममा ससर्त अनुदानमार्फत उक्त संरचना निर्माण गरेको थियो । गत वर्ष मंसिरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भवनको भव्य रूपमा उद्घाटन गरेका थिए । तर, सूर्योदय नगरपालिकाका कार्यवाहक मेयर दुर्गाकुमार बरालले उद्देश्यअनुरूप सेन्टर सञ्चालन गर्न ढिलाइ हुने भएकाले भौतिक सम्पत्तिलाई उपयोगमा ल्याएर आम्दानी गर्न लिजमा दिइएको दाबी गरे । कार्यविधिअनुसार नै गेस्ट हाउस, किचन र सेमिनार हल मात्र निजी क्षेत्रलाई उपयोग गर्न दिइएको उनको भनाइ छ ।
‘हामीले टी–टेस्टिङका लागि निर्माण भएको प्रयोगशाला (ल्याब) भवन आफैँसँग राखेका छौँ र सञ्चालनको तयारी गरिरहेका छौँ,’ बरालले दाबी गरे, ‘ल्याब सञ्चालनका लागि प्रदेश योजना आयोग र संघीय सरकारका निकायहरूसँग निरन्तर छलफल भइरहेको छ, चाँडै चिया परीक्षण सेवा पनि सुरु गर्नेछौँ ।’
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति ढुंगानाले पनि वित्तीय हस्तान्तरण भइसकेकाले गेस्ट हाउस भाडामा लगाउने अधिकार पालिकाकै भएको बताए । प्राविधिक कर्मचारी र उपकरण अभावका कारण पालिकालाई कार्य सम्पादनमा कठिनाइ भएपछि प्रदेश योजना आयोगले नै यसलाई निजी क्षेत्रमार्फत सञ्चालन गराउन सुझाव दिएको उनले जानकारी दिए । ढुंगानाका अनुसार ल्याबका उपकरणहरू आयात भइसकेकाले जडान गरेर लिजमै भए पनि सञ्चालन गराउने प्रयास भइरहेको छ ।
किसान र उद्यमीलाई ‘हर्ष न बिस्मात्’
चिया रोप्न सुरु भएको करिब १६० वर्षपछि इलाममा अत्याधुनिक अनुसन्धान केन्द्रका लागि भवन निर्माण हुँदा यहाँका किसान र चिया उद्यमीमा ठुलो उत्साह थपिएको थियो । नेपाली अर्थोडक्स चियाको गुणस्तर विश्वव्यापी बनाउन, माटो विश्लेषण गर्न र कीटनाशक अवशेष परीक्षणका लागि यो केन्द्र सहयोगी बन्ने प्रदेश सरकारको समेत दाबी थियो । विशेष गरी भारतीय बजारमा नेपाली चिया निर्यात गर्दा गुणस्तरको नाममा पटक–पटक झन्झट खेपिरहेका उद्योगीहरूका लागि यो केन्द्र आशाको किरण बनेको थियो ।
तर, प्रवर्द्धन केन्द्र सञ्चालन हुनुको साटो होटेल सञ्चालन भएपछि चिया उद्यमी खिन्न भएका छन् । चिया उद्योगी तथा सूर्योदय अर्थोडक्स चिया उत्पादक संघका प्रवक्ता बुद्ध तामाङले सरकारले पूर्ण तयारी र अनुसन्धान नगरी हतारमा लगानी गर्दा यस्तो अवस्था आएको बताए । ‘चिया प्रवर्द्धन केन्द्र सञ्चालन गराउन प्रदेश सरकार र पालिका दुवै असफल देखिए,’ प्रवक्ता तामाङले आक्रोश पोखे, ‘करोडौँको लगानी उद्देश्यअनुरूप सदुपयोग नहुँदा हामी उत्पादकहरूलाई ‘हर्ष न बिस्मात्’ भएको छ ।’
कृषिविज्ञ डा. राजेन्द्र उप्रेतीले चियाजस्तो संवेदनशील अनुसन्धान केन्द्रभित्र व्यापारिक होटेल सञ्चालनमा ल्याइनुले सरकारी लगानी बालुवामा पानी हालेसरह भएको टिप्पणी गरे । ‘चिया परीक्षणको नाममा हुने अन्तर्राष्ट्रिय झमेला अन्त्य गर्न स्थापना गरिएको केन्द्र सञ्चालनमै नआई होटेल बन्नु दुःखद हो,’ उप्रेतीले भने, ‘अब त्यहाँभित्र रहेको प्रयोगशाला सही रूपमा सञ्चालनमा आउन सक्ने सम्भावना निकै कम छ, सरकारका चिया विकासका कुरा अब गफमा मात्र सीमित हुने देखियो ।’
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले अनुसन्धानको काम गर्ने भनिएको र विश्वभरका चियाविज्ञ (टी–इन्स्पेक्टर)ले चिया जाँच्न सक्ने दाबी गरिएको देशकै नमुना परियोजना सञ्चालन नहुँदै विवाद र व्यापारिक स्वार्थमा फसेपछि स्थानीय स्तरमा सरकारको तीव्र आलोचना भइरहेको छ ।