सल्यान प्रहरीले लागुऔषध चरेससहित दुईजनालाई नियन्त्रणमा लिएको छ। बनगाड कुपिण्डे नगरपालिका– १, सल्लीबजारबाट ३३९ ग्राम ६ मिलिग्राम चरेसजस्तो कालो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका– १ का ६० वर्षीय रतबहादुर ऐरी र सोही ठाउँका ४० वर्षीय रमेश परियार रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय देवस्थलको संयुक्त गस्ती टोलीले शंकास्पद अवस्थामा रहेका मानिसलाई चेकजाँच गर्दा चरेसजस्तो पदार्थ फेला परेको उनको भनाइ छ। प्रारम्भिक सोधपुछ गर्दा प्राप्त सूचनाको आधारमा अर्को व्यक्तिलाई समेत पक्राउ गरी खानतलासी गर्दा उक्त व्यक्तिबाट पनि सोही प्रकृतिको आगुऔषध बरामद भएको भट्टराईले बताए
दुवैलाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न मुद्दामा फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ। ज्यान मार्ने उद्योगमा फरार सल्यान त्रिवेणी गाउँपालिका- १ घर भई दाङ शान्तिनगर गाउँपालिका ५ बस्ने ५० वर्षीय तिलकराम घर्ती र चोरी मुद्दामा फरार सल्यान सिद्ध कुमाख गाउँपालिका २ घर भई हाल कुमाख गाउँपालिका २ नेटा बजार बस्ने २० वर्षीय ज्योतिप्रकाश विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घर्तीलाई सल्यान शारदा नगरपालिका २ खलगाबाट र विकलाई कुमाख २ नेटा बजारबाट पक्राउ गरिएको सूचना अधिकारी देवराज भट्टराईले बताए। घर्तीलाई इलाका प्रहरी कार्यालय तुलसीपुर र विकलाई सल्यान जिल्ला अदालत बुझाइएको उनको भनाइ छ।