धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले तीनजनाको नाम टुंगो लगाएको छ । गत शुक्रबार चारजनाको अन्तर्वार्ता लिएको समितिले पहिलो नम्बरमा रहेका डा. नवराज अधिकारीलाई पन्छाएर तीनजनाको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकद्वय मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टको नाममा टुंगो लागेको हो । संक्षिप्त सूचीबाट बाहिरिएका डा. अधिकारी सेबोनका अवकाशप्राप्त कार्यकारी निर्देशक हुन् ।
सेबोन अध्यक्ष सिफारिस समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले राजीनामा दिएपछि सदस्य डा. सञ्जय आचार्यलाई तोकिएको थियो । समितिको सदस्यमा अर्थसचिव डा. घनश्याम उपाध्याय र बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल छन् । सिफारिसमा परेका डा. गोपालप्रसाद भट्टले ‘नेपालमा धितोपत्र बजारको प्रभावकारिता’ विषयमा विद्यावारिधि गरेका छन् ।
राष्ट्र बैंकमा कार्यरत रहँदा उनले बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, वित्तीय व्यवस्थापन विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग र मानव संसाधन व्यवस्थापन विभागजस्ता महत्वपूर्ण विभागको नेतृत्व सम्हालेका थिए । सेयर बजार र आर्थिक वृद्धिबिचको सम्बन्धबारे उनको अनुसन्धान सेबोनको जर्नलमा प्रकाशित भइसकेको छ । भट्टको अध्ययनले नेपालको पुँजी बजार आर्थिक वृद्धिसँग जोडिए पनि अझै कमजोर र संरचनागत समस्याबाट ग्रसित रहेको निष्कर्ष निकालेको थियो । हाल उनी विभिन्न विश्वविद्यालय र कलेजमा लगानी व्यवस्थापन, सुरक्षा विश्लेषण, पोर्टफोलियो व्यवस्थापन, वित्तीय डेरिभेटिभ्स, मर्जर तथा एक्विजिसन र कर्पोरेट पुनर्संरचनाजस्ता विषय अध्यापन गरिरहेका छन् ।
चार्टर्ड एकाउन्टेन्ट (सिए)समेत रहेका मुकुन्दकुमार क्षेत्रीले राष्ट्र बैंकमा वित्तीय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग र सूचना प्रविधि विभागको नेतृत्व गरेका थिए । ३० वर्ष सेवा पूरा गरेर उनी ०८१ चैतमा अवकाश भएका हुन् । उनीसँग सेबोन र नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुवै संस्थामा सञ्चालकका रूपमा काम गरेको अनुभव छ । त्यस्तै, अर्का उम्मेदवार क्षेत्री पनि राष्ट्र बैंकको प्रतिनिधिका रूपमा सेबोनको बोर्ड सदस्य भइसकेका छन् । उनले नेप्सेको सञ्चालक समितिमा समेत बसेर दोस्रो बजारको सञ्चालन, नीतिगत चुनौती र बजार संरचनालाई नजिकबाट नियालेका छन् ।