सार्वजनिक यातायातमा यात्रुको सरसामानको सुरक्षा सुनिश्चित गर्न अब ‘ब्यागेज ट्याग’ प्रणाली अनिवार्य हुने भएको छ । १५ जेठदेखि लागू हुने यो व्यवस्थाले बस तथा अन्य सार्वजनिक सवारीमा हुने झोला, लगेज वा सामान हराउने, चोरी हुने तथा साटिने समस्या नियन्त्रण गर्ने अपेक्षा छ ।
यससम्बन्धी सम्झौतापत्रमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबिच हस्ताक्षर भएको छ । उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार यात्रुको सामानको सुरक्षा मजबुत बनाउन र आपराधिक गतिविधि नियन्त्रण गर्न यो प्रणाली लागू गर्न लागिएको हो ।
नयाँ व्यवस्थाअनुसार यात्रुको सामानमा विशेष ‘ब्यागेज ट्याग’ लगाइनेछ, जसले सामान पहिचान गर्न र यात्रु तथा व्यवसायी दुवैलाई जिम्मेवार बनाउन सहयोग पुग्नेछ । ‘यातायात व्यवसायीले नै यस्तो ट्याग बनाएर यात्रुको सामानमा लगाउनुपर्नेछ,’ एसएसपी अधिकारी भन्छन्, ‘यसबाट झोला कसको हो भनेर प्रस्ट पहिचान भएर यात्रुको सामानको सुरक्षा त छँदै छ, झोलाभित्र अवैध सरसामान ओसारपसार हुन सक्ने भएकाले त्यसको नियन्त्रणमा पनि सहयोग पुग्नेछ ।’
महासंघ अध्यक्ष सरोज सिटौला ब्यागेज ट्याक लागू गर्दा व्यवसायी र यात्रु दुवैलाई फाइदा हुने बताउँछन् । ‘यसले सार्वजनिक यातायातलाई पनि थप व्यवस्थित बनाउँछ,’ उनले भने, ‘यसको कार्यान्वयनका लागि हामीले गृहकार्य अघि बढाइसकेका छौँ ।’ कार्यान्वयनका लागि यातायात व्यवसायीले चालक तथा सहचालकलाई तालिम दिने तयारी गरेका छन् ।
प्रणाली लागू भएपछि सार्वजनिक यात्रुको ब्याग राख्दा दुई प्रति ट्याग जारी गर्ने र त्यसमध्ये एउटा यात्रुलाई र अर्को झोलामा राख्नुपर्नेछ । गन्तव्यमा पुगेपछि यात्रुसँग भएको ट्याग र झोलाको ट्याग भिडाएर मात्र सामान दिनुपर्नेछ । यस्ता ट्यागहरू क्युआर, बारकोड तथा नम्बरमा आधारित बनाउनेबारे व्यवसायीले छलफल थालेका छन् ।
सार्वजनिक यातायातमा यात्रुका सामान हराउने तथा साटिने समस्या रहँदै आएको छ । यसरी सामान हराउँदा विगतमा यात्रु र सार्वजनिक यातायातका कर्मचारीबिच विवाद हुने गरेको थियो । अब ट्याग हुने भएपछि यस्तो विवाद हुनेछैन । यदि यात्रुको कुनै सामान हराएमा क्षतिपूर्ति दिनुपर्नेछ । समझदारीपत्रमा छ, ‘ट्याग टाँसिएको सामान प्रथम पक्षको लापरबाहीका कारण हराएमा वा क्षति भएमा प्रचलित कानुन वा सहमतिअनुसार यात्रुलाई उचित क्षतिपूर्ति दिइनेछ ।’
कतिपयले सार्वजनिक यातायातमा झोलाभित्र लागुऔषधलगायत अवैध सामान लुकाएरसमेत बोक्ने गरेका छन् । तर, त्यस्ता सामान प्रहरीले बरामद गर्दा कसैले जिम्मेवारी नलिने र सार्वजनिक यातायातका चालक र सहचालक फस्ने गरेका छन् । यो प्रणाली लागू भएसँगै त्यस्तो समस्या पनि हट्ने एसएसपी अधिकारी बताउँछन् ।
कतिपय पर्यटक बसमा यो प्रणाली रहे पनि सबै सार्वजनिक यातायातमा यसको सुरुवात गर्न लागिएको छ । विमानहरूमा लगेजको पहिचानका लागि यस्तो ट्याग लगाइने गरिएको छ ।
मनसुनजन्य दुर्घटना रोक्न विशेष अभियान
मनसुनजन्य दुर्घटना रोक्न ट्राफिक प्रहरीले विशेष अभियान थालेको छ । सडक र सवारीलक्षित मनसुनजन्य विपत् न्यूनीकरण अभियान २०८३ को शुक्रबार शुभारम्भ गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा काठमाडौंको नयाँबसपार्कमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यमा अभियानको शुभारम्भ भएको हो । अभियानअन्तर्गत नयाँ बसपार्कसहित कलंकी, नागढुंगा, फर्पिङ, भक्तपुरलगायतका विभिन्न स्थानमा सडक र सवारीलक्षित मनसुनजन्य विपत् न्यूनीकरणका लागि नागरिक सहायता कक्ष स्थापना गरेरै आजबाट सेवा दिन थालिएको एसएसपी नवराज अधिकारीले बताए । सहायता कक्षमा मौसम र सडकको अवस्थाबारे जानकारी दिइने ट्राफिक प्रहरीले जनाएको छ ।
मनसुनको समयमा सडक दुर्घटना, पहिरो, डुबान, चिप्लोपन र पारदर्शितालगायतका कारणले मानवजीवन र यातायात व्यवस्थापनमा ठुलो चुनौती सिर्जना हुँदै आएकाले यस्ता जोखिमलाई न्यूनीकरण गर्दै सडक संस्कृतिको विकास गर्ने उद्देश्यले अभियान सुरु गरिएको उनले बताए । यसअन्तर्गत मौसम पूर्वानुमान महाशाखासँग समन्वय गरेर जोखिमपूर्ण सडकमा सार्वजनिक सवारीसाधन सञ्चालन गरिनेछ । बाढी–पहिरोको जोखिम रहेका सडकमा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइने ट्राफिक प्रहरीले जनाएको छ ।