राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले नीति तथा कार्यक्रमले ‘समृद्धि, सुशासन र नागरिक विश्वास’को नयाँ युगको आधार निर्माण गर्ने बताएका छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्ष ०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद सुवेदीले जनताले परिणाम खोजिरहेकाले अबको दायित्व नीति बनाउनुका साथै त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी नतिजा ल्याउनु रहेको बताए।
देशमा आर्थिक सुस्तता, युवा विदेश पलायन, रोजगारीको अभाव, सेवा प्रवाहमा ढिलासुस्ती र जनविश्वासको संकटजस्ता गम्भीर चुनौतीहरुको सामना गरिरहेको बेला सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ‘आशा, सुधार र रूपान्तरण’को बलियो आधारशीला बनेको उनको भनाइ थियो।
‘नीति तथा कार्यक्रमले सुशासन, आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना, इ–गभर्नेन्स, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको छ, जुन वर्तमानको आवश्यकता हो,’ उनले भने, ‘सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र नागरिकमुखी बनाउने स्पष्ट कार्ययोजना अघि सारेको छ। भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र उत्तरदायी शासन प्रणाली निर्माणप्रति सरकारको दृढ प्रतिबद्धता जनअपेक्षाको मर्मअनुरूप नै छ।’
सुवेदीले नीति तथा कार्यक्रम समय सान्दर्भिक रहेको भन्दै आगामी दिनमा छोटो, स्पष्ट र कार्यान्वयनयोग्य नीति तथा कार्यक्रम बनाउन सुझाव दिए। ‘सरकारको नीति प्रस्ट छ, नियत सही छ, नतिजा परिणाममुखी हुनेछ,’ उनले भने।
सांसद सुवेदीले संसद् सत्तापक्षीय, प्रतिपक्षीय आरोप र प्रतिरोधमा नअल्झिएर जनपक्षीय कानुन निर्माणमा केन्द्रित हुनुपर्ने बताए। उनले बजेट पहुँचमा आधारित नभई आवश्यकतामा आधारित भएर आउनुपर्ने धारणा पनि राखे।
सांसद सुवेदीले नीति तथा कार्यक्रमको स्पष्ट कार्यान्वयनको खाका बनाउन र आगामी दिनमा मापनयोग्य होस् भनेर सरकारलाई सुझाव दिए।