सरकारले आर्थिक सहायता रोकेपछि डायलाइसिस गर्न नपाएका मिर्गौलाका बिरामीले मंगलबार माइतीघर सडकबाट गुहार मागेका छन् । सरकारबाट अनुमति र भुक्तानी लिएर देशभरका विभिन्न ‘डायलाइसिस सेन्टर’हरूले मिर्गौला फेल भएका बिरामीलाई डायलाइसिस सेवा दिँदै आएका थिए ।
तर, ती सेन्टरहरूले सरकारबाट भुक्तानी नपाएको भन्दै सेवा रोकेपछि मिर्गौला फेल भएका गम्भीर बिरामी संकटमा परेका हुन् । यसै विषयमा ध्यानाकर्षण गराउन मिर्गौलापीडित सरोकार समाज नेपालले प्रदर्शन गरेको हो ।
प्रदर्शनपछि स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षणपत्रसमेत बुझाएको छ । पीडितहरूले डायलाइसिसबापतको २० प्रतिशत भुक्तानी बिरामीले नै गर्नुपर्ने नियम खारेजीको मागसमेत गरेका छन् ।