सेलो संगीतकी सेतु निर्मला

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण

मकवानपुरकी गायिका निर्मला घिसिङ सेलो संगीतको चर्चित नाम हो । सयौँ तामाङ सेलो र अन्य गीतहरूमार्फत उनले आफ्नो परिचय स्थापित गरिसकेकी छिन् । तामाङ जातिले विकसित गरेको सेलो संगीतलाई लिएर उनी विश्वभर यात्रारत छिन् । सेलो संगीतलाई विश्वव्यापीकरण बनाउन सेतुको काम गर्नेमा गायिका निर्मला घिसिङ थोरै कलाकारमध्ये एक हुन् ।

निर्मलाले विश्वभर पुर्‍याइरहेका गीतमा केवल मनोरञ्जन दिने सेलो संगीत मात्रै छैन । उनले तामाङ जातिले भोगिरहेको ऐतिहासिक पीडा, संघर्ष र आत्मसम्मानका गीतहरू पनि सँगै लिएर हिँडिरहेकी छिन् । भूपाल राईको शब्द, भरत लामाको संगीतमा उनले गाउने एउटा गीत यस्तो छ: 

दरबार बनायौ धरहरा ठड्यायौ
याम्बु सहरको सडक बनायौ 
पुस्तौँपुस्ताको गर्दन झुकिन्जेल 
राजा महाराजको सवारी चलायौ 
ओ ताम्बा नायक भन
तिमीले के पायौ ?

निर्मलाले तामाङ महिलाहरूले भोगेको ऐतिहासिक शोषणको भाव समेटिएको गीत पनि गाउँदै हिँडिरहेकी छिन् । 

रावतको शब्द, कुमार गुरुङको संगीतमा उनले गाउँदै हिँड्ने अर्को गीत यस्तो छ:

बज्यैको जुनी सुसारे बनी बित्यो नि हजुर
चोभारै फोडी बगी गो खुसी बगेर दुःख हजुर

यी वैचारिक शक्ति बोकेका उनका प्रतिनिधि गीत हुन् । निर्मलाले गाउने अधिकांश गीतमा समाजको कथा भेटिन्छ । उनका तामाङ सेलोमा आधारित कैयन चर्चित गीतहरू छन् । ‘गुँरासै फूल्ने,’ ‘पिंगाई माया,’ ‘सिलफूल’, ‘च्याङ्बा यो ज्यान तिम्रै हो’, ‘जालमाया’, ‘दरबन्दी’, ‘होइ च्याङ्बा’जस्ता चर्चित गीतहरू उनले गाएकी छिन् । ‘कसले बनायो दाजै उडिजाने बस्,’ जस्तो आप्रवासी श्रमिकको पीडामा बनाइएको गीतमा पनि उनले स्वर दिएकी छिन् ।

निर्मला यिनै गीतहरू गाउँदै कहिले अमेरिका पुग्छिन्, कहिले अस्ट्रेलिया । कहिले बेलायत पुग्छिन्, कहिले युरोपका देशहरू । आ–आफ्नै देशका कुनाकन्दरामा घुमिरहेकी भेटिन्छन् भने कहिले पुग्छिन् खाडी देशहरूमा ।

दुई महिनाअघि नै तामाङ समुदायको सांस्कृतिक पर्व ल्होसारका लागि अमेरिका पुगेकी उनी अमेरिका, इजरायल र इरान युद्धको कारण अहिले उतै छिन् । नेपाल फर्कने तयारीमा रहेकी उनले योपटकको अमेरिका यात्रा पनि उत्तिकै यादगार रहेको बताइन् । ‘तामाङ समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा भएको कार्य{क्रममा गीत गाउनका लागि यहाँ आएको हो । योपटकको अमेरिका भ्रमणमा पनि थुप्रै ठाउँमा सांगितिक प्रस्तुति दिएँ,’ उनले भनिन् ।

मकवानपुरको सानो गाउँको सामान्य परिवेशबाट सुरु भएको उनको जीवनयात्रा सजिलो थिएन । बाल्यकालमै संगीतप्रति झुकाव भए पनि अवसरको अभाव थियो । तर, मनभित्रको आगो निभेन । जसले उनलाई गीत–संगीतमै काम गर्न अभिप्रेरित गरिरह्यो । ‘बच्चैदेखि गायनमा र कलाकारितामा रुचि थियो । हामी तामाङ समुदायमा घरभित्रै र समाजमा पनि गीत–संगीत सुनेर हुर्कन्छौँ । म पनि त्यसरी नै हुर्किएँ,’ उनी भन्छिन्, ‘आफ्नै घरभित्र हजुरआमा, आमा, काकाकाकीले गुनगुनाएको सुन्दै हुर्किएँ । घरभन्दा बाहिर मेलापात, वनपाखामा पनि गाउँलेले गाउँने गीत सुनेर हुर्किएँ ।’ गाउँका मेलापात, विद्यालयका साना कार्यक्रम, गाउँघरमा वेलामौका हुने कार्यक्रम हुँदै उनले आफ्नो स्वरलाई चिनाउन थालिन् ।

समयसँगै निर्मलाको गीत केवल मनोरञ्जनमा सीमित रहेन । उनले समाजउपयोगी अर्थपूर्ण गीतहरू पनि सुनिन्, गाउने कोसिस गरिन् । त्यही कोसिसकै निरन्तरता स्वरूप उनले भूपाल राई र रावतका गीतहरू गाउन पुगिन् । संघर्षपूर्ण दिनहरू पार गर्दै उनी आज विश्वभर तामाङको कथा र सेलो संगीत बोकेर हिँडिरहेकी छिन् । 

यसकारण सेलो संगीतमा
कष्टकर समयका बाबजुद उनले गायनलाई निरन्तरता दिइरहिन् । विदेशमा पहिलो सांगीतिक यात्रा उनको नौ वर्षअघि युकेबाट सुरु भयो । त्यसपछि जापान पुगिन् । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसार सन्दर्भमा उनी त्यहाँ पुगेकी थिइन् । विभिन्न देशमा आयोजना हुने सांस्कृतिक कार्यक्रम, महोत्सव र नेपाली डायस्पोराबिच उनले तामाङ गीत, तामाङ सेलोलगायत अरू सांगीतिक प्रस्तुति दिँदै आइरहेकी छिन् । विदेशमा बसोवास गर्ने नेपालीहरूका लागि उनका कार्यक्रमहरू केवल मनोरञ्जन मात्र नभई, आफ्नो संस्कृति र जरा सम्झिने अवसर पनि बनिरहेको छ ।

उनको यात्राले दुई महत्वपूर्ण काम गरेको छ, पहिलो, तामाङ भाषाका गीत, सेलो संगीतलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गरेको छ । दोस्रो, नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिप्रति गर्व गर्न प्रेरित गरेको छ । त्यसैले निर्मलाको प्रस्तुति केवल गीत होइन, एक सांस्कृतिक संवाद हो, जसले देश र विदेशका दर्शकबिच भावनात्मक सेतु निर्माण गर्छ । ‘सेलो गीत फैलिनुको विभिन्न कारण छन् । तामाङ समुदाय आफैँ पनि सांगीतिक समुदाय हो । सेलोको ट्युनिङ मिठो हुन्छ । सबै दर्शक स्रोतालाई यसले तुरुन्तै आकर्षण गर्छ । त्यसैले पनि सेलो संगीतको विश्वव्यापीकरण भएजस्तो लाग्छ,’ उनी भन्छिन् । उनको कोसिसले भन्छ, यदि निरन्तर कोसिस गरिरहने हो भने स्थानीय कला पनि विश्वव्यापी बन्न सक्छ ।

उनी विदेशमा सांगीतिक कार्यक्रममा पुग्दा सबै समुदायलाई समेट्ने गीतहरू पनि गाउँछिन् । ‘तामाङ समुदायले नै कार्यक्रम आयोजना गरे पनि गैरतामाङको पनि उत्तिकै सहभागिता हुन्छ । त्यो कुरालाई ख्याल गर्दै हामीले आफ्नो मेलोडी त गाउनै पर्छ । हाम्रो भाषाको गीत प्राथमिकतामा राख्नैपर्छ,’ उनी भन्छिन्,‘सबै समुदायको उपस्थिति भएको कारण लोकभाका, आधुनिक, लोकपप सबै खालका गीत गाउने कोसिस हुन्छ ।’

तामाङ सेलोको विश्वव्यापीरकणमा जोडिन पाउँदा खुसी लागेको बताउँछिन् । ‘कलाकारितामै आफ्नो ऊर्जा, समय, लगाव सबै कुरा लगानी भएको कारण अन्तर्राष्ट्रिय कार्यक्रममा सेलो गीतसँगै पुग्न पाउँदा खुसी लाग्छ,’ उनी भन्छिन्, ‘हामीलाई यहाँ पुर्‍याउने माध्यम सेलो बनेको छ । म व्यक्तिको रूपमा नभएर कलाकार, गायिकाको रूपमा अन्तर्राष्ट्रिय मञ्चमा पुगेको हुँ । यो ठाउँमा पुग्दा गर्व नै लाग्छ ।’

सेलो गीतका नाममा पछिल्लो समय देखिएको विकृतिप्रति भने सजग हुनुपर्ने उनको तर्क छ । ‘हामी कस्तो संगीतमा रमाइरहेका छौँ । त्यो संगीतले समुदायलाई कसरी प्रतिनिधित्व गर्छ ?, संगीतले समुदायको सांस्कृतिक समृद्धिमा टेवा पुर्‍याउँछ कि पुर्‍याउँदैन ? भनेर अध्ययन गर्नुपर्छ । सेलो गीत भनेर गाइएका गीत साँच्चै सेलो हो कि होइन त्यो हेर्नुपर्छ,’ उनी भन्छिन्,‘तामाङ समुदाय जहाँ पुगे पनि संगीतभित्र गौरव, इतिहास र आत्मसम्मान खोजिरहेका हुन्छन् । त्यो मेटिनु हुँदैन ।’

दर्जनौं देशमा गएर साँगितिक प्रस्तुति दिइसकेको उनले विकसीत देशमा भन्दा खाडी देशमा पसिना बगाउनेहरू भावनात्मक रूपमा निकट हुने अनुभव गरेकी छिन् । ‘धनीराष्ट्रमा समयका कारण सांगीतिक कार्यक्रम जेनतेन राम्रै हुन्छ । भेटघाट कम हुन्छ । खाडीमा नेपालबाट कलाकार आए भनेपछि पर्वजस्तै हुन्छ । त्यो हिसाबले भावना जोडिने हुन्छ । उनीहरूले हामीलाई स्विकार्ने, भावनात्मक रूपमा नजिक हुने हिसाबले फरक हुन्छ,’ उनले भनिन् ।

विदेशमा हुने कार्यक्रममा तामाङ समुदायको उपस्थितिले उनलाई अझै ऊर्जा भर्छ । जीवनको ऊर्जावान् समय गीत–संगीतमै बिताएकी उनलाई अब यही क्षेत्रमा अझै गर्नुछ । तामाङ गीत–संगीतलाई नै मलजल गरेर हुर्काउनु छ । संगीतको माध्यमद्धारा तामाङ समुदायले आफ्नो पहिचानको गौरव गरिरहेकाले यही क्षेत्रलाई अझै समृद्ध बनाउनुपर्ने योजनामा उनी छिन् । ‘अलि पहिलेदेखि नै मलाई लागेको हो, संगीत भनेको मनोरञ्जन मात्र होइन, जिम्मेवारी पनि हो । आफू सीमान्तकृत समुदायको पनि भएकाले समुदायप्रति पनि उत्तरदायी हुनुपर्छ भन्ने सोच धेरै अगाडि देखिएको हो । त्यहीअनुसारका मेरा गीतहरू बनेका छन्,’ उनी भन्छिन्, ‘आफ्नो तर्फबाट समुदायलाई पनि दिनुपर्छ भनेर लागेको छु । समुदायको कथा, व्यथा कसरी भन्ने, हामी के हौँ ?, के थियौं ?, भोलि के हुनुपर्छ भन्ने कुरा मैले गीत–संगीतको माध्यमबाट भनिरहेकै छु ।’

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा मानवशास्त्र अध्ययन गरिरहेकी छिन् निर्मला । अनुसन्धानको विषय उनले तामाङ संगीत र समाज नै राखेकी छिन् । भन्छिन्, ‘मेरो अध्ययन पनि यस्तै विषयमा भएकाले तामाङ संगीतको खोजी गर्ने, अध्ययन, अनुसन्धान गर्ने र तामाङका लागि गीतसंगीत के हो ? आगामी पुस्तालाई भन्ने मेरो योजना छ ।’

सुझावित समाचार