प्रतियुनिट औसत ९.४४ रुपैयाँ पर्ने बिजुलीको भाडामा बस्नेसँग असुल्छन् २८ रुपैयाँसम्म

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

काठमाडौंका घरबेटीको ‘विद्युत् व्यापार’

विद्युत् प्राधिकरणले घरायसी प्रयोजनका लागि सिंगल फेज लाइन प्रयोग गरेका उपभोक्ताको विद्युत् महसुल दर प्रतियुनिट अधिकतम ११ रुपैयाँ मात्रै निर्धारण गरेको छ । यो दर पनि २५० युनिटभन्दा बढी खपतमा लागू हुने हो, २५० युनिटभन्दा कम खपतमा न्यूनतम ४ रुपैयाँदेखि अधिकतम ९.५० रुपैयाँसम्म मात्रै लाग्छ । गत वर्ष प्राधिकरणले तोकेको विद्युत्को औसत बिक्री मूल्य ९.४४ रुपैयाँ मात्रै थियो । तर, अधिकांश घरबेटीले भाडामा बस्नेहरूसँग प्रतियुनिट १२ रुपैयाँदेखि १९ रुपैयाँसम्म असुल गर्ने गरेको गुनासो गरेका छन् ।

काठमाडौं नेपालटार बस्दै आएका रामकृष्ण पुडासैनी घरबेटीले प्रतियुनिट १५ रुपैयाँ लिने गरेको बताए । ‘घरबेटीले मसँग प्रतियुनिट १५ रुपैयाँका दरले लिने गरेका छन् । कतिपयसँग १२ रुपैयाँ मात्रै लिने गरेको पनि सुनेको छु,’ उनले भने ।

बानेश्वर थापागाउँ बस्ने एक महिलाले प्रतियुनिट १९ रुपैयाँ तिर्ने गरेको बताइन् । नाम नखुलाउने सर्तमा उनले भनिन्, ‘घरबेटीले मसँग प्रतियुनिट १९ रुपैयाँ लिने गरेका छन् । वरिपरिका अन्य घरमा बुझ्दा यही दरमा असुल्ने गरेको जानकारीमा आएको छ ।’ उनी डेरा बसेकै घरमा किराना पसल पनि चलाउँछिन् । सामान्य किराना पसल भएका घरमा पनि सिंगल फेज लाइन नै जोडिएको हुन्छ । यदि उद्योगका लागि चाहिने ‘थ्री–फेज’कै लाइन जडान गरेको हो भने पनि प्राधिकरणले निर्धारण गरेको ‘उपभोक्ता विद्युत् महसुल दर’ प्रतियुनिट अधिकतम ११.५० रुपैयाँ मात्रै हो ।

अध्यनका लागि काठमाडौं आएका गुल्मीका समीर सुनार क्षेत्रपाटीमा भाडामा बस्छन् । उनीसँग घरबेटीले बिजुलीको प्रतियुनिट १६ रुपैयाँको दरले पैसा उठाउने गरेका छन् । ‘म क्षेत्रपाटीमा भाडामा बस्छु । यहाँ बिजुलीको पैसा प्रतियुनिट १६ तिरिरहेको छु । मेरो दाइको डिल्लीबजारमा कन्सल्टेन्सी छ । त्यहाँ पनि प्रतियुनिट १६ रुपैयाँको दरमा पैसा तिरिरहेका छौँ,’ उनले भने, ‘तोकिएभन्दा बढी शुल्क तिर्नुपर्दा बसाइ  र व्यवसाय महँगो भएको छ । बढी पैसा तिर्नुपर्ने भएकाले विद्युतीय चुलोलगायतका उपकरणसमेत प्रयोग गर्न पनि मन जाँदैन ।’

अनामनगर बस्दै आएका भोजपुरका सन्दीप न्यौपानेले पनि प्रतियुनिट १५ रुपैयाँ तिर्दै आएको बताए । ‘मसहित त्यो घरमा भाडामा बस्ने अरूसँग पनि घरबेटीले एक युनिटको १५ रुपैयाँ उठाउँछन्,’ उनले भने ।

अनामनगरमा सञ्चारसम्बन्धी एजेन्सी चलाउँदै आएका एक व्यवसायीले पनि प्रतियुनिट १६ रुपैयाँ तिर्दै आएको बताए । ‘म इमाडोल बस्छु, त्यहाँका घरबेटीले प्रतियुनिट १५ रुपैयाँ लिन्छन् । अनामनगरमा मेरो कार्यालय छ, यहाँका घरबेटीले १६ रुपैयाँका दरले लिन्छन्,’ उनले भने ।

कतिपय घरबेटीले भाडावालासँग युनिटको आधारमा भन्दा प्रतिकोठाका हिसाबले निश्चित दर तोकेर लिने गरेका छन् । उनीहरूले डेरावालालाई हिटर, फ्रिज, आइरन, विद्युतीय चुलोजस्ता उपकरण प्रयोगमा बन्देज लगाउने गरेका छन् ।

बानेश्वर थापागाउँमा बसोबास गर्दै आएका रुपन्देहीका चन्द्र केसी भन्छन्, ‘हाम्रो घरबेटीले बिजुलीको शुल्कबापत मासिक रूपमा प्रतिकोठा १५० रुपैयाँ लिनुहुन्छ । तर, बिजुली बाल्नेबाहेक अन्य विद्युतीय सामग्री प्रयोग गर्न पाइँदैन ।’ सामान्यतः सबमिटर जडान नगरिएका घरमा यस्तो समस्या छ ।

अधिकांश भाडामा बस्नेलाई घरबेटीले बिजुलीको बिलसमेत नदेखाउने र मनलाग्दी शुल्क माग्ने गरेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना भन्छन्, ‘औसतमा बिजुलीको मूल्य प्रतियुनिट ९–१० रुपैयाँ छ । तर, घरबेटीले भाडामा बस्नेसँग त्योभन्दा धेरै शुल्क उठाउँदै आएका छन् । घरबेटीले बढी शुल्क असुल गर्नु ठगी हो । अधिकांशले प्रतियुनिट १५–१६ रुपैयाँ लिन्छन् । कतिपयले त्योभन्दा बढी लिने गरेको पनि देखिन्छ । घरबेटीको यस्तो ठगीबाट विद्यार्थी, मजदुर, कर्मचारी र साना व्यवसायी मर्कामा परेका छन् ।’

विद्युत् महसुलमा घरबेटीहरूले गरेको मनपरी रोक्न सरकार नै जिम्मेवार हुनुपर्ने तिमिल्सिनाको सुझाव छ । ‘प्राधिकरणजस्ता सेवा प्रदायक निकायले यसमा अनुगमन त गर्नैपर्छ, चुप बसेर हुँदैन । तर, यसमा सरकार नै बढी जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘घरभाडालाई व्यवस्थित बनाउन सरकारले तत्काल मापदण्ड बनाएर जारी गर्नुपर्छ । त्यसमा घरबेटी र भाडावाला दुवै पक्षको भनाइ समावेश हुनुपर्छ । साथै, घरकै भाडादरको विषयमा स्पष्ट व्यवस्था हुनुपर्छ । बिजुली, फोहोर, पानी, इन्टरनेटलगायतका नाममा घरबेटीले भाडावालालाई ठग्ने प्रवृत्तिको अन्त्य गर्न कारबाहीको व्यवस्था पनि गर्नुपर्छ ।’

ऊर्जासचिव चिरञ्जीवी चटौत घरबेटी र भाडावालाका लागि फरक–फरक विद्युत् महसुल दर निर्धारण नगरिएको बताउँछन् । ‘विद्युत् महसुल घरबेटी र भाडावालाका लागि फरक–फरक दरमा निर्धारण गरिएको छैन । जुन दर तोकिएको छ, त्यो सबैका लागि समान हो । त्यसअनुसार घरेबेटीले भाडामा बस्नेसँग बढी शुल्क लिन नपाउने हो,’ उनले भने, ‘तर, यो घरबेटी र भाडामा बस्नेहरूबिचको आपसी समझदारीको विषय भयो । यस्तो प्रवृत्ति भएको सुन्ने गरिए पनि उजुरी भने आएको थाहा छैन । गुनासो आए सम्बोधन गर्छौँ ।’

प्राधिकरणका उपकार्यकारी निर्देशक तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठले घरबेटीले विद्युत् शुल्कमा ठगी गरेको सम्बन्धमा उजुरी नआएको बताए । ‘उजुरी आयो भने सम्बोधन गर्न सकिन्छ,’ उनले भने ।

कार्यान्वयन भएन भाडामा बस्नेलाई छुट्टै मिटर दिने योजना
घरबेटीले विद्युत् महसुलमा गर्ने ठगी समाधान गर्न विद्युत् प्राधिकरणले ०७८ पुसमा ‘भाडामा बस्नेका लागि छुट्टै मिटर राख्ने’ योजना ल्याएको थियो । तत्कालीन ऊर्जामन्त्री पम्फा भुसाल र कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा विद्युत् वितरण विनियमावली संशोधन गर्दै विनियम १६ मा भाडामा बस्नेले पनि छुट्टै मिटर राख्न पाउने व्यवस्था गरिएको थियो । घरधनीको लिखित सहमति, कम्तीमा एक वर्षको घरबहाल सम्झौता, वायरिङ छुट्याउनेलगायतका सर्तमा घर भाडामा बस्नेलाई छुट्टै मिटर दिने व्यवस्था गरिएको थियो । तर, त्यो कार्यान्वयन हुन सकेको छैन ।

प्राधिकरणका उपकार्यकारी निर्देशक तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठले घर भाडामा बस्नेलाई छुट्टै मिटर दिन व्यावहारिक चुनौती भएको बताए । ‘एउटै घरमा ४–५ परिवार भाडामा बस्छन् । वायरिङसमेत छुट्टाछुट्टै गर्नुपर्दा छुट्टै मिटर राख्न कठिनाइ भयो । कतिपय अवस्थामा घरबेटीले पनि लिखित सहमति नदिने देखियो  । स्वयं भाडामा बस्नेहरू पनि यो झन्झटमा पर्न चाहँदैनन् जस्तो छ,’ उनले भने, ‘त्यसैले भाडामा बस्नेलाई छुट्टै मिटर दिने व्यवस्था कार्यान्वयनमा आउन सकेको देखिँदैन ।’

बढी शुल्क उठाउने घरबेटीको लाइन काट्ने कानुनी व्यवस्था
घरधनीले भाडामा बस्ने व्यक्तिसँग प्राधिकरणले तोकेभन्दा बढी दरमा महसुल उठाउन नपाउने व्यवस्था विद्युत् वितरण विनियमावली, २०७८ मै छ । मासिक बिल रकमलाई कुल खपत युनिटले भाग गर्दा कायम हुने दरको आधारमा भाडामा बस्नेसँग महसुल उठाउनुपर्ने विनियमावलीमा स्पष्ट व्यवस्था छ । भाडामा बस्नेसँग बढी शुल्क लिएमा लाइनसमेत काट्न सकिने व्यवस्था पनि विनियमावलीको विनियम ३१ को उपविनियम १ को ‘ढ’ मा उल्लेख छ ।

‘घरभाडामा बस्ने व्यक्तिसँग घरधनी ग्राहकले प्राधिकरणले तोकेभन्दा बढी दररेटमा विद्युत् महसुल लिएको पुष्टि भएमा प्राधिकरणले लाइन काट्न सक्नेछ,’ विनियमावलीमा भनिएको छ, ‘प्राधिकरणले तोकेको दररेट भन्नाले घरधनी ग्राहकले प्राधिकरणलाई तिरे/बुझाएको मासिक रकमलाई सो महिनाको कुल खपत युनिटले भाग गर्दा कायम हुन आउने प्रतियुनिट दररेट सम्झनुपर्छ ।’

यो व्यवस्था लागू भएपछि सुरुवाती समयमा प्राधिकरणका वितरण केन्द्रमा सीमित संख्यामा गुनासो आएको थियो । त्यसमा प्राधिकरणले घरबेटीहरूलाई बोलाएर सचेतसमेत गराएको थियो ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मनोज सिलवालले विगतमा घरबेटीहरूलाई सचेत गराउने काम गरेको बताउँछन् । ‘मैले लामो समय ग्राहक सेवा तथा वितरण सेवा निर्देशनालयमा काम गरेँ । त्यस वेला यस्तो गुनासो आएको थियो । त्यसपछि  विनियमावलीमा घरेबटीले भाडामा बस्नेसँग बढी शुल्क लिन नपाउने र त्यस्तो लिएको अवस्थामा लाइन काट्न सकिने व्यवस्था गरेका थियौँ,’ उनले भने, ‘त्यसपछि केही गुनासो आएका थिए । त्यसमा घरबेटीहरूलाई बोलाएर सचेत गराएको अवस्था थियो ।’

See More On

सुझावित समाचार