अमेरिका–इरान युद्धले मध्यपूर्वी देशमा देखिएको तनावका कारण नेपाली चिया निर्यातमा पनि प्रभाव परेको छ । ढुवानी भाडा महँगो हुँदा विशेष गरेर मध्यपूर्वी र युरोपियन देशमा निर्यात हुने नेपाली चियामा प्रभाव देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार गत आर्थिक वर्ष ०८१/८२ को चैत मसान्तको तुलनामा चालू आर्थिक वर्षको चैत मसान्तसम्म चिया निर्यात २६ दशमलव ७३ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्ष ०८१/८२ को चैत मसान्तसम्म तीन अर्ब २७ करोड २० लाख ७२ हजार मूल्यबराबरको एक करोड २८ लाख १८ हजार तीन सय दशमलव १५ केजी चिया पूर्वीनाकाबाट भारत हुँदै विभिन्न मुलुक निर्यात भएको थियो । तर, चालू आर्थिक वर्षको चैत मसान्तसम्म दुई अर्ब ५८ करोड १९ लाख ८५ हजार रुपैयाँ मूल्यबराबरको ९९ लाख ४३ हजार ७९४ दशमलव ८० केजी चिया मात्रै निर्यात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।
चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाका प्रमुख इन्द्रप्रसाद अधिकारीले अमेरिका–इरान युद्धका कारण मध्यपूर्वमा देखिएको तनावले चियाको निर्यातमा प्रभाव देखिएको बताए । भारतले अनेक बहानामा नेपाली चियामा अवरोध गर्नु र युद्धका कारण मध्यपूर्वी देश र युरोपियन देशमा निर्यात गर्न भाडा महँगो हुँदा निर्यात घटेको उनको भनाइ छ ।
‘अहिले सिटिसी र अर्थोडक्स दुवै चिया भारतमा एकदम कम गएको छ । अहिले भारतले पनि कडाइ गरेको छ । मध्यपूर्वी देश र युरोपमा जाने चिया कन्टेनर र पानीजहाजको भाडा बढेका कारण जान सकेको छैन,’ उनले भने, ‘पहिला युरोपतिर अर्थोडक्स धेरै जान्थ्यो । अहिले माग नै गर्दैनन् । जसले गर्दा निर्यात घटेको छ ।’
सिटिसी चियाको उत्पादन घट्यो
तराईमा उत्पादन हुने सिटिसी चिया भने रोगका कारण उत्पादन नै घट्दा निर्यात कम भएको छ । ‘लुपर नामक किराका कारण सिटिसी चियाको उत्पादन नै करिब २० देखि २५ प्रतिशत घटेको छ,’ चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाका प्रमुख इन्द्रप्रसाद अधिकारीले भने, ‘रोग नियन्त्रणका लागि हामीले जनचेतनामूलक कार्यक्रम त गरेकै छौँ । तर, बजेट र कार्यक्रम नहुँदा पर्याप्त कार्यक्रम नै गर्न सकिएको छैन । चिया उत्पादन घट्दा निर्यात पनि घटेको हो ।’
अमेरिका–इरान युद्धका कारण हवाई र पानीजहाज भाडा करिब तीन सय प्रतिशत वृद्धि भएको चिया उत्पादक उदय चापागाईं बताउँछन् । ‘भाडावृद्धि तीन सय प्रतिशत भएको छ । भाडा बढे पनि बन्द गर्न सक्दिनँ । नोक्सान नै भए पनि पठाउनुपर्छ । ढुवानी खर्च बढ्दा निल्नु न ओकल्नु भएको छ । सरकारले करमा छुट दिँदैन । सरकारले सहयोग गरेन,’ उनी भन्छन्, ‘सरकारले चिया उत्पादकलाई प्रोत्साहन गर्नुपर्छ । तर, हामीकहाँ सरकार छैन । यो त प्रशासनिक इकाइ मात्र हो । प्रशासनिक इकाइले दैनिक काम मात्र गर्छ । मिसन र भिजन हुँदैन ।’
चिया निर्यातमा भारतको कडाइ
नेपाली चिया निर्यातमा भारतले वेला–वेलामा ल्याब परीक्षणको नाममा अवरोध गर्ने गरेको छ । यसअघि मार्च अन्तिम सातादेखि अप्रिल पहिलो सातासम्म भारतले परीक्षणको नाममा चिया बोकेका मालवाहक सवारी मेची पुलमा रोकिएका थिए । तर, त्यसपछि खुला गरे पनि फेरि ल्याब परीक्षणका नाममा मे १ अर्थात् शुक्रबारबाट परीक्षण अनिवार्य गरेको छ । यद्यपि, शुक्रबार नेपालमा सार्वजनिक बिदा भएकाले चिया भारत निर्यात नभएको नेपाल चिया उत्पादनक संघका अध्यक्ष आदित्य पराजुलीले बताए । जसका कारण फेरि रोक्ने–नरोक्ने/टुंगो नलागेको उनको भनाइ छ ।
भारतले गुणस्तर नियन्त्रणका नाममा टी बोर्ड अफ इन्डियाले ‘स्ट्यान्डर अपरेटिङ प्रोसिजर’का लागि नेपालबाट भारत निर्यात हुने चिया अनिवार्य प्रयोगशालामा परीक्षण गर्नुपर्नेछ । २४ घण्टाभित्र बोर्डका अधिकारीहरूले पाँच कन्टेनरमध्ये कुनै एकबाट पाँच सय ग्रामका दुई सेट नमुना संकलन गर्ने भारतले जारी गरेको परिपत्रमा उल्लेख छ । नमुना संकलनपछि परीक्षणका लागि चियाको नमुना कलकत्ता पठाइन्छ । नमुनाको रिपोर्ट नआएसम्म चिया बोकेका कन्टेनर नाकामै रहन्छन् । नमुनाको रिपोर्ट आउन समय लाग्ने चिया उत्पादक उदय मैनाली बताउँछन् । यो नेपाली चियामा भारतको खराब नियत भएको मैनालीको भनाइ छ । ‘ल्याब परीक्षणको नाममा भारतको अवरोध हो । यो अघोषित नाकाबन्दी हो । विगतदेखि नै रोक्दै आएको थियो । भारतले सधैँ ल्याब परीक्षणको कारण देखाएर रोक्छ,’ उनले भने, ‘यो समस्या समाधानका लागि सिंहदरबार धेरै धायौँ । तर, केही भएन ।’