उदयपुरमा आगलागी : नाति र हजुरबुबाको जलेर मृत्यु, ६३ लाखकाे क्षति (अपडेट)

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

उदयपुरको चौदण्डीगढी नगरपालिका– ७, बेल्टार बजारको पुष्पलाल चोकमा गएराति भएको आगलागीमा एकै घरका नाति र हजुरबुबाको जलेर मृत्यु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार एकै परिवारका हजुरबुबा करिब ७० वर्षीय लक्ष्मीनारायण खड्का र उनका नाति पवन खड्काको जलेर मृत्यु भएको हो । 

दुवैजना घरभित्रै रहेका वेला आगोको लप्काले घेरिएपछि बाहिर निस्कन नपाई ज्यान गुमाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। आगलागीबाट रविनकुमार दासको काठको घर तथा किराना पसलमा करिब २० लाख रुपैयाँ, पदम खड्काको घर र दुईवटा खसीसहित करिब ३१ लाख रुपैयाँबराबरको क्षति भएको छ। त्यसैगरी, सोही घरमा सञ्चालनमा रहेको मित्र थापामगरको स्टेसनरी पसलमा करिब ६ लाख रुपैयाँ, होमबहादुर परियारको ट्रेलरमा करिब दुई लाख रुपैयाँ तथा मैया पौडेलको चटपटे पसलसहित अन्य सामानमा करिब चार लाख रुपैयाँ गरी ६३ लाखबराबरको क्षति भएको छ । 

उक्त आगलागी सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । मृतक दुवैजनाको शव नगर अस्पताल बेल्टारको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ ।

See More On

सुझावित समाचार