नवीन सुब्बाको ‘लाहुरे जुत्ता’ ६ महिनादेखि वर्कसपमा, छायांकनको अन्तिम तयारी

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

निर्देशक नवीन सुब्बाको नयाँ चलचित्र  ‘लाहुरे जुत्ता’ अहिले प्रि–प्रोडक्सन (वर्कसप)को अन्तिम चरणमा पुगेको छ। करिब ६ महिनादेखि निरन्तर वर्कसप भइरहेको चलचित्रले निर्माण प्रक्रियामा फरक अभ्यास गरेको हो।

सामान्यतः नेपालमा धेरैजसो चलचित्रहरू पर्याप्त वर्कसपविना नै छायांकनमा जाने प्रवृत्ति रहँदै आएको छ। तर ‘लाहुरे जुत्ता’का लागि भने कलाकारहरूलाई ६ महिनादेखि वर्कसपमा राखेर अभिनय, पात्र निर्माण र परिवेशसँग घुलमिल गराउने काम भइरहेको छ। यस चलचित्रका निर्माता आमोद राई र पूर्णसिंह बराइली हुन्।

निर्माता अमोद राईका अनुसार चलचित्रमा १८ देखि २५ वर्ष उमेर समूहका नयाँ कलाकारहरूले डेब्यु गर्नेछन्। नयाँ कलाकारलाई तयार पार्नु चलचित्रको  आवश्यकता मात्र नभई उनीहरूको अभिनय सीप विकास गर्न र नेपाली अभिनयलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने प्रयास रहेको उनको भनाइ छ।

निर्देशक सुब्बाले फिल्मलाई प्रामाणिक बनाउन स्थान, पात्र, परिवेश र लिम्बू दर्शनलाई सिर्जनात्मक तथा निर्माण प्रक्रियामा विशेष महत्व दिएका छन्। ‘हामीले छायांकनअघि आवश्यक सबै तयारीलाई प्राथमिकता दिएका छौँ। कलाकारहरूको वर्कसपदेखि लोकेसन व्यवस्थापनसम्मका काम अन्तिम चरणमा पुगेका छन्’, उनले भने।

निर्माता राईका अनुसार चलचित्र  वैशाखभित्रै छायांकनमा जाने तयारीमा छ। चलचित्रमा अन्तर्राष्ट्रिय स्तरको प्राविधिक टिम संलग्न हुने बताइएको छ।

सामुदायिक लगानीमा निर्माण हुन लागेको यस चलचित्रमा  हङकङ, अमेरिका, बेलायत र अस्ट्रेलियामा रहेका नेपाली समुदायका निर्माताहरूको समेत सहभागिता छ। पूर्वी पहाडको लिम्बु गाउँको कथावस्तुमा बन्ने चलचित्रलाई स्वप्निल स्मृतिले लेखेका हुन्।

निर्देशक सुब्बाको अघिल्लो चलचित्र ‘गाउँ आएको बाटो’ले टोरन्टो र बुसानजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाउँदै राम्रो चर्चा बटुलेको थियो। नेपाली समाजका मौलिक कथा, परम्परा र बदलिँदो परिवेशलाई संवेदनशील ढंगले प्रस्तुत गर्ने निर्देशक सुब्बाको शैलीका कारण ‘लाहुरे जुत्ता’प्रति दर्शक र समीक्षक दुवैको चासो बढाएको छ।

सुझावित समाचार