बागमती प्रदेश सभाले दुई महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। आइतबार बसेको प्रदेश सभा बैठकले प्रदेशको आर्थिक अनुशासन र सेवा प्रवाहसँग प्रत्यक्ष सरोकार राख्ने दुई विधेयकलाई थप अध्ययन र परिमार्जनका लागि अघि बढाएको हो।
बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेश सभाको अर्थ तथा विकास समितिमा पठाउने निर्णय गरेको हो। अब समितिले दुवै विधेयकका प्रावधानमाथि दफाबार छलफल गर्दै सरोकारवाला निकायसँग परामर्श गरी आवश्यक संशोधनसहित प्रतिवेदन तयार पार्नेछ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आर्थिक कार्यविधिसम्बन्धी विधेयकलाई समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए। उनले प्रदेशको वित्तीय अनुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न उक्त विधेयक आवश्यक रहेको धारणा राखे।
त्यस्तै, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सरसफाइसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव राखेका थिए। उनले प्रदेशभर स्वच्छ खानेपानीको पहुँच विस्तार र सरसफाइ व्यवस्थापनलाई संस्थागत गर्न विधेयक महत्त्वपूर्ण हुने बताए।
मन्त्रीद्वयले पेस गरेका ती विधेयकहरूलाई प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंले निर्णयार्थ प्रस्तुत गरेकी थिइन्। उनले प्रस्तुत गरेको प्रस्तावलाई प्रदेश सभाका सदस्यहरूले सर्वसम्मतिले पारित गरे। अब ती विधेयकहरूमाथि अर्थ तथा विकास समितिमा दफावार छलफल हुनेछ भने सोमाथि परेका संशोधनहरूबारे पनि छलफलसहित पारित भई प्रतिवेदन तयार हुनेछ।
प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।