ढल्यो अमर स्वरको धरोहर

आशा भोसलेले गाएका सबैजसो नेपाली गीत चर्चाको शिखरमा, आठ दशकको गायन करिअरमा हिन्दी र नेपालीसहित कम्तीमा १४ भाषामा दिइन् स्वर

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

सातपटक ‘फिल्मफेयर उत्कृष्ट महिला पाश्र्व गायिका’ अवार्ड जितेकी आशाले ‘दिल चिज क्या है’ (उमराव जान) र ‘मेरा कुछ सामान’ (इजाजत) का लागि दुईपटक राष्ट्रिय चलचित्र पुरस्कार पाएकी थिइन् । 

भारतीय संगीतमा बहुमुखी गायिकाको अमर इतिहास बनाएकी आशा भोसलेको नेपाली संगीतमा पनि अतुलनीय योगदान छ । ‘गैरी खेतको सिरै हान्यो’, ‘आज हाम्रो भेट भाको दिन’, ‘मोहनी लाग्ला है’, ‘किन बढ्दै छ ढुकढुकी मुटुको’ जस्ता गीतमा आशाले दिएको स्वर नेपालीको मन–मनमा गडेको छ । यस्तो अमर स्वरको धरोहर भने सदाका लागि ढलेको छ ।

आशाको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो ९२ वर्षको उमेरमा निधन भएको हो । मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । नौ वर्षको उमेरदेखि नै व्यावसायिक गायन सुरु गरेकी आशाले आठ दशकको करिअरमा हिन्दी र नेपालीसहित कम्तीमा १४ भाषामा सांगीतिक स्वर दिएकी छिन् । त्यसैले, उनको निधनमा भारतीय सांगीतिक क्षेत्र मात्रै शोकाकुल छैन । त्यसैले, सांगीतिक स्वरको संसारमा उनले निर्माण गरेको विरासत समयको सीमाभन्दा पर जीवित रहनेछ । 

सन् १९३३ मा सांगली (महाराष्ट्र) को प्रख्यात मंगेसकर परिवारमा जन्मिइन् आशा । सन् १९४३ मा पहिलोपटक चलचित्रको गीत रेकर्ड गराइन् । त्यसपछि लामो समय भारतीय पाश्र्व गायनमा एकछत्र राज गरिन् । ५० को दशकसम्म बलिउडमा बलियो स्थान बनाइसकेकी आशाले आठ दशकमा हजारौँ गीत गाइन् । सुरुवाती दिनमा ‘क्याबरेट’ र ‘डान्सिङ नम्बर’का लागि मात्र चिनिने उनले पछि आफ्नो गायनको दायरा फराकिलो पारेकी थिइन् । आशाले ‘उमराव जान’ जस्ता चलचित्रमा गाएका गजलहरू आज पनि कालजयी मानिन्छन् । 

सातपटक ‘फिल्मफेयर उत्कृष्ट महिला पाश्र्व गायिका’ अवार्ड जितेकी आशाले ‘दिल चिज क्या है’ (उमराव जान) र ‘मेरा कुछ सामान’ (इजाजत) का लागि दुईपटक राष्ट्रिय चलचित्र पुरस्कार पाएकी थिइन् । उनले मराठी, बंगाली, गुजराती, पंजाबी, भोजपुरी, तमिल, मलयालम, अंग्रेजी, रुसीसम्म गरी १४ भन्दा बढी भाषामा स्वर दिएकी छिन् । उनले संगीतलाई भाषाको सीमाभन्दा माथि उठाइन् । 

नेपाली संगीतमा उनले भरेको प्राण अविस्मरणीय छ । ‘मोहनी लाग्ला है, ‘पहाडको माथि–माथि’, ‘किन बढ्दै छ ढुकढुकी मुटुको’, ‘आज हाम्रो भेट भाको दिन’, ‘यति धेरै माया दियौ’, ‘एउटा मान्छे मन पर्छ’, ‘म प्यार बेचिदिन्छु,’ ‘तिम्रो मनमा लुकेको कुरा’, ‘गैरी खेतको शिरै हान्यो’, ‘दियो बाली साँझको’ जस्ता गीतमार्फत उनले नेपाली स्रोताको मन जितिन् । गीतहरूमा उनको स्वरले नेपाली संगीतलाई थप उचाइ दियो । ती गीतहरू आज पनि उत्तिकै ताजगीका साथ गुन्जिरहेका छन् । 

नेपाली संगीतसँग उनको सहकार्य सीमित भए पनि प्रभाव गहिरो रह्यो । उनले अधिकांश नेपाली गीत संगीतकार रन्जित गजमेरको संगीतमा गाएकी छिन् । सन् १९८१ तिर पहिलोपटक आशाले निर्देशक तुलसी घिमिरेको चलचित्र ‘बाँसुरी’ मा स्वर दिएकी थिइन् । ‘मिर्मिरे साँझ’ बोलको गीतमा आशा र उदितनारायण झाको स्वर छ । यो गीत आज पनि निकै लोकप्रिय छ । यो चलचित्रको म्युजिक निर्देशक रन्जित गजमेर नै हुन् । त्यसपछि आशाले घिमिरेकै चलचित्र ‘लाहुरे’का गीतहरू ‘साउने झरीमा’ र ‘पहाडको माथि–माथि’ जस्ता गीतमा स्वर दिइन् । ‘पहाडको माथि माथि’मा आशाले स्वर सम्राट नारायण गोपालसँग सहकार्य गरेकी थिइन् । 

 शम्भुजित बाँस्कोटाको नजरमा आशा भोसले –कार्यशैली जिद्दी,तर दयालु हृदय
संगीतकार शम्भुजित बाँस्कोटाका अनुसार आशा भोसले संगीतप्रति अत्यन्तै गम्भीर र समर्पित थिइन् । रेकर्डिङका क्रममा उनले ‘फेरि सुनौँ है’ भन्दै बारम्बार सुन्ने र सच्याउने गर्थिन् । उनी स्वभावमा केही हठी देखिए पनि संगीतका लागि त्यो उनको अडान थियो, तर हृदयले उनी उत्तिकै दयालु थिइन् । खासगरी नेपाली भाषाका शब्दहरूको सही उच्चारण र त्यसको भाव बुझ्नका लागि उनले निकै समय खर्चिएको बाँस्कोटा सम्झिन्छन् ।

बाँस्कोटाको अनुभवमा कामको सिलसिलामा केही असहमति हुँदा पनि उनले त्यसलाई सहज रूपमा लिएर उत्कृष्ट नतिजा निकाल्नमा जोड दिने गर्थिन् । चलचित्र ‘प्रेमपिण्ड’को सदाबहार गीत ‘गैरी खेतको सिरै हान्यो बाँस्कोटाकै संगीतमा गाएकी हुन् । त्यस्तै, चलचित्र करोडपतिको ‘छुनछुन मलाई’ गीतमा पनि बाँस्कोटाकै संगीतमा स्वर दिइन् । आशालाई उदीतनारायण झाले स्वरमा साथ दिएका छन् । 

बाँस्कोटाको नजरमा आशाको अत्यन्तै सरल व्यक्तित्व थियो । ‘उहाँको परिवारमा दिदीबहिनीले नै नेपाली संगीतलाई योगदान दिनुभएको छ,’ बाँस्कोटा भन्छन् ‘उहाँले नेपाली संगीतको ओज र गरिमा बढाउनुभएको छ । उहाँको आवाज नेपाली सांगीतिक आकाशमा सधैँ गुन्जिरहनेछ ।’
 

सुझावित समाचार