हेर्नुपर्ने सिरिज ‘ब्ल्याक मिरर’

शनिबार, २८ चैत, २०८२
डिजिटल संस्करण

पहिले जंगलमा मान्छे हराएको घटना खुब सुन्थ्यौँ । हामी पनि हराएका छौँ कहिलेकाहीँ । अहिले पनि यदाकदा जंगलमा हराएको घटना सुन्छौँ । तर, अचेल हामी प्रकृतिको सुन्दर जंगलमा भन्दा आफैँले निर्माण गरेको इन्टरनेटको जन्जालमा हराउँछौँ । जन्जालमा हराउने क्रममा हामीमध्ये कोही राम्रै स्थानमा पुग्छन्, कोही जीवनभर भड्किरहन्छन् । 

हराउने क्रममा ‘नेटफ्लिक्स’को जन्जालमा पुगियो । ब्रिटिस टेलिभिजन सिरिज ‘ब्ल्याक मिरर’मा पुगेर आँखा रोकियो । सिजन १ देखि ७ सम्म त्यसले तानिरह्यो । चार्ली ब्रुकर, जेसी आर्मस्ट्रङ र विलियम ब्रिजलगायत लेखकको टिमले लेखेको सिरिज टोबी हेन्स, ओवेन ह्यारिस, कार्ल टिबेट्स, जेम्स हजलगायत निर्देशकको टिमले निर्देशन गरेका रहेछन् । सात सिजनमा बाँडिएको ‘ब्ल्याक मिरर’ भित्र ३३ वटा अलग–अलग फिल्म छन् । हरेक फिल्ममा अलग–अलग कलाकारको अभिनय हेर्न पाइन्छ । साइन्स फिक्सन जनराका प्रायः फिल्म प्रविधि र मानवीय सम्बन्धसँग सम्बन्धित छन् । तीमध्ये तीन फिल्मको उदारहण हेरौँ– 

१. ह्वाइट बियर
मुख्य पात्र भिक्टोरिया सुतिरहेको ठाउँबाट उठ्छे । मोबाइल, टिभी, कम्प्युटरमा एउटा साइन देखेपछि सबै थोक बिर्सने हुन्छ । भिक्टोरियाले आफ्नो नाम, परिवार सबै बिर्सिन्छे । आफूलाई के भएको हो अत्तोपत्तो नभएपछि सहारा खोज्दै ऊ घरबाट बाहिर निस्किन्छे । एकजना नकावधारीले उसलाई गोली हानेर मार्न खोज्छ । वरिपरिका मानिसहरू घरको झ्यालबाट मोबाइलमा भिडियो खिचिरहन्छन् ।

‘ब्ल्याक मिरर’ले हामीलाई एउटा ‘डिस्टोपियन सोसाइटी’को चित्र देखाइदिन्छ । फिल्म हेर्दा लाग्छ, यस्तो पनि हुन्छ र ? तर, गहिरो गरी महसुस गर्दा लाग्छ, हामी यस्तै जिन्दगी भोग्न अभिशप्त हुँदै गइरहेका छौँ ।

भिक्टोरिया सहारा खोज्दै चिच्याइरहन्छे, तड्पिरहन्छे । तर, कसैले पनि सहयोग गर्दैन, तमासा हेर्दै हाँसिरहन्छ । उसलाई बचाउन एकजना व्यक्ति आइपुग्छ । तर, उसले रेस्क्यु गरेजस्तो गर्दै एउटा भव्य स्टेजमा पु¥याउँछ, जहाँ तमासेहरू टिकट काटेर ऊ तड्पिएको हेर्न पर्खिरहेका हुन्छन् । उसलाई झुटो हत्याको आरोप लगाएर स्लिपिङ ट्याब्लेट खुवाउँदै थुनेर राखिएको हुन्छ । ‘ह्वाइट बियर जस्टिस पार्क’ नाम दिएर भिक्टोरियालाई प्रदर्शनीमा राखिन्छ । ऊ तड्पिएको हेर्न दर्शक टिकट काटेर पार्कभित्र पस्छन् । नियम हुन्छ– थुनिएको व्यक्तिसँग कुरा गर्न नपाइने, दूरी राख्नुपर्ने, तड्पिएको हेरेर मजा जति पनि लिन पाइने, फोटो भिडियो खिच्न पाइने । 

यो फिल्मलाई धेरै दृष्टिबाट बुझ्न सकिन्छ । यसले अमानवीयताको यात्रामा हिँडिरहेको मानव सभ्यतालाई प्रश्न गरेको छ । आलोचनात्मक यथार्थवादी फिल्म भन्न मिल्ने ‘ह्वाइट बियर’बाट दुनियाँ कति त्रूmर हुँदै गएको छ, मानिसभित्र मानवता कसरी ह्रास हुँदै गइरहेको छ भन्ने प्रश्न उठाइएको छ ।

२. स्ट्रिकिङ भाइपर्स
दुईजना अन्त्यन्तै मिल्ने साथी हुन्छन्– कार्ल र डेनी । डेनीको बिहे भइसकेको हुन्छ । कार्लको भर्खरै ब्रेकअप भएको हुन्छ । कार्ल र डेनी पहिला ‘स्ट्रिकिङ भाइपर्स’ भन्ने भिडियो गेम सँगै खुब खेल्थे । ३८औँ जन्मदिनको दिन कार्ल स्ट्रिकिङ भाइपर्सको एड्भान्स भर्सन लिएर वर्षौँपछि आइपुग्छ । कार्लले पहिले खेल्ने गेम फेरि एकपटक खेलौँ भनेर जिद्धि गर्छ । गेमभित्र डेनी केटा र कार्ल केटी बनेर खेल्न थाल्छन् । गेमकै दुनियाँमा डेटिङ बस्न थाल्छन् ।

दुईजना गेमभित्रै शारीरिक सम्पर्कसम्म पुग्छन् । यता वास्तविक दुनियाँमा डेनीको श्रीमतीसँग खटपट सुरु हुन्छ । श्रीमतीले शंका गर्न थाल्छे । कार्लले भिडियो गेम खेलौँ भनेर जिद्दि गरिरहन्छ । डेनीले बेवास्ता गरिरहन्छ र टाढिने कोसिस गर्छ । तर, डेनीको जन्मदिनमा श्रीमतीले कार्ललाई बोलाउँछे । कार्ल भिडियो गेम खेल्ने साथी नपाएर तड्पिरहेको हुन्छ । डेनीसँग खेल्न मात्रै मजा आउने भनिरहन्छ । डेनीले एउटा सुनसान ठाउँमा भेटेर भन्छ, ‘हामी समलिंगी हौँ ? केही फिलिङ आउँछ कि आउँदैन किस गरेर हेरौँ ।’ किस गर्छन् । दुवैलाई कुनै फिलिंग्स आउँदैन । त्यसपछि दुईजना जुध्न थाल्छन् । पुलिसले समाएर लैजान्छ । श्रीमतीले डेनीलाई पुलिस चौकीबाट छुटाउँछे । श्रीमान्ले अलग हाउभाउ गर्नुको कारण थाहा पाउँछे ।

त्यसपछि दुईजना छुट्टिन्छन् । श्रीमती अर्कैसँग डेटिङमा जान्छे । डेनी कार्लसँग फेरि भिडियो गेमको दुनियाँमा पस्छ ।प्रविधिले परिवार ध्वस्त बनाइरहेको कथा हो यो । चलचित्रले सामाजिक विग्रहलाई कटाक्ष गरेको छ । प्रविधिले मानिसको सामाजिक, आत्मिक सम्बन्ध कति खोत्रो बनाइरहेको छ भन्ने बुझ्न ‘स्ट्रिकिङ भाइपर्स’ उपयोगी लाग्यो । 

२. कमन पिपल
माइक एक कम्पनीमा काम गर्छ । उनकी श्रीमती अमान्डा स्कुल पढाउँछे । पढाउँदा–पढाउँदै श्रीमती ढल्छे । उसको मस्तिष्कमा ट्युमर हुन्छ । न्युरोलजिक क्रान्ति भन्दै डाक्टरले ट्युमर निकालेर चिप्स राखिदिन्छ । त्यो चिप्स सिमकार्डजस्तो रिचार्ज गरिरहनुपर्ने हुन्छ । नेटवर्क नटिप्ने ठाउँमा पुग्दा मान्छे बेहोस हुन्छ । अब यो जोडीको जीवन त्यो चिप्स फिट गरिदिने कम्पनीको हातमा हुन्छ । चिप्स इन्टरनेटको डेटाजस्तो हुन्छ, जति थप्यो मान्छे त्यति फुर्तिलो हुने । चिप्सवाला कम्पनीले अफरका अफर दिँदै जान्छ, जति बढी डेटा, श्रीमती उति खुसी हुने ।

माइक मानव मेसिनजस्तो बनेर काम गरिरहन्छ । चिप्स रिचार्ज नगर्दा श्रीमती सिथिल हुँदै जान्छे । श्रीमती बचाउने ध्याउन्नमा लाग्दालाग्दै पैसाको लोभमा ऊ एउटा भिडियो च्यालेन्जमा गई नांगिन्छ । नांगिएको भिडियो सामाजिक सञ्जालमा छाएपछि उसले जागिर छोड्छ । अब श्रीमतीको चिप्सको पैसा कसरी तिर्ने ? उसको अगाडि चुनौती खडा हुन्छ ।

श्रीमती गर्भवती हुन चाहन्छे, तर कम्पनीवालाले भन्छ, ‘यसको डबल पैसा लाग्छ । किनकि गर्भवतीको कारण दिमागमा बदलाव आउँछ र चिप्सले काम गर्न सक्दैन । त्यसैले पैसा थप्नुपर्छ ।’ श्रीमती बचाउन घरको दराज, टेबल, टिभी सबै बेच्छ । चिप्स अपडेट नभएर श्रीमती सिथिल हुँदै जान्छे । एनिभर्सरीको दिन माइकले १२ घण्टाका लागि स्फुर्ति दिने डेटा अपडेट गर्छ । दुवैजना कतै टाढा घुम्न जान्छन् । १२ घण्टा बित्न केही सेकेन्ड बाँकी हुँदा उसले श्रीमतीको घाँटी थिचेर हत्या गर्छ र आफू पनि आत्महत्या गर्छ ।

यो फिल्म हेरिरहँदा कुनै सहकारी वा बैंकको लोन तिरिरहेको दृश्य दिमागमा घुम्छ । प्रतीकात्मक रूपमा बनाइएको यो फिल्मले मेसिनीकरण हुँदै गएको हाम्रो जीवनलाई मज्जाले चित्रण गरेको छ । लघुवित्त, बिमा कम्पनी, बैंक, सहकारीमा ऋण तिरिरहन विवश हामीलाई यो फिल्मले झस्काउँछ । एउटा प्रश्न अघिल्तिर तेर्सिन्छ, के हामी यस्तै भइरहेका त छैनौँ ?
०००
यी तीनवटै फिल्म लेख्ने लेखक हुन्, चार्ली ब्रुकर । ‘नेटफ्लिक्स’का लागि ‘ब्ल्याक मिरर’को कार्यकारी निर्माता रहेका उनलाई बेलायतमा वामपन्थी झुकाव भएका लेखकका रूपमा चिनिँदारहेछन् । ‘ब्ल्याक मिरर’ले हामीलाई एउटा ‘डिस्टोपियन सोसाइटी’को चित्र देखाइदिन्छ । फिल्म हेर्दा लाग्छ, यस्तो पनि हुन्छ र ? तर, गहिरो गरी महसुस गर्दा लाग्छ, हामी यस्तै जिन्दगी भोग्न अभिशप्त हुँदै गइरहेका छौँ ।

‘ब्ल्याक मिरर’ सिरिजका सम्पूर्ण फिल्म प्रविधिले मानवतामा ल्याएको विखण्डनमा केन्द्रित छ । आधुनिकता, उत्तर–आधुनिकताको नाममा मानवता निख्रिँदै गएको दुनियाँलाई फिल्मले झस्काउने गरी झापड हानेको छ । हाँस्यव्यंग्य, टप्परटुइयाँ र अर्धज्ञान मात्रै छताछुल्ल भइरहेको हाम्रो समाजमा पनि यस्तै झस्काउने सिरिजहरू बनाउन पाए !

सुझावित समाचार