डा. नवराज केसीले आफ्नो पुस्तक ‘स्वस्पर्श’को प्राक्कथनमा गरेका माथिको प्रश्नको उत्तर पाउन एकपटक यसै पुस्तकका बाँकी पानामा समेटिएका यथार्थ जीवनका कथाव्यथा र तिनका जिउँदाजाग्दा पात्रहरूसित अक्षरहरूमार्फत साक्षात्कार गर्नैपर्छ । पुस्तक पढ्दै गर्दा पुस्तक कम र जीवन बढी पढिरहेको भान हुन्छ । सायद अविरल बगिरहने कञ्चन कर्णाली नदीआसपासका वास्तविक पात्र र तिनका वास्तविक सुख–दुःखका कथाव्यथा र सुस्केराहरू समेटिएकाले पनि त्यस्तो भान भएको हुन सक्छ ।
लामो समयदेखि कर्णाली क्षेत्रमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. केसीले यस क्षेत्रको गरिबी, अशिक्षा, अन्धविश्वास, छुवाछुत, अविकास सबैलाई अत्यन्त नजिकबाट देखेका छन् । उनले आफ्नो दोस्रो पुस्तक ‘स्वस्पर्श’मा कतै आफूले भेटेका पात्रहरूका कथाव्यथा उपचारमा आइपुगेका अन्य पात्रहरूलाई सुनाएका छन् भने कतै आफैँले सुनेका छन् । उनले बिचबिचमा बुद्धका अत्यन्त जटिल जीवनदर्शनलाई अत्यन्त सरल शब्दमा बुझाउने कोसिस पनि गरेका छन् । उनले आफ्ना विश्वास र विचारलाई पुष्टि गर्न संसारभर धेरै पहिले भएका या अहिले पनि भइरहेका अनेकौँ अध्ययन, अनुसन्धान र तिनको निचोडको सहारा पनि लिएका छन् । डा. केसीले मानव मस्तिष्कका ससाना कोषिकादेखि त्यसका विभिन्न भाग र तिनका कार्यबारे पनि मिहीन ढंगमा बुझाउने प्रयत्न गरेका छन् ठाउँठाउँमा ।
डा. केसीले दुई कक्षामा पढ्ने बालकको आत्महत्याको पीडादायक दृश्यदेखि अनेकौँ आशा, विश्वास र भरोसाका कथाहरू अत्यन्त नजिकबाट अनुभूत गरेका छन् । ‘स्वस्पर्श’मा निराशा होइन, आशाका कथा छन् । अँध्यारो होइन, उज्याला किरण छरिएका छन् । जीवन जिउने अनेक कला र बान्की भेटिन्छन् यहाँ । उपचार सेवा लिन डा. केसीसामु आइपुगेका वा उनले जीवनका फरक–फरक घुम्तीमा भेटेर संवाद गरेका जंगबहादुर, गर्बे दाइ, मन्दिरे, बाआमा, सानीनानी, नवराज भेडा, रिता, रिटायर्ड आमा, अस्मिता बादीलगायत थुप्रै भुइँमान्छेका कथाले आमपाठकलाई यस धर्तीमा आइसकेपछि कसरी र किन बाँच्नुपर्छ र बाँच्न के–के गर्नुपर्छ, सबैसबै सिकाइदिन्छन् । तिनले आफूसँगै कर्णालीका विकट गाउँबस्तीदेखि भारतका विभिन्न सहरबजारसम्म घुमाएर जीवनमा एकमुठी खुसी खोज्न सिकाउँछन् । तिनले कतै खित्का छाडेर हाँस्न बाध्य पार्छन् भने कतै तिनैले धर्धरी रुवाउँछन् पनि ।
जब तपाईं १६ वर्षमुनिका बालबालिकालाई हुन सक्ने ससाना र मझौला जोर्नी सुन्निने दीर्घरोग (जेआरए)बाट सानैमा थलिएका जाजरकोट, पिउलीगाउँका बालक जंगबहादुर र उनकी आमालाई पुस्तकको सुरुतिरै भेट्नुहुन्छ तब तिनका पीडाले तपाईंलाई पानैपिच्छे च्वास्स च्वास्स घोचिरहन्छन्, चिमोटिरहन्छन् । रोग निको हुन लागिसकेको अवस्थामा जंगबहादुरका बाबुआमाले औषधि छुटाएर उनलाई पहिलेकै जस्तो पीडामा पुर्याएको थाहा पाउँदा तपाईं एकपटक आक्रोशले रन्थनिनुहुन्छ । तर, जब तपाईं उनीहरूले किन त्यसो गरे भन्ने कारणसम्म पुग्नुहुन्छ, अनि तपाईंका आँखा रसाउने मात्र होइन, तपाईंलाई सानोतिनो झड्का नै लाग्छ । तपाईं एकछिन स्तब्ध हुनुहुनेछ । अनि, तपाईं जंगबहादुरका गरिब बाबुआमाप्रति होइन, यो देशको राज्यव्यवस्था र हाम्रो सामाजिक संरचनाप्रति आक्रोशित हुन पुग्नुहुनेछ ।
सुदूर गाउँबस्तीमा कुष्ठरोगप्रतिको अन्धविश्वास या गलत बुझाइ कति गहिरो छ, बुझ्न गर्बे दाइको व्यथा सुने पुग्छ । कालीकोटको रास्कोटका शिक्षक गर्बे दाइलाई स्वास्थ्य शिविर लिएर गाउँ गएका डाक्टरले उपचारको सही बाटो देखाउनुको साटो नै ‘तिमलाई कोढ लाग्या छ, टाढा बस, गाउँघराँ कसैलाई नछुनू’ भनिदिएपछि गाउँलेले गाउँनिकाला गरिदिए । पछि उपचार अभावमा कोढले हातका औँलाहरू झर्न थालेपछि मन्दिरमा बसेर भिख मागेर गुजारा चलाउन बाध्य भए । तिनै गर्बेले कुष्ठरोग विशेषज्ञ डा. अर्चना (डा. केसीकी पत्नी)सितको भेटपछि उपचार पाए । निको भएपछि मागेरै गुजारा चलाइरहेका गर्बेले जब कोभिडको समयमा आफूसँगै मागेर गुजारा चलाउने साथीहरू बिरामी भएको वेलामा आफ्नो ‘बचत’ दिएर सहयोग गरे त्यसपछि माग्न छाडिदिए । ‘मैले दिन जानेपछि माग्न छाडेँ’ भन्ने गर्बेको यही वाक्यले धेरै कुरा बोल्छ, बुझाउँछ र धेरैमा हौसला भर्छ ।
मानिसको एउटा मात्र असली, अकृत्रिम र आनन्दपूर्ण मुस्कानलाई वैज्ञानिकहरूले नाम दिएका रहेछन्– ‘डुक्ने मुस्कान’ । दैलेखका मन्दिरे बयलकोटीलाई भेटेपछि डा. केसीले त्यस्तो मुस्कानको नेपाली न्वारन गरिदिएका छन्— मन्दिरे हाँसो । यहीँनिर डा. केसीले मानिसका १८ प्रकारका हाँसोको चिरफार पनि गरेका छन्– १७ प्रकारका कृत्रिम र एउटा मात्र असली हाँसो । जीवनमा नहाँस्न बिर्सेका मन्दिरे १२ वर्षको बालखैमा भारत पसे । त्यहाँ कुन–कुन सहर, बजार चहारे, के–के गरे, कस्ता–कस्ता हन्डर–ठक्कर खाए र कसरी एउटा हात गुमाएर नेपाल फर्किए ? यिनै अनेकौँ प्रश्नको उत्तर उनको ‘मन्दिरे हाँसो’ र ठट्यौलो बोलीमा भेट्न सकिन्छ । साथमा केही छैन, फोहोरबाट बिक्रीयोग्य सामान बटुलेर परिवारको भरणपोषण गर्छन् मन्दिरे, तैपनि मन्दिरे मुस्कानसाथ भन्छन्– मलाई भगवान्ले सबकुछ दिया छन् । जीवनमा हाँस्नुको मजा लिन र हाँसोको अर्थ बुझ्न चाहनेले एकपटक मन्दिरेको कथाव्यथा पढिदिए पुग्छ ।
मरिसकेकी आमाको अनुहार मोबाइलमा नहेरी दुध नपिउने आठमहिने सानीनानी, वृद्धावस्थामा कोरोनाबाट थलिएकी पत्नीप्रति वृद्ध बाको असीम प्रेम, कर्णालीको पुलमा पुगेर हाम्फाल्न तयार किशोरीको व्यथा, आफ्नै ठुलाबाको यौन शोषणमा परेकी सानी बालिकाको मौनता (डिप्रेसन) आदि अनेकौँ कथामध्ये केहीले तपाईंलाई आक्रोशित तुल्याउँछन् भने केहीले आपसमा प्रेम बाँडेर बाँच्ने कला सिकाउँछन् ।
बेवारिसे पशुपन्छीलाई निस्वार्थ माया बाँड्ने, तिनीहरूसितै मनको बह पोख्ने, उनीहरूका पीडा सुनिदिने तिनीहरूसँगै मान्छेसित साइनो गाँस्ने सुर्खेतका नवराज ‘भेडा’को कथा पढ्दै गर्दा तपाईंलाई जीवन जिउने असीमित ऊर्जा प्राप्त हुन्छ । एउटा मान्छेको कथा अर्को मान्छेका लागि साँच्चै ओखती हुन सक्दोरहेछ भन्ने बोध तपाईंलाई यिनको कथावरपर रल्लिँदै गर्दा पटक–पटक हुन्छ ।
पोलियोले खुट्टा लुलिए पनि आत्मविश्वासलाई कहिल्यै लुलिन नदिएका सुर्खेतका किरण किशोर सापकोटाको कथाले मानिसका अवरोध उसमा भएको शारीरिक अपांगता होइन, उसप्रति हेय भावले हेर्ने र ‘बिचरा’ भन्दै साथ र सहयोग दिनबाट हच्किनेहरू हुन् । व्यक्तिमा शारीरिक अपांगता भए पनि उसमा आत्मविश्वास भरिदिने साथीसंगी, घर, परिवार, समाज र राष्ट्र छन् भने सफलताको सगरमाथा चुम्न उसलाई कुनै पनि अवरोधले छेक्न सक्दैन । पोलियोका कारण आफूमा भएको अपांगतालाई चुनौती दिँदै सुर्खेतका विद्यालयलाई हराभरा पार्ने, अन्तर्राष्ट्रिय मिडियामा समाचार बन्ने र छिमेकी देशहरूसम्म आफ्नो कर्मले परिचित हुने किरणको कथा अन्य लाखौँ किरणको जीवनका लागि चम्किलो किरण बन्न सक्छ, ‘लाइफ सेभर’ बन्न सक्छ ।
एसओएस बालग्रामकी रिटायर्ड आमाको कथा पढ्दै गर्दा मानिसले जीवनमा कहाँ–कहाँबाट र कसरी खुसी पाउन सक्दो रहेछ भन्ने रहस्योद्घाटन हुन्छ । आफ्नो कोखमा तीन–तीन सन्तान बसे पनि काखमा ल्याएर खेलाउन र मातृत्वको अमृत चखाउन नपाएकी आमाले कहाँ–कहाँका अर्काका टुहुरा सन्तानलाई कसरी आफ्नै सन्तान बनाएर खुसी हुन सक्दी रहिछिन्, मातृत्वको भोक मेटाउन सक्दी रहिछिन्, उनको कथाबाट प्रस्ट हुन्छ ।
जाजरकोट, कुशेको एउटा फुच्चे विद्यालयमा पढ्ने अस्मिता बादीको कथाले हाम्रो समाजका धेरै व्यथा बोल्छ । विद्यालयका अन्य साथी र गुरु, गुरुआमालाई नछोई, घरबाटै आफैँले लगेको बोराको चकटीमा अलग्गै बसेर पढ्ने अस्मितामा त्यस्तो अदम्य आत्मविश्वास कहाँबाट आयो होला ? अनि, आफू निरक्षर भएर पनि ‘मेरी छोरीलाई कति पढाउँछु, थाहा छैन । तर, मेरी छोरीलाई दुनियाँमा जति कक्षासम्म उक्लिने ठाउँ छ, त्यतिसम्म पढाउनेछु ।
आफ्नो चकटी बेचेर, आफ्ना शरीरका अंग बेचेर, पुगेन भने आफैँलाई बेचेर’ भन्ने चट्टानी आत्मविश्वास उनका बाबुमा कसरी पलायो होला ? अनि, विद्याको मन्दिरका ‘ठुलमास्टर’बाटै चर्को जातीय विभेद भोगेकी, अर्कालाई झुक्किएर छोएको ‘अपराध’मा कक्षाका साथी र स्वयं ठुलमास्टरबाटै निर्घात चुटिएकी अस्मिताले कसरी आफ्नो सगरमाथाजस्तो अग्लो लक्ष्यमा आफूलाई अडिग राख्न सकिन्, यी सब चोट सहेर पनि कसरी उनी कक्षामा सधैँ प्रथम भइरहिन् र उनले आफ्ना बाबुले झनेझैँ कसरी जहिल्यै आफूलाई ‘दोब्बर माया’ गरिरहिन् ? जाजरकोटदेखि काठमाडौंसम्मको यात्रा उनले कसरी पूरा गरिन् ? र, अहिले कसरी धेरै बालबालिकाकी ‘कर्ममम्मी’ बनेर तिनका उज्यालो भविष्यका लागि प्रयत्नशील छिन् ? यी सब प्रश्नको उत्तर पाउन डा. नवराज केसीद्वारा लिखित तथा फाइनप्रिन्टद्वारा गत भदौमा प्रकाशित ‘स्वस्पर्श’ पढ्नैपर्छ ।
कर्णालीतिरको स्थानीय भाषाको रमरम स्वाद भेटिने ‘स्वस्पर्श’मा स्वच्छ, सफा र नीलो कर्णालीजस्तै सलल्ल बगेको भाषाशैलीले तपाईंलाई मोहनी लगाउँछ । पुस्तक हात परेर पाना पल्टाउन थालेपछि अन्तिम पानासम्म नपुगी रोकिनु नपरे पनि हुन्थ्योजस्तो लागिरहन्छ । सबैभन्दा ठुलो कुरा पुस्तकले तपाईंलाई आफूले आफैँलाई चिन्न, माया गर्न, पीडाबिच पनि हाँस्न र बाँच्न सिकाउँछ । बाँचेर के नै गर्नु छ र भन्ने निराशामा पुगेका मनहरूमा ‘स्वस्पर्श’ले बाँच्ने अदम्य आशा भरिदिनेमा कुनै शंका छैन ।