नवनिर्वाचित संसद्मा प्रतिनिधित्व गर्ने ६ मध्ये पाँच दलले संसदीय दलको नेता चयन गरिसकेका भए पनि दोस्रो शक्ति कांग्रेसले अझै टुंग्याएको छैन । २१ फागुनको निर्वाचनमा समानुपातिकमा २० र प्रत्यक्षमा १८ सहित ३८ सिट जितेको कांग्रेस संसद्को प्रमुख प्रतिपक्ष दल हो । निर्वाचन परिणामपछि शेरबहादुर देउवा पक्ष पुनः समानान्तर गतिविधिमा सक्रिय भएपछि दलको नेता को भन्ने विषय पेचिलो बनेको छ ।
सबैभन्दा ठुलो दल रास्वपाको नेता चयन भएर बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएको एक हप्ता भइसकेको छ । एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले पनि संसद् बैठक सुरु हुनुअघि नै दलको नेता चयन गरिसकेका छन् । तर, आन्तरिक विवादमा अल्झेको कांग्रेसले भने नेता चयन गर्न सकेको छैन । कांग्रेसमा दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का, निश्कल राईलगायतको चर्चा छ ।
एमालेबाट उपाध्यक्ष रामबहादुर थापा, नेकपाबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृतिबाट अध्यक्ष हर्क साम्पाङ र राप्रपाबाट प्रवक्ता ज्ञानेन्द्र शाही दलको नेता बनेका छन् । १९ चैतमा संसद् अधिवेशन सुरु हुनुपूर्व सबै दलले दलको नेता टुंग्याएका हुन् ।
संसदीय दलको नेता चयन गर्न कांग्रेसले २४ चैतमा बैठक बोलाएको छ । सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समितिसमेत गठन गरेको छ । सकभर सर्वसम्मत रूपमा नेता चयनको प्रयास गर्ने र सहमति जुट्न नसके निर्वाचन प्रक्रियामा जाने तयारी छ । दलको नेताका लागि देउवा र थापा दुवै समूहको दाबी छ ।
कांग्रेस दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का, निस्कल राईलगायतको चर्चा छ । कांग्रेस दलको नेता विपक्षी दलको नेता हुन्छ । विपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्य पनि हुने भएकाले अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रत्यक्षतर्फ निर्वाचित आचार्य, खड्का र राईले नेतामा आकांक्षा राखेका छन् । उनीहरू संस्थापन पक्षका हुन् । समानुपातिकबाट सांसद बनेका केसी र आङ्देम्बे मुख्य दाबेदार छन् । केसी गगन थापाको पक्षमा उभिँदै आएका छन् भने देउवा पक्षमा रहेका आङ्देम्बे पनि थापाकै लाइनमा उभिएको एक नेताले दाबी गरे । ती नेताका अनुसार सोही कारण संसद्को पहिलो बैठकमा आङ्दम्बेले कांग्रेसका तर्फबाट बोलेका थिए ।
अर्का एक नेताका अनुसार केसीकै कारण दलको नेता चयन ढिला भएको हो । केसी हाल ज्येष्ठ सदस्यका रूपमा सभामुखको भूमिकामा रहेकाले दलको नेता बन्न मिल्दैन । आइतबार सभामुख डिपी आर्यालले शपथ लिएर कार्यभार सम्हालेपछि केसीका लागि दलको नेता दाबी गर्ने बाटो खुल्नेछ । ज्येष्ठ सदस्यका रूपमा सभामुखको भूमिकासमेत निर्वाह गरेका केसी सबैभन्दा अनुभवी नेता मानिन्छन् । आङ्देम्बे दोस्रो संविधानसभामा सभासद् थिए । १४औँ महाधिवेशनमा आङ्देम्बे देउवा समूहबाट सहमहामन्त्रीमा विजयी भएका थिए भने केसी डा. शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य बनेका थिए ।
कांग्रेस संसदीय दलको विधानमा नेता चयनसम्बन्धी दफा ५ को उपदफा (१) र (२) मा व्यवस्था छ । उपदफा १ मा ‘संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेता निर्वाचित गर्ने’ र उपदफा २ मा ‘एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानद्वारा निर्वाचन हुने’ उल्लेख छ । ०६४ को पहिलो संविधानसभादेखि कांग्रेसमा दलको नेता सर्वसम्मत चयन भएको छैन । अहिले पनि दुई पक्ष रहेकाले सर्वसम्मत चयन हुने सम्भावना न्यून देखिएको नेताहरू बताउँछन् ।
२१ फागुनको निर्वाचनमा तत्कालीन सभापति देउवाको हस्ताक्षरमा समानुपातिक र विशेष महाधिवेशनबाट सभापति बनेका थापाको हस्ताक्षरमा प्रत्यक्षतर्फका उम्मेदवारले निर्वाचन लडेका थिए । देउवा निर्वाचन लडेका थिएनन् । सभापति थापासहित कांग्रेसका सबै पदाधिकारी पराजित भएका थिए । देउवा पक्षले दलको नेता चयनमा सचेत रहने बताएको छ । निवर्तमान सभापति पूर्णबहादुर खड्काले १६ चैतमा आयोजना गरेको देउवा पक्षको बधाई तथा शुभकामना कार्यक्रममा ११ सांसद उपस्थित भएका थिए । केही सदस्य राजधानीबाहिर भएका कारण उपस्थित हुन नसकेको दाबी देउवा पक्षको छ । कार्यक्रममा टेकबहादुर गुरुङ, विष्णु खड्का, रुक्मिणी कोइराला, रिना उप्रेती, सीता थपलिया, गंगालक्ष्मी अवाल, निनु कर्ण, हरिनादेवी कामी, सुशीला ढकाल, गीताकुमारी सेन्दाङलगायत सांसद उपस्थित थिए ।
१५औँ महाधिवेशनको तयारी पनि सँगसँगै : ७७ जिल्लामा खटाइए केन्द्रीय प्रतिनिधि
कांग्रेसले १५औँ महाधिवेशनअघि एकमहिने सदस्यता अभियानको तयारी थालेको छ । आगामी असोजमा महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले वैशाख महिनाभर सदस्यता अभियान चलाउँदै छ । कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पनि खटाएको छ ।
प्रतिनिधिका लागि कांग्रेसले शनिबार पार्टी कार्यालय सानेपामा प्रतिनिधिसँग अन्तर्संवाद कार्यक्रम गरेको छ । प्रतिनिधिको जिम्मेवारी र निभाउने भूमिकाबारे जानकारीमूलक कार्यक्रम गरिएको महामन्त्री प्रदीप पौडेलले बताए । ‘केन्द्रीय प्रतिनिधिहरूको जिम्मेवारी र भूमिकाबारे जानकारीमूलक कार्यक्रम सम्पन्न गरेका छौँ । अब प्रतिनिधिहरू जिल्लामा गएर जिम्मेवारी पूरा गर्नुहुन्छ,’ उनले भने ।
वैशाखभरि सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुरानो सदस्यतालाई अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरणका निम्ति विधानले तोकेबमोजिमको व्यवस्थालाई लागू गर्ने जिम्मेवारी प्रतिनिधिलाई दिइएको छ । ‘वैशाख महिनाभित्र सदस्यता अद्यावधिक भएन भने पुरानो क्रियाशील सदस्यता कायम रहने छैन । सदस्य जुन भूगोल वा वडाको हो, त्यहीँ पुगेर अनिवार्य रूपमा नवीकरण वा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ,’ उनले भने ।
कांग्रेसले महाधिवेशनको तयारीलाई ‘जरा अभियान’ नाम दिएको छ । यसअन्तर्गत चारवटा मुख्य विषय समेटिएका छन् । १५औँ महाधिवेशनको तयारी, सांगठनिक सुदृढीकरण, नागरिकसँग निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने कुरा यसमा समेटिएका छन् ।
एकमहिने सदस्यता अद्यावधिक अभियानपछि वडाहरूले क्रियाशील सदस्यता १५ जेठसम्म प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नुपर्नेछ । क्षेत्र र जिल्लाले सदस्यता इन्ट्री गरेर २५ जेठसम्म केन्द्रमा पठाइसक्नुपर्ने कार्यतालिका छ । कार्यतालिकाअनुसार विदेशस्थित पार्टी जनसम्पर्क समितिको अधिवेशन ०८३ साउन मसान्तभित्र सम्पन्न गर्ने, २ भदौमा वडा अधिवेशन, ७ भदौमा गाउँ–नगर अधिवेशन, १७ भदौमा प्रदेश क्षेत्रीय अधिवेशन, २४ भदौमा क्षेत्रीय अधिवेशन, २ र ३ असोजमा जिल्ला अधिवेशन सम्पन्न गर्ने उल्लेख छ । त्यसैगरी ७ र ८ असोजमा प्रदेश अधिवेशन सम्पन्न गर्ने र त्यसपछि १६ देखि १९ असोजसम्म केन्द्रीय महाधिवेशन हुनेछ ।