हेटौँडाबाट एसइईमा अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

मकवानपुरको हेटौँडास्थित एक एसइई परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ०८२ चैत २० गते बिहान करिब ८ बजे हेटौँडा उपमहानगरपालिका– १०, भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको एसइई परीक्षा केन्द्रमा अर्काको नामको प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन आएका एक युवकलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका– ४ घर भई हाल हेटौँडा– ४ मा बस्दै आएका तथा हेटौँडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत करिब १७–१८ वर्षीय विराज विक रहेका छन् ।

प्रहरीले जनाएअनुसार विकले मकवानपुर हेटौँडा– १२, पदमपोखरी बस्ने किशोर श्रेष्ठका छोरा करिब १९ वर्षीय अंकिश श्रेष्ठको नामको प्रवेशपत्रमा आफ्नो फोटो राखेर परीक्षा दिन आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न रहेको आरोपमा विराज विक र अंकिश श्रेष्ठ दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार