कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले सात विकेट लिएपछि बागमती प्रदेशले प्रधानमन्त्री (पिएम)कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा बागमतीले कर्णालीलाई ६० रनले हराएको हो ।
बुधबार टस हारेर ब्याटिङ गरेको बागमतीले ३८.४ ओभरमा सबै विकेट गुमाएर १८० रन बनाएको थियो । प्रत्युत्तरमा सन्दीपको धारिलो बलिङ सामना गर्न नसक्दा कर्णाली २५.१ ओभरमा १२० रनमै समेटियो । पाँचौँ खेलमा दोस्रो जित निकालेको बागमती ४ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । कर्णाली समान खेलमा ३ अंकसहित आठौँ स्थानमा छ ।
सन्दीपले म्याच विनिङ प्रदर्शन गर्दा ९.१ ओभरमा ४० रन खर्चेर सात विकेट लिए । उनी प्रधानमन्त्री कपको एकै इनिङ्समा सात विकेट लिने पहिलो खेलाडी बने । यसअघि सुदूरपश्चिमका हेमन्त धामीले ६ विकेट लिएका थिए । सन्दीपले नौमध्ये सात ओभर बलिङ गर्दा एक–एक विकेट हात पारेका थिए । उनले ९.१ ओभरमा पहिलो तथा २५.१ ओभरमा सातौँ विकेट लिए । ९.१ ओभरमा उनले निश्चल रावल, ११.४ ओभरमा सुनील धमला, १५.२ ओभरमा अर्जुन घर्तीको विकेट लिए ।
त्यसपछि सन्दीपले १७.२ ओभरमा दीपेन्द्र रावत, १९.२ ओभरमा विपिन शाही, २३.३ ओभरमा दिनेश अधिकारीको विकेट लिए । २५.१ ओभरमा कर्णालीको अन्तिम तथा व्यक्तिगत सातौँ कीर्तिमानी विकेटका रूपमा उनले दिवान पुनलाई आउट पारे । कर्णालीका निश्चल रावलले सर्वाधिक ३१ रन बनाए । उनले ४२ बलमा पाँच चौका हिर्काएका थिए ।
यसअघि पहिलो इनिङ्समा बागमतीका लागि विवेक रानामगरले सर्वाधिक ५६ रन बनाए । छैटौँ नम्बरमा आएका उनले ८० बलमा दुई चौका र चार छक्का हिर्काएका थिए । ईशान पाण्डे २२, शुभ कंसाकार २२ तथा शुभम तिवारीले १८ रनको योगदान दिए । कर्णालीका लागि कप्तान दिवान पुनले तीन तथा प्रकाश जैशी, दीपेन्द्र रावत र निश्चल रावलले समान दुई विकेट लिएका थिए ।
लुम्बिनीले एपिएफलाई हरायो
लुम्बिनीले विभागीय टोली एपिएफ क्लबलाई सुपर ओभरमा निराश बनायो । जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपिएफ र लुम्बिनीले समान १२४ रन बनाएपछि खेल टाई भएको थियो । सुपर ओभरमा लुम्बिनीले एपिएफलाई स्तब्ध बनायो । प्रधानमन्त्री कपमा लुम्बिनीले पहिलोपटक एपिएफलाई हराएको हो ।
पिएम कपमा पहिलोपटक सुपर ओभरको खेल भएको थियो । टस जितेर ब्याटिङ गरेको एपिएफ ३९.४ ओभरमा १२४ रनमा अलआउट भयो । लुम्बिनीले पनि ३४ ओभरमा सबै विकेट गुमाएर १२४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । लुम्बिनीका कप्तान देव खनालले सर्वाधिक ४५ रन बनाए । उनले ६४ बल सामना गर्दै पाँच चौका प्रहार गरे । आकाश त्रिपाठीले ३५ बलमा ३२ रनको योगदान दिए । एपिएफका लागि कप्तान रोहितकुमार पोडेलले तीन विकेट हात पारे ।
एपिएफका अभिषेक गौतम, युवराज खत्री तथा भुवन कार्कीले समान दुई विकेट लिएका थिए । सुपर ओभरमा पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ बलमा एक विकेट गुमाएर १४ रन बनायो । एपिएफले ६ बलमा एक विकेट गुमाएर ६ रन मात्र बनायो । एपिएफका लोकेस बम डकआउट भए । कप्तान रोहितले ५ तथा सन्दीप जोराले १ रन मात्रै जोडेका थिए । सुपर ओभरमा लुम्बिनीका सन्तोष यादवले सानदार बलिङ गरेका थिए ।