प्राकृतिक प्रकोपका कारण झापामा बर्सेनि कृषिमा ठुलो क्षति हुँदै आएको छ । बाढी, हावाहुरीले सधैँ कृषि बालीमा क्षति पुग्दै आएको हो । राज्यले प्राकृतिक प्रकोपबाट क्षति भएको विवरण संकलन गर्छ, तर किसानले कहिल्यै राहत पाउँदैनन् ।
गत असोजमा आएको बाढीका कारण झापामा मात्र सात करोड ६० लाख २८ हजारबराबरको क्षति भएको थियो । जसमा सबैभन्दा धेरै धानमा सात करोड ७५ लाख र झापामा केही वर्षयता व्यावसायिक खेती हुँदै आएको केराखेतीमा एक करोड २५ लाख क्षति भएको थियो । साथै, आलु र तरकारी खेतीमा समेत क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
गत फागुन अन्तिम सातायता निरन्तर आइरहेको वर्षा र हावाहुरीले मकै र केराखेतीमा पु¥याएको क्षतिको विवरण संकलन गरिरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए । यद्यपि, हालसम्म केराको मात्र विवरण संकलन भएको छ । हावाहुरी र असिनाले झापामा गत फागुन अन्तिम सातायता मात्रै ४७ लाखको केराखेतीमा क्षति पुगेको छ । यसमा झापा गाउँपालिकाका दुई केरा बगानमा क्षति पुगेको हो ।
हावाहुरी र असिनाका कारण झापा गाउँपालिका– ७ को समृद्धि दिदीभाइ कृषि फर्मको केरा बगानमा २० लाख र झापा ३ को साधना संस्कृति नमुना कृषि प्रालिको केरा बगानमा २७ लाखको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । ‘मकैमा पनि ठुलो क्षति भएको छ । तर, अहिले विवरण संकलनको काम मात्र भइरहेको छ ।
हालसम्म बाह्रदशी गाउँपालिकाको प्रारम्भिक विवरण आएको छ । बाह्रदशीमा मात्र एक हजार ६ सय हेक्टरमा लगाएको मकै पूर्ण रूपमा क्षति भएको छ,’ कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले भने, ‘अहिले आएको पानी मकैखेतीमा जमेको छ । मकैखेतीले पानी सहँदैन । तसर्थ मकै पहेँलिएको छ । असिनाले पनि क्षति पु¥याएको छ भने हावाहुरीले मकै लडाएको छ । यसपटक पनि ठुलो क्षति भएको छ ।’
झापामा यस वर्ष ४६ हजार हेक्टर क्षेत्रफलमा मकैखेती भएको थियो । झापा गाउँपालिकामा सबैभन्दा धेरै मकैखेती हुन्छ भने त्यसपछि दोस्रोमा बाह्रदशी गाउँपालिकामा मकैखेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्रमा प्रत्येकपटक प्राकृतिक प्रकोपले कृषिमा क्षति पुर्याउँदा विवरण संकलन गरेर पठाउँछ । तर, किसानले भने कहिल्यै राहत पाउँदैनन् । ‘झापामा कृषि क्षेत्रमा प्रत्येक वर्ष क्षति हुँदै आएको छ । ०७८ कात्तिकमा पनि कृषि बालीमा ३४ करोडको क्षति भएको थियो । गत वर्ष असोजमा सात करोडमाथिको क्षति भएको थियो,’ विष्ट भन्छन्, ‘तर, कृषकले क्षतिपूर्ति भने पाएका छैनन् ।’
प्रत्येक वर्ष बाढी, हावाहुरी, असिनाजस्तो प्राकृतिक प्रकोपले कृषि क्षेत्रमा ठुलो क्षति पुर्याउँदा किसान समस्यामा परेको झापा गाउँपालिका– ३ स्थित साधना संस्कृति नमुना कृषि प्रालिका सञ्चालक चन्द्र बस्नेत बताउँछन् । तर, राज्यले सधैँ विवरण संकलन मात्र गरेर केही राहत उपलब्ध नगराएको उनको गुनासो छ । ‘यसपटक पनि केराखेतीमा ठुलो क्षति भएको छ । गत असोजमा मात्र एक करोडको क्षति भएको थियो । अन्य किसानले लगाएको मकैको अवस्था पनि उस्तै छ ।
विवरण संकलन गरेर लगेपछि राहतको आस हुन्छ । तर, कहिल्यै राहत पाइएन,’ उनले भने, ‘किसान अहिले समस्यामा छन् । अब नयाँ सरकारसँग आस पनि छ । यसपटकचाहिँ राहत पाउने अपेक्षा गरेका छौँ । आइतबार कृषिमन्त्री गीता चौधरीले फोन गर्नुभएको थियो । तत्काल केही गर्छौँ भन्नुभएको छ ।’
यसपटक कृषि क्षेत्रमा ठुलो क्षति भएकाले राज्यले पहल गरेर कृषकले लिएको ऋणमा कृषकलाई कालोसूचीमा राख्न नहुने उनको भनाइ छ । यस्तै, ऋण सहुलियतमा उपलब्ध गराउने उनले माग गरे । ‘कृषि क्षेत्रमा समस्या नै समस्या छ । समयमा मल पाउँदैन, सिँचाइ छैन । अनि कसरी कृषि गर्ने ?’ उनले भने, ‘अब नयाँ सरकारसँग हाम्रो ठुलो आशा छ । सरकारले झापा गाउँपालिकालाई चाहिँ प्राकृतिक प्रकोप संकटग्रस्त क्षेत्र घोषणा गरेर काम गर्नुपर्छ ।’
कृषि क्षेत्रको बिमा गर्न खोज्दा पनि बिमा कम्पनीहरूले कृषिको बिमा गर्न नमान्ने गरेको झापा गाउँपालिका– ७ को समृद्धि दिदीभाइ कृषि फर्मकी सञ्चालक पूजा खनालले बताइन् । ११ महिनाअघि निको इन्स्योरेन्समा केराखेतीको बिमाका लागि निवेदन दिँदा पनि बिमा नगरिदिएको उनको गुनासो छ ।
‘हामीले ११ महिनाअघि नै निको इन्स्योरेन्समा निवेदन दिएका थियौँ । हाम्रो फाइल त्यहीँ छ, तर बिमा भएन । बिमा नगरेपछि हामीले यसको जानकारी कृषि ज्ञान केन्द्र झापा र कोशी प्रदेशको कृषि मन्त्रालयलाई जानकारी दिएका थियौँ,’ उनले भनिन्, ‘अहिले यति धेरै क्षति भएको छ । तर, बिमा नहुँदा हामीलाई समस्या भयो । बिमा कम्पनीले नाफा हुने क्षेत्रको मात्र बिमा गर्ने हो ? यसमा सरकारको ध्यान जाओस् । प्राकृतिक प्रकोपले गरेको क्षतिको राहत नपाए हामी बिमा कम्पनी र सरकारविरुद्ध अदालत जान्छौँ ।’