संसद् सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूका लागि संसदीय दल कार्यालय व्यवस्थापन गरेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अहिले अस्थायी व्यवस्था गरिएको हो भने संसद्को नयाँ भवन निर्माण भएपछि स्थायी व्यवस्थापन गरिनेछ ।
प्रवक्ता एकराम गिरीका अनुसार पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सिंहदरबारस्थित संसद् सचिवालयको दुई नम्बर भवनको तेस्रो तलमा रहेको हलमा राखिएको छ । उक्त हल यसअघि माओवादी केन्द्रको संसदीय दलको कार्यालय थियो । रास्वपाका १८२ सांसद रहेकामा हलमा करिब १८० कुर्सी मात्र व्यवस्थापन गरिएको छ ।
कांग्रेस र एमालेलाई भने सिंहदरबारभित्रकै पुरानै स्थानमा यथावत् राखिएको छ । नेकपा, श्रम संस्कृति पार्टी र राप्रपालाई पुरानो गृह मन्त्रालयनजिकको भवनमा कार्यालय दिइएको छ । यसअघि सोही भवनमा रास्वपा र राप्रपाको कार्यालय थियो । स्वतन्त्र सांसद महावीर पुनका लागि पनि छुट्टै कार्यालय व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
नयाँ संसद् भवन बनेपछि संसदीय दलका साथै सांसदहरूलाई व्यक्तिगत रूपमा काम गर्ने छुट्टै डेस्क उपलब्ध गराउने योजना सचिवालयको छ । हाल संसदीय दल कार्यालयमा बैठक कक्ष, पदाधिकारीका कार्यकक्ष तथा आवश्यक कर्मचारीको व्यवस्था गरिँदै आएको छ । यसअघि सचिवालयले १२ वटा दल र स्वतन्त्र सांसदहरूका लागि कार्यालय व्यवस्थापन गरिसकेको थियो ।