सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

 निर्वाचन आयोगले अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सांसदहरूको शपथपूर्व पनि सरकार गठन हुन सक्ने भए पनि रास्वपाले पहिला संसद् सदस्यको शपथ लिएपछि मात्रै सरकार गठन प्रक्रिया अगाडि बढाउने योजना बनाएको छ ।

पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथपछि मात्रै सरकार बनाउने रास्वपाको योजनापछि नयाँ सरकार गठन केही दिन पछाडि धकेलिएको छ । कानुनअनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सांसदहरूको शपथअगावै सरकार गठन हुन सक्छ । तर, रास्वपाले पहिला संसद् सदस्यको शपथ लिएपछि मात्रै सरकार गठन प्रक्रिया अगाडि बढाउने योजना बनाएको छ । 

२१ फागुनको निर्वाचनपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । यद्यपि, यसको औपचारिक प्रक्रिया भने सुरु भइसकेको छैन । यसअघि १० चैतभित्र नयाँ सरकार बन्न सक्ने बताइएको थियो । तर, सांसदको शपथपछि निर्माण गर्ने रास्वपाको तयारीपछि कम्तीमा १३ चैतअगाडि प्रधानमन्त्री नियुक्त नहुने निश्चित भएको छ । 

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले १२ चैतमा सांसदहरूको शपथ गराउने गरी सरोकारवाला पक्षसँग छलफल भइरहेको बताए । त्यसअघि केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले ५ चैतको अपराह्न राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन बुझाउँदै छ । आयोगका प्रवक्ता नारायण भट्टराईले ५ चैतमा समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरेर राष्ट्रपतिसमक्ष अन्तिम मतपरिणाम प्रतिवेदन पेस गरिने बताए । यसका लागि राष्ट्रपति कार्यालयसँग समय लिइसकिएको छ ।

आयोगले अन्तिम परिणाम प्रतिवेदन बुझाएपछि औपचारिक रूपमा सरकार गठनको प्रक्रिया प्रारम्भ हुने कानुनी व्यवस्था छ । प्रतिवेदन प्राप्त गरेपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नेछन् । राष्ट्रपतिसमक्ष पेस गरेको प्रतिवेदन संसद् सचिवालय पुग्नेछ । प्रतिवेदन प्राप्त गरेपछि सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथग्रहणको औपचारिक तयारी थाल्नेछ । संसद् सचिवालयले सरकार र प्रमुख दल (रास्वपा)सँग सांसदहरूको शपथका सम्बन्धमा छलफल गरिरहेको छ । ‘हामीले १२ चैतमा शपथ राख्ने गरी सरोकारवाला पक्षसँग छलफल अगाडि बढाएका छौँ । सम्भवतः सोही मितिमा माननीयज्यूहरूको शपथ हुन्छ । शपथपछि मात्रै अधिवेशन आह्वानको प्रक्रिया अगाडि बढ्ला,’ संसद् सचिवालयका महासचिव पाण्डेयले भने । 

कानुनअनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सरकार गठन प्रक्रिया अगाडि बढ्छ । यद्यपि, सांसदहरूको शपथअगावै सरकार गठन हुन सक्छ । सरकार गठनमा शपथ प्रधान हुँदैन । तर, रास्वपाले प्रक्रियाअनुसार पहिला संसद् सदस्यको शपथ लिने र त्यसपछि सरकार गठन प्रक्रिया अगाडि बढाउने योजना बनाएको छ । 

संविधानको धारा ८८ मा संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । अर्थात् प्रधानमन्त्री नियुक्ति हुन सांसदको शपथ लिनुपर्ने उल्लेख छैन । धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने उल्लेख छ ।

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ गराएपछि संसदीय दलको नेता चयन तथा प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढ्ने स्पष्ट गरे । उनले संसद् सचिवालयसँग सल्लाह गरेर शपथ मिति र सरकार गठन प्रक्रिया अगाडि बढाइने बताए । ‘संसद् सचिवालयले सांसदहरूलाई शपथ गराएपछि संसदीय दलको बैठक बस्छ । संसदीय दलको नेता चयन हुन्छ । त्यसैले शपथभन्दा अगाडि प्रधानमन्त्री नियुक्ति हुँदैन । शपथअगाडि जानैपर्ने अहिले विशेष परिस्थिति पनि छैन,’ उनले भने, ‘सामान्य परिस्थितिमा शपथपछाडि नै प्रधानमन्त्री हो । सामान्य परिस्थितिलाई नै अगाडि लैजान चाहन्छौँ । यस विषयमा सभापति र वरिष्ठ नेताको सल्लाह भएको छ ।’

महामन्त्री बुर्लाकोटीका अनुसार १२ चैतमा सांसदको शपथ भए १३ मा वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरिनेछ । त्यसको जानकारी राष्ट्रपतिलाई गराइनेछ । त्यसपछि राष्ट्रपतिले सोही दिन वा भोलिपल्ट १४ चैतमा प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् । यो हिसाबले हेर्दा देशले १५ चैतभित्र नयाँ सरकार पाउन सक्ने रास्वपाका नेताहरू बताउँछन् । रास्वपा प्रवक्ता मनीष झाले पनि सरकार गठनमा केही समय लाग्ने बताए । ‘कम्तीमा सरकार गठन हप्ता–दश दिनयता सम्भव छैन,’ उनी भन्छन् । प्रवक्ता झाले केन्द्रीय समितिको बैठक आउँदो आइतबारसम्म बस्न सक्ने र त्यसले विधानमा आवश्यक परिमार्जन हुन सक्ने बताए । 

कवीन्द्र बुर्लाकोटी, महामन्त्री, रास्वपा
संसद् सचिवालयले सांसदहरूलाई शपथ गराएपछि संसदीय दलको बैठक बस्छ । संसदीय दलको नेता चयन हुन्छ । त्यसैले शपथभन्दा अगाडि प्रधानमन्त्री नियुक्ति हुँदैन । शपथअगाडि जानैपर्ने अहिले विशेष परिस्थिति पनि छैन । सामान्य परिस्थितिमा शपथपछाडि नै प्रधानमन्त्री हो । सामान्य परिस्थितिलाई नै अगाडि लैजान चाहन्छौँ । यस विषयमा सभापति र वरिष्ठ नेताको सल्लाह भएको छ ।

सुझावित समाचार