घट्न थाल्यो निष्क्रिय बिमालेखको संख्या

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण
  • चालू आवको माघ मसान्तसम्म ०.७१ प्रतिशतले घटेर निष्क्रिय बिमालेखको संख्या १२ लाख २६ हजारमा सीमित

चालू आर्थिक वर्ष ०८२/८३ को माघ मसान्तसम्म बिमा कम्पनीहरूमा नवीकरण नभई बसेका व्यतीत बिमालेख (निष्क्रिय पोलिसी)को संख्या घट्न थालेको छ । गत पुस मसान्तसम्म यस्तो बिमालेख बढ्दो क्रममा थियो । तर, माघ मसान्तसम्म आउँदा यो ०.७१ प्रतिशतले घटेको छ । 

गत आवको माघसम्म बिमा कम्पनीहरूमा १२ लाख ३४ हजार नौ सय ८३ बिमालेख व्यतीत भएर बसेका थिए । चालू आवको माघ मसान्तसम्म आउँदा त्यो १२ लाख २६ हजार दुई सय ७५ मा सीमित भएको छ । यो गत पुससम्मको तुलनामा पनि कम हो । गत पुस मसान्तसम्म यस्तो बिमालेखको संख्या १२ लाख ३१ हजार ६ सय ५० थियो । यो तथ्यांकअनुसार निष्क्रिय भएर बसेका बिमालेख घट्न थालेका छन् ।

बिमितले पाँच वर्ष, १० वर्ष, १५ वर्षजस्ता निश्चित अवधि तोकेर बिमा गरेका हुन्छन् । बिमितले वार्षिक रूपमा तोकिएको बिमाशुल्क कम्पनीलाई तिर्नुपर्छ । तर, बिमितले बाँकी किस्ता तिरेनन् भनेर बिमालेख व्यतीत भएर बसेको हुन्छ । व्यतीत भएपछि बिमालेखले बिमितको जोखिम रक्षावरण गर्दैन । यद्यपि, बिमितले कुनै पनि वेला बक्यौता तिरेर बिमालेख सक्रिय बनाउन सक्नेछन् । तीन वर्षको किस्ता तिरिसकेको अवस्थामा पोलिसी बन्द गरेर बिमितले आफूले पाउनुपर्ने रकम भुक्तानी लिन पनि सक्नेछन् ।

व्यतीत बिमालेखको रकम भने २.९७ प्रतिशतले बढेको छ । गत आवको माघसम्म यस्तो रकम २६ अर्ब ६२ करोड ६ लाख रुपैयाँ थियो । चालू आवको माघसम्म आउँदा त्यो ३७ अर्ब ७० करोड ८२ लाख रुपैयाँ पुगेको छ । यस्तो रकम गत पुसको तुलनामा कम हो । गत पुससम्म यस्तो रकम ३७ अर्ब ८० करोड ७६ लाख थियो । 

आर्थिक गतिविधि बढ्न थालेपछि आममानिसको आम्दानी पनि बढ्न थालेको छ । त्यसले गर्दा यसअघि बिमा शुल्क नतिरेका बिमितले बाँकी किस्ता तिरेर पोलिसी नवीकरण गर्न थालेका छन् । विगतमा आर्थिक संकटका कारण पनि यस्तो अवस्था आएको थियो । यस्तै, निश्चित समयपछि बिमा कम्पनी र अभिकर्ताले बिमितलाई सम्पर्क नगर्दा पनि यस्तो बिमालेख व्यतीत भएर बसेका छन् । तर, अहिले यो घट्न थालेको छ ।

बिमा सरेन्डरमा ४.५६ प्रतिशतको कमी
विगतका वर्षहरूमा बढ्दो क्रममा रहेको जीवन बिमा पोलिसी सरेन्डर पनि घट्न थालेको छ । माघ मसान्तसम्म आउँदा यो ४.५६ प्रतिशतले घटेको छ । गत आवको सात महिनामा ६२ हजार पाँच सय २३ पोलिसी सरेन्डर भएको थियो । चालू आवको सात महिनामा ५९ हजार ६ सय ७२ पोलिसी सरेन्डर भएका छन् । 

रकमका आधारमा भने यो १९.०७ प्रतिशतले घटेको छ । गत आवको सात महिनामा पोलिसी सरेन्डर गरेर बिमितले आठ अर्ब ५९ करोड दुई लाख रुपैयाँ भुक्तानी लगेका थिए । चालू आवको सात महिनामा भने ६ अर्ब ९५ करोड १७ लाख रुपैयाँ लगेका छन् । बिमालेखको आकार, सक्रिय बिमा अवधि, भुक्तानी भएको बिमाशुल्कलगायतका आधारमा समर्पण संख्या र रकमको वृद्धिदर फरक–फरक हुन सक्नेछ । 

बिमितले पाँच वर्ष, १० वर्ष, १५ वर्षजस्ता निश्चित अवधि तोकेर बिमा गरेका हुन्छन् । त्यसको लागि वार्षिक रूपमा किस्ता तिर्नुपर्छ । यदि, सम्झौता अवधिभर बिमालाई निरन्तरता दिन नचाहेमा बिमितले आवश्यक प्रक्रिया पूरा गरेर पोलिसि बन्द गर्न सक्नेछन् । बिमितले त्यही अवधिसम्म तिरेको बिमाशुल्क र आर्जित बोनस फिर्ता पनि पाउनेछन् । यद्यपि, त्यसमा केही शुल्कहरू भने काटिनेछ । साथै, बिमा गरेको न्यूनतम तीन वर्ष पूरा भएको हुनुपर्ने सर्त पनि रहेको छ । 

पोलिसि सरेन्डर नियमित प्रक्रिया पनि हो । विगतमा आर्थिक शिथिलताका कारण बिमालेख सरेन्डर बढ्दै आएको थियो । तर, अहिले बिमा सरेन्डर घट्न थालेको तथ्यांकले पुष्टि गरेको छ । विगतमा आर्थिक शिथिलताका कारण बिमा सरेन्डर बढेको थियो । बिमितको आम्दानी प्रभावित आर्थिक आवश्यकता पूर्ति गर्नका लागि पनि बिमा सरेन्डर गर्ने गरेका थिए । तर, अहिले विगतमा जस्तो आर्थिक संकट देखिएको छैन । त्यसले गर्दा बिमितले पोलिसी बन्द गरेका छैनन् । अहिले मानिसको नियमित आम्दानीले आर्थिक आवश्यकता पूरा हुन थालेको छ । त्यसले गर्दा बिमा सरेन्डर घट्न थालेको छ । 

See More On

सुझावित समाचार