प्रतिनिधिसभाका लागि देशभर एकैसाथ मतदान सुरु

६८–७० प्रतिशत मत खस्ने निर्वाचन आयोगकाे अनुमान

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण
प्रतिनिधिसभाका लागि देशभर एकैसाथ मतदान सुरु

दमक नगरपालिका मतदानस्थलमा मतदान गर्ने मतदाताको लाइन । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका

प्रतिनिधिसभाका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएकाे मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । 

मतदाताले प्रतिस्पर्धामा रहेका ६ हजार ५४० उम्मेदवारमध्ये प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्य चुन्नेछन् । अन्तिम नामावलीमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेकामा निर्वाचन आयोगले ६८–७० प्रतिशत मत खस्ने र ९९ प्रतिशत मत सदर हुने अपेक्षा गरेको छ ।

२३ हजार ११२ मतदान केन्द्र
मतदाताले १० हजार ९६७ मतदानस्थल तथा २३ हजार ११२ मतदान केन्द्रमा गएर मतदान गर्नेछन् । आयोगले कार्यस्थलमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक र कैदीबन्दीको मतदानका लागि १४३ अस्थायी मतदान केन्द्रको व्यवस्था गरेको छ । एक लाख ८६ हजार १४२ अस्थायी मतदाताले समानुपातिकतर्फ दललाई मतदान गर्न पाउनेछन् ।

मतदान केन्द्रको नेतृत्व नासुदेखि उपसचिवसम्मले गरेका छन् । एउटा मतदान केन्द्रमा कम्तीमा नाैदेखि १२ जनासम्म कर्मचारी खटिएका छन् । एउटा मतदान केन्द्रमा कम्तीमा १० जना सुरक्षाकर्मी (प्रहरी र म्यादी) खटिएका छन् । सशस्त्र प्रहरी र सेना बाहिरी घेरामा ब्याक फोर्सका रूपमा रहेको छ । मतदान केन्द्रमा कुल दुई लाख १५ हजार कर्मचारी खटिएका छन् । 

मतदान गर्न चाहिने परिचयपत्र
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले ६ प्रकारका परिचयपत्रबाट मतदान गर्न पाउनेछन् । मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारीचालक अनुमतिपत्रले मतदान गर्न पाइनेछ । सञ्चारकर्मीको हकमा माथिका ६ वटै परिचयपत्र नभएको अवस्थामा सूचना विभागबाट जारी प्रेसपासमार्फत समेत मतदानको व्यवस्था मिलाइएको छ ।

सुझावित समाचार