मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता मिलाउन देशैभर ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले ७७ वटै जिल्लाका जनस्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै टिम बनाएर परिचालनको व्यवस्था गर्न निर्देशन दिएको छ ।
आपत्कालीन स्वास्थ्य उपचारका लागि संघीय अस्पताल र प्रादेशिक अस्पतालमातहत रहने गरी टिम बनाउन निर्देशन भएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार हुने मतदानका दिन आउन सक्ने स्वास्थ्य समस्यालाई ध्यान दिँदै टिम बन्नेछन् । मन्त्रालयका अनुसार हरेक मतदानस्थलमा आकस्मिक उपचारका लागि एमबिबिएस चिकित्सकसहितको स्वास्थ्य टोली खटाइनेछ । स्वास्थ्य एम्बुलेन्स र थप अन्य जनशक्ति पनि ‘ब्याकअप’मा राखिनेछ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सोमबार सातै प्रदेशका स्वास्थ्य विभागका अधिकारीहरूसँग मन्त्रालयले छलफल गरेर निर्वाचनकेन्द्रित ‘र्यापिड रेस्पोन्स टिम’ बनाउन र स्वास्थ्यकर्मीहरू अलर्ट अवस्थामा राख्न निर्देशन दिइएको बताए । ‘चुनावमा हुन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै ‘र्यापिड रेस्पोन्स टिम’ गठन गर्ने, लजिस्टिक भण्डारण गर्ने, बिरामीलाई रेस्पोस्स गर्ने, एम्बुलेन्स तथा आकस्मिक उपचार सेवा नेटवर्कलाई तयारी अस्वथामा राख्न भनिएको छ,’ उनले भने, ‘स्थानीय प्राथमिक स्वास्थ्य चौकीसँग समन्वय गरेर मतदान केन्द्रको छेउमा आकस्मिक उपचार केन्द्र राख्न भनेका छौँ । सोहीअनुसार स्वास्थ्य जनशक्ति र स्रोत परिचालन हुन्छ । त्यसो हुँदा निर्वाचनको वेला केही भइहाल्यो भने तत्काल उपचार प्रदान गर्न सकिन्छ ।’
यसैबिच काठमाडौंमा वीर अस्पतालले विशेषज्ञ चिकित्सकसहितको ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरेको छ । वीरका आकस्मिक विभाग प्रमुख डा. सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय ‘द्रुत प्रतिक्रिया टिम’ गठन भएको छ । उपत्यकाका तथा अन्य जिल्लामा कुनै ठुलो स्वास्थ्य समस्या परे यो टिमले सहजीकरण गर्नेछ । यही टिममातहत रहने गरी प्रादेशिक अस्पतालमा पनि ‘द्रुत प्रतिक्रिया टिम’ गठन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निर्वाचनको वेला हुन सक्ने घटना, दुर्घटना र भवितव्यको अवस्थामा यो टिमले उपचारको व्यवस्थापन मिलाउनेछ ।
वीरका कार्यकारी निर्देशक डा. दिलीप शर्माले निर्वाचनको समयमा स्वास्थ्य उपचार पाटोलाई पनि प्रमुख मानिएकाले सोहीअनुसार स्वास्थ्यकर्मी ‘हाई अलर्ट’मा बसेको बताए । ‘चुनावको समयमा हुन सक्ने सम्भावित स्वास्थ्य समस्यालाई रेस्पोन्स गर्नका लागि हाम्रो टिम तयार छ । साथै नियमित उपचार सेवा प्रभावित हुँदैन, स्वास्थ्यकर्मी परिचालन र रेस्पोन्समा ध्यान दिएका छौँ,’ उनले भने ।
अस्पतालका सबै विभागको प्रतिनिधित्व हुने गरी टिम बनाइएको छ । विशेष चिकित्सक, नर्सिङ प्रमुख, औषधि व्यवस्थापन, आकस्मिक विभाग प्रमुखलगायतलाई राखिएको छ । वीरले गठन गरेको टिममा आकस्मिक विभाग प्रमुख डा. सुरेशप्रसाद नेपाल संयोजक छन्
निर्वाचन आयोगले निर्वाचनलाई लक्षित गरी आकस्मिक स्वास्थ्य सहायता मिलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो । आयोगले निर्वाचनमा अत्यावश्यक तथा आपत्कालीन उपचार सेवा उपलब्ध गराउन सक्ने गरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न भनेको छ । सोहीअनुसार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले र्यापिड रेस्पोन्स टिम गठन गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयले निर्वाचनको वेला स्वास्थ्यकर्मीलाई नखटाउन अनुरोध गर्दै आएको थियो । केही सीमित ठाउँमा मात्रै स्वास्थ्यकर्मी खटाइएको मन्त्रालयले जनाएको छ । तर, बिरामीको प्रत्यक्ष उपचारमा जोडिने स्वास्थ्यकर्मीलाई भने खटाइएको छैन ।
प्रवक्ता डा. बुढाथोकीले ठुला अस्पतालमा चुनावको दिन मात्रै ओपिडी सेवा बन्द हुने बताए । ‘देशैभरका सरकारी अस्पतालले मतदानका दिन ओपिडी सेवा बन्द गर्छन् । त्यस दिन आकस्मिक सेवा चुस्त राख्न भनेका छौँ,’ उनले भने, ‘चुनावको वेला भए पनि अस्पतालमा बिरामीहरू आउनेक्रम उस्तै हुन्छ ।’