राष्ट्रिय मानव अधिकार आयोगले उम्मेदवारहरूबाट निर्वाचन आचारसंहिताको पूर्ण पालना हुन नसकेको जनाएको छ। ४२ जिल्लाहरूमा निर्वाचनपूर्वको अनुगमन गरेको उल्लेख गर्दै आयोगले सो क्रममा आचारसंहिताको पूर्ण पालना भएको नपाइएको जनाएको हो।
‘देशका विभिन्न भागमा र्याली तथा सभाहरूमा बालबालिका सहभागी हुनु, पत्रकारहरूमाथि धम्की तथा कुटपिट हुनु, आचारसंहिताविपरीत भौतिक रूपमा चुनाव चिन्हको प्रयोग हुनु, विनाअनुमति व्यक्तिका घरहरूमा प्रचार सामग्री र झन्डा टाँगिनु, स्थानीय निकाय तथा प्रदेश सरकारका पदाधिकारीहरू निर्वाचनको प्रचारप्रसारमा सहभागी हुनु, उम्मेदवारहरूले अनुमतिविना बढी सवारीसाधन प्रयोग गर्नु, मतदाताहरूलाई अनुचित प्रभाव पार्ने प्रयास गरिनु, दलका कार्यकर्ता र समर्थकहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी एक आपसमा गालीगलौज गर्नु, सीमान्तकृत समुदायमा पर्याप्त मतदाता शिक्षा पुग्न नसक्नु जस्ता तथ्यहरू पाइएका छन्,’ आयोगले भनेको छ।
यद्यपि, दलका नेता र उम्मेदवारहरूबिचमा आपसी सौहार्दता, सुरक्षा निकायको सुरक्षा सतर्कता तथा निर्वाचन अधिकारी र स्थानीय प्रशासनबाट भएको निर्वाचनको तयारीजस्ता विषयलाई आयोगले सकारात्मक बताएको छ।
