चालू आवको सात महिनामा सवा ४० अर्ब विदेशी लगानी

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्षको सात महिनामा सवा ४० अर्ब रुपैयाँबराबरको वैदेशिक लगानी (एफडिआई) स्वीकृत भएको छ । उद्योग विभागको तथ्यांकअनुसार माघ मसान्तसम्म ५२४ उद्योगको ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँबराबरको विदेशी लगानी स्वीकृत भएको हो । स्वीकृत विदेशी लगानीका उद्योगले २० हजार ८९६ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका छन् । 

विभागका अनुसार माघमा मात्रै ४९ उद्योगका लागि एक अर्ब चार करोड ७२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । जसमा स्वचालित प्रणालीबाट ३७ वटा उद्योगका लागि ४४ करोड नौ लाख रुपैयाँभन्दा बढी लगानी रहनेछ । त्यसैगरी नियमित प्रक्रियामार्फत १२ उद्योगका लागि ६० करोड ६२ लाख रुपैयाँ रहेको छ । 

चालू आवको सात महिना (साउन–माघ)सम्म स्वचालित प्रणालीबाट ३५१ उद्योगका लागि तीन अर्ब २५ करोड नौ लाख रुपैयाँ र नियमित प्रक्रियामार्फत १७३ उद्योगका लागि ३७ अर्ब तीन करोड २४ लाखभन्दा बढी एफडिआई प्रतिबद्धता आएको छ । 

माघमा स्वीकृति भएका ४९ उद्योगमध्ये ४८ वटा साना किसिमका र एउटा ठुलो उद्योग रहेको विभागले जनाएको छ । चालू आवको सात महिनामा भने ५०७ साना, मध्यम आठ र ठुला आठ उद्योगको लगानी स्वीकृत गरिएको हो ।

कुन क्षेत्रमा कति लगानी ? 
माघ मसान्तसम्मा स्वीकृत विदेशी लगानीका उद्योगमध्ये सबैभन्दा धेरै आइसिटी क्षेत्रका छन् । आइसिटीका २८८ उद्योगका लागि १२ अर्ब ५९ करोड रुपैयाँ लगानी स्वीकृत भएको हो । त्यसैगरी पर्यटनमूलक क्षेत्रका १५० उद्योगका लागि १० अर्ब ८६ करोड, उत्पादनमूलक ३५ उद्योगका लागि दुई अर्ब ४० करोड र सेवामूलक ३४ उद्योगका लागि तीन अर्ब ५४ करोड रुपैयाँ एफडिआई स्वीकृत भएको विभागको तथ्यांक छ । साथै, कृषिमूलक १४ उद्योगका लागि २१ अर्ब ९० करोड, खनिजअन्तर्गत दुई उद्योगका लागि ११ करोड ५० लाख र ऊर्जामूलक एक उद्योगका लागि १८ करोड ४२ लाख रुपैयाँ एडडिआई स्वीकृत भएको छ ।

सुझावित समाचार