खोटाङमा ‘बोलाओ राइडिङ’ सुरु

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण
  • पहिलो चरणमा १६ वटा मोटरबाइक र तीनवटा अटोमार्फत सेवा

‘बोलाओ राइडिङ एप्स’मार्फत खोटाङमा भाडा तिरेर जुनसुकै समयमा जुनसुकै ठाउँको यात्रा गर्न सकिने भएको छ । यात्रुलाई जुनसुकै समयमा जुनसुकै ठाउँको सहज, सुलभ र सुरक्षित यात्रा गराउँदै व्यवसाय गर्ने उद्देश्यले ‘बोलाओ राइडिङ एप्स’ले खोटाङमा आफ्नो सेवा विस्तार गरेको हो । 

यात्रुको सेवाका लागि पहिलो चरणमा १६ वटा मोटरबाइक र तीनवटा अटो तैनाथ राखिएको बोलाओ राइडिङ एप्सका खोटाङ राइडर संयोजक आश्रय राईले जानकारी दिएका छन् । ‘पठाओ’जस्तै अनलाइन राइडिङ प्रणालीमा आधारित बोलाओ राइडिङ एप्सले जिल्लामा पहिलोपटक भाडा लिएर यातायात सेवा सुरु गरेको हो । 

बोलाओ राइडिङ एप्सले किलोमिटरका आधारमा भाडादर स्वत: निर्धारण गर्ने र यात्रुले नगद तथा क्युआरमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको खोटाङका सुपरभाइजर दिनेश हिङ्माङले जानकारी दिए । ‘एप्समार्फत जिलाभरिका सेवाग्राहीले मोटरबाइक, अटो तथा सुमोबाट सेवा लिन सक्नेछन् । सेवा लिन चाहने सेवाग्राहीलाई जुनसुकै समयमा सेवा उपलब्ध गराउँछौँ’, उनले भने, ‘सेवाग्राही जोकोहीले आफ्नो मोबाइलमा बोलाओ एप्स डाउनलोड गरी घरमै बसेर राइडर बोलाउन सक्नुहुन्छ । राइडर नपाएर हैरानी खेप्दै आउनुभएका यात्रुले अब बोलाओ सेवामार्फत सहज रूपमा आफ्नो गन्तव्यसम्म पुग्न सक्नुहुनेछ ।’

एप्सले जिल्लाभित्रका अटो, मोटरबाइक तथा सुमोचालकले राइडिङ सेवा दिन चाहेमा दिक्तेलस्थित संगम चोकमा स्थापना गरिएको सम्पर्क कार्यालयमा गएर आवश्यक कागजातसहित आफ्नो नाम दर्ता गराउन सक्नेछन् । प्रक्रिया पूरा गरेर कार्यालयमा दर्ता भएपश्चात् कार्यालयका कर्मचारीले चालकलाई बोलाओ राइडिङ एप्ससँग जोडिदिने व्यवस्था गरिएको जनाइएको छ । राइडिङ सेवामा संलग्न चालकले अनिवार्य इन्स्योरेन्स गरेको हुनुपर्ने संयोजक राईले जानकारी दिएका छन् । ‘सेवा दिन चाहने चालकले अनिवार्य इन्स्योरेन्स गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । बिनाइन्स्योरेन्सका कोही चालक हुनेछैनन्,’ उनले भने ।

See More On

सुझावित समाचार