आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर २ मा पुराना र नयाँ दलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको यस क्षेत्रमा एमालेले आफ्नो बिरासत जोगाउने प्रयास गरिरहँदा कांग्रेस, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ अनुहारमार्फत मतदाता तान्ने रणनीतिमा छन् ।
०४८ देखि नै कम्युनिस्टहरूको प्रभाव बलियो मानिँदै आएको मकवानपुर २ मा यसपटकको निर्वाचन भने सहज देखिँदैन । ०७९ को निर्वाचनमा एमालेका महेश बर्तौलाले जित हात पारेका थिए । उनले आफ्नै राजनीतिक गुरु विरोध खतिवडालाई हराएका थिए । एमालेले यसपटक पनि बिरासत जोगउन भन्दै बर्तौलालाई नै दोहोर्याएको छ ।
यसपटकको प्रतिस्पर्धा फरक छ । गठबन्धनविनै निर्वाचन हुँदै छ भने जेन–जी आन्दोलनपछि मतदाताहरूको मनजस्तै मत फेरिने सम्भावना चर्को छ । यता जनजाति मत कसको पक्षमा जान्छ भन्ने प्रश्नले पनि चुनावी बहसलाई थप रोचक बनाउने देखिन्छ । एमालेका बर्तौलासँगै कांग्रेसले बुद्ध लामा, नेकपाले लवशेर विष्ट, रास्वपाले प्रशान्त उप्रेती, उज्यालो नेपालले डा. प्रवीणकुमार स्याङ्तान र प्रलोपाले सन्तोष विष्टलाई मैदानमा उतारेका छन् ।
बर्तौलाबाहेक अन्य दलका सबै उम्मेदवार पहिलोपटक संसदीय चुनाव लड्दै छन् । जनजातिबाहुल्य क्षेत्रमा कांग्रेसले लामालाई उम्मेदवार बनाएर जातीय मत आकर्षित गर्ने रणनीति बनाएको देखिन्छ । यस क्षेत्रको प्रदेश सभाअन्तर्गत एउटा क्षेत्रमा कांग्रेसका प्रदेश सभापति एवं वर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जितेका छन् । स्थानीय तहका अधिकांश पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख तथा वडा जितेको छ ।
नेकपाका उम्मेदवार विष्ट थाहा नगरपालिकाका पूर्वप्रमुख हुन् । ‘रुदाने’का अनुयायी विष्टले पारदर्शिता, सुशासन र कार्यसम्पादनलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । मेयर हुँदा निर्माण व्यवसाय बन्द गरेर पूर्णकालीन जिम्मेवारी सम्हालेका विष्टको कार्यकालमा थाहा नगरपालिका बेरुजु फस्र्योट र कार्यसम्पादन मूल्यांकनमा अब्बल बनेको थियो । उनी आफ्नो कार्यकालमा थाहामा कायम गरेको सुशासनको कामलाई मुख्य एजेन्डाका रूपमा मतदातामाझ प्रस्तुत भइरहेका छन् ।
एमाले उम्मेदवार बर्तौला भने संगठन, पहुँच र अघिल्लो कार्यकालमा गरेका विकासका कामलाई आधार बनाएर मतदाता सम्हाल्ने प्रयासमा छन् । तर, जेन–जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको भूमिकाप्रति देखिएको असन्तुष्टिले बर्तौलाका लागि चुनौती थपेको छ । उनले आफ्नो अघिल्लो कार्यकालमा पूरा गर्न बाँकी रहेका कामलाई पनि मतदातासामु अघि सारेका छन् । नेकपा र रास्वपाले ‘पुराना दल असफल भए’ भन्ने नारासहित जनतासँग संवाद तीव्र बनाइरहेका छन् । रास्वपा उम्मेदवार उप्रेतीले पुराना दलप्रति असन्तुष्ट मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । उनी यहाँ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा कान्छा र नयाँ अनुहार हुन् ।
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको टिमसँग नजिक मानिने उप्रेती एकाएक टिकट पाएपछि जिल्ला र केन्द्रस्तरका रास्वपा नेता–कार्यकर्ता नै चकित बनेका थिए । रास्वपाको संगठन त्यति बलियो नभए पनि गत निर्वाचनमा रास्वपाका जिल्ला सभापति भरत पराजुलीले उम्मेदवार हुँदा १२ हजारभन्दा बढी मत पाएका थिए । पराजुलीले पाएको मतलाई जोगाउँदै थप मत बढाउन र जित निकाल्न उप्रेतीलाई पनि त्यति सजिलो देखिँदैन । बालेनसहित शीर्ष नेतृत्वको सक्रिय उपस्थितिले मात्र उप्रेतीलाई केही सहजता दिलाउन सक्ने आकलन गरिएको छ ।
यस क्षेत्रमा उज्यालो नेपाल पार्टीका प्रवीणकुमार स्याङ्तान पनि चर्चामा छन् । विद्युतीकरणका क्रममा कुलमान घिसिङको भूमिकाबाट प्रभावित मत उज्यालो नेपाल पार्टीतर्फ आकर्षित हुने अनुमान छ, जसले ठुला दलका उम्मेदवारलाई समेत असर पार्न सक्छ । यस्तै, प्रलोपा पार्टीका युवा उम्मेदवार सन्तोष विष्टको उपस्थितिले पनि चुनावलाई थप रोचक बनाएको छ । ०७९ को निर्वाचनमा यस क्षेत्रमा एमालेले ३४ हजार ९१६ मतसहित जित निकालेको थियो । कांग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार विरोध खतिवडाले ३० हजार ३९६ मत प्राप्त गरेका थिए । रास्वपाले पनि उल्लेख्य मत ल्याएको थियो । अहिले गठबन्धन नभएकाले प्रतिस्पर्धा झनै खुला बनेको छ ।
यसपटकको निर्वाचनमा एक लाख ५६ हजारभन्दा बढी मतदाता रहेको मकवानपुर २ मा जनजाति समुदायको मत कसरी ध्रुवीकृत हुन्छ भन्ने कुराले अन्तिम नतिजा तय गर्ने देखिन्छ । एमालेको बिरासत टिक्छ कि नयाँ शक्ति उदाउँछ भन्ने प्रश्नको उत्तर जनजाति मतदाताको निर्णयसँग गाँसिएको छ ।
मकवानपुर २ मा कुल मतदाता संख्या एक लाख ५६ हजार ८९९ छन् । जसमा महिलाको संख्या ७४ हजार ५६६, पुरुषको संख्या ८२ हजार ३३२ र अन्य मतदाता एकजना छन् । यो निर्वाचन क्षेत्रमा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र छन् ।
मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार यस क्षेत्रको राक्सिराङ गाउँपालिकामा–६ मतदान स्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा एक मतदानस्थल र तीन मतदान केन्द्र, मनहरी गाउँपालिकामा एक मतदानस्थल र तीन मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा एक मतदानस्थल र एक मतदान केन्द्र अति संवेदनशील मानिएका छन् ।