- चार निर्वाचन क्षेत्र रहेको धनुषामा कांग्रेस, एमाले, नेकपा, जसपा परम्परागत प्रतिस्पर्धी हुन्, रास्वपाको प्रवेशले चुनावी सरगर्मी झनै बढाएको छ
चार निर्वाचन क्षेत्र रहेको धुनषामा कांग्रेस, एमाले, नेकपा, जसपासँगै रास्वपा पनि मैदानमा उत्रिएपछि चुनावी सरगर्मी बढेको छ । धनुषाको जनकपुरधाम मधेशको राजधानी पनि हो ।
०७९ को चुनावमा दलहरूबिच भएको तालमेलबाट धनुषा १ मा जसपा, २ मा कांग्रेस तथा ३ र ४ मा एमालेले जित निकालेका थिए । यसपटक दलहरू एक्लाएक्लै चुनावी मैदानमा रहेको, मधेशका शक्ति जसपा–लोसपाबिच एकता र रास्वपाको पनि प्रवेश छ । रास्वपाले ५ माघमा जनकपुरधाममा आयोजना गरेको सभामा पार्टी सभापति रवि लामिछानेसँगै वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को भाषणले चुनावी माहोल गर्माएको थियो । यहीबिचमा कांग्रेस सभापति गगन थापा पनि धनुषा पुगेर काठमाडौं फर्किसकेका छन् ।
राजनीतिक विश्लेषक राकेश मिश्रले पनि धनुषामा पुराना दलहरूबिच प्रतिस्पर्धा हुँदै आएकामा यसपटक भिन्न अवस्था रहेको बताए । ‘धनुषामा पुरानै दलहरूबिच प्रतिस्पर्धा हो । तर, यसपटक रास्वपा पनि आएको छ । मधेशमा बालेन आउँदा युवा जमातमा क्रेज बढाएको छ,’ उनले भने, ‘मतपेटिकासम्मपुग्दा कसरी जान्छ यकिन भन्न सकिने अवस्था छैन ।’
चुनावी मैदानमा १५८ उम्मेदवार, ५,१४,५७१ मतदाता
चार निर्वाचन क्षेत्र रहेको धनुषामा स्वतन्त्रसहित १५८ उम्मेदवार चुनावी मैदानमा छन् । पाँच लाख १४ हजार ५७१ मतदाताले २१ फागुनमा उम्मेदवारहरूको भविष्य निर्धारण गर्नेछन् । मतदातामा पुरुष दुई लाख ७६ हजार १२६ र महिला दुई लाख ३८ हजार ४३५ छन् । धनुषाको कुल जनसंख्या भने आठ लाख ६७ हजार ७७४ हो ।
धनुषा १ मा स्वतन्त्रसहित ४२ उम्मेदवार चुनावी मैदानमा उत्रेपनि मुख्य प्रतिस्पर्धा भने नेकपाका नेता मातृकाप्रसाद यादव, जसपाका दीपककुमार कार्की, कांग्रेसका रामपल्टन साह, एमालेका रामचन्द्र मण्डल र रास्वपाका किशोरी साहबिच हुने देखिन्छ ।
जनयुद्धदेखि माओवादी रहेका यादव ०६४ र ०७४ मा यही क्षेत्रबाट विजयी भएका थिए । तर, ०७९ को निर्वाचनमा भने उनी जसपाका दीपक कार्कीसँग पराजित हुन पुगे । यादव यसपटक कमब्याक गर्ने योजनामा छन् । ०७९ मा कार्कीले २७ हजार ४३१ मत ल्याउँदा यादवले २१ हजार ४८३ मत पाएका थिए ।
कांग्रेस नेता आनन्द ढुंगानाको गृहक्षेत्र भएकाले यहाँ कांग्रेसको संगठन बलियो भएको मानिन्छ । कांग्रेसले यसपटक नयाँ उम्मेदवार रामपल्टन साहलाई मौका दिएको छ ।
०७४ मा एमालेबाट क्षेत्र नम्बर १ (१)बाट प्रदेश सभामा निर्वाचित भएका किशोरी यसपटक रास्वपामा पुगेका छन् । उनी ०७९ मा निर्वाचनमा जनमतबाट उम्मेदवार बने पनि १४ हजार ४६७ मतसहित तेस्रो भएका थिए । ०७९ को निर्वाचनमा सोही क्षेत्रको (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भई प्रदेश सभामुख बनेका रामचन्द्र मण्डल अहिले एमालेबाटै प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । प्रदेश सभामुखबाट पदमुक्त भएका उनी सांसदबाट राजीनामा दिएर चुनावमा होमिएका हुन् ।
त्यस्तै, धनुषा २ मा पूर्वमन्त्रीदेखि नयाँ अनुहारबिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । नेकपाका रामचन्द्र झा, कांग्रेसका दिनेशप्रसाद यादव प्रसैला, एमालेका उमाशंकर अरगरिया, जसपाका पशुपति यादव र रास्वपाका रामविनोद यादवसहित ३४ जना उम्मेदवार छन् । जसपाले यो क्षेत्रमा नयाँ अनुहार उतारेको हो ।
कांग्रेसका प्रसैला ०६४ को संविधान सभा निर्वाचनमा निर्वाचित भएपनि त्यसपछि टिकट पाएका थिएनन् । यहाँबाट ०७९ मा कांग्रेसकै उम्मेदवार पूर्वमन्त्री रामकृष्ण यादव २० हजार ११२ मतसहित विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी एमालेका उमाशंकर अरगरिया १९ हजार ९५५ मतमा सीमित भएका थिए । उनी फेरि उम्मेदवार छन् । यस क्षेत्रमा कांग्रेस, एमाले, जसपा र नेकपाको संगठन राम्रो मानिन्छ ।
त्यसैगरी, धनुषा ३ मा कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि फेरि चुनावी मैदानमा छन् । ०६४ र ०७० मा चुनाव जितेका उनी ०७४ मा पराजित भए । त्यसपछि ०७९ समानुपातिकको बाटो रोजेका थिए । ०७९ मा चुनाव जितेकी जुलीकुमारी महतो पनि प्रतिस्पर्धामा छिन् भने जसपाले परमेश्वर साहलाई अघि सारेको छ । ०७९ मा एमालेकी जुलीले ३३ हजार ३८८ मत ल्याएर चुनाव जितेकी थिइन् ।
०७४ मा भने यहाँ तत्कालीन राजपाका राजेन्द्र महतो विजयी भएका थिए । यसपटक निधि र जुलीलाई टक्कर दिन चुनावी मैदानमा रास्वपाका मनीष झा, जसपाका परमेश्वर साह, राष्ट्रिय मुक्ति पार्टीका राजीव झासहितका ४५ उम्मेदवार छन् । धनुषा ३ मा जनकपुरधाम उपमहानगरपालिकाका धेरैजसो वडा पर्छन् ।
त्यस्तै, धनुषा ४ मा एमाले उपमहासचिव रघुवीर महासेठ, कांग्रेस निवर्तमान सहमहामन्त्री महेन्द्र यादव, जसपाका कृष्णचन्द्रप्रसाद साह, नेकपाका सञ्जय महतोसहित ३७ उम्मेदवार छन् । यस क्षेत्रमा महासेठ र यादवबिच प्रतिस्पर्धा हुँदै आएको छ ।
अघिल्लो चुनावमा महासेठले यादवलाई १२४ मतान्तरले पराजित गरेका थिए । महासेठ ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा यादवले ३२ हजार ११२ मत पाएका थिए । जसपाका महाजन यादव तेस्रो र रास्वपाका सञ्जयकुमार यादव चौथो भएका थिए ।