नयाँ जीवन बिमा व्यवसायमा उत्साह, ६ महिनामा ४८ प्रतिशतको वृद्धि
चालू आर्थिक वर्ष ०८२/८३ को ६ महिनामा नयाँ जीवन बिमा व्यवसायमा ४८ प्रतिशतको वृद्धि देखिएको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पुस मसान्तसम्मको जीवन बिमा व्यवसायको तथ्यांकले यस्तो देखाएको हो । चालू आवको ६ महिनामा २३ अर्ब ८६ करोड २५ लाख प्रथम बिमाशुल्क संकलन भएको छ । गत आवको यही अवधिमा १६ अर्ब १२ करोड २१ लाख प्रथम बिमाशुल्क संकलन भएको थियो ।
नयाँ व्यवसाय बढाउने मामिलामा नेपाल लाइफ अग्रस्थानमा छ । उक्त कम्पनीले पाँच अर्ब ९९ करोड १७ लाख यस्तो शुल्क उठाएको छ । दोस्रो स्थानमा रहेको नेसनल लाइफले तीन अर्ब १० करोड ९४ लाख र एलआइसी नेपालले एक अर्ब ६८ करोड १० लाख प्रथम बिमाशुल्क उठाएका छन् । यस अवधिमा वैदेशिक रोजगार बिमाबाट एक अर्ब ७१ करोड ५६ लाख प्रथम बिमाशुल्क उठेको छ । यो रकम पछि सबै कम्पनीलाई बाँडफाँट गरिनेछ ।
सामान्यत: ५, १०, १५, २०, २५ वर्षजस्ता निश्चित अवधि तोकेर बिमा गरिन्छ । त्यसमा हरेक वर्ष तोकिएको दरमा बिमाशुल्क तिर्नुपर्छ । त्यसमा पहिलोपटक बिमितले तिर्ने शुल्क नै प्रथम बिमाशुल्क हो, जुन समीक्षा वर्षमा ४८ प्रतिशतले बढेको छ । हाल नेपालमा कुल १४ जीवन र तीन जीवन लघु बिमा कम्पनी छन् ।
कुल व्यवसायमा १९ प्रतिशतको वृद्धि
समीक्षा अवधिमा जीवन बिमा कम्पनीहरूको कुल व्यवसाय भने १९ प्रतिशतले बढेको छ । चालू आवको ६ महिनामा ९६ अर्ब ६४ करोड तीन लाख रुपैयाँ जीवन बिमाशुल्क संकलन भएको छ । गत आवको यही अवधिमा ८१ अर्ब १७ करोड ६८ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको थियो । त्यसमा प्रथम बिमाशुल्क २३ अर्ब ८६ करोड २५ लाख र नवीकरण बिमाशुल्क ७२ अर्ब ७७ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
थपिए सवा ६ लाख सक्रिय बिमित
चालू आवको ६ महिनामा ६ लाख १९ हजार एक सय ३७ जना सक्रिय बिमित थपिएका छन् । गत असारसम्म एक करोड ५६ लाख ३० हजार नौ सय ९९ वटा बिमालेख सक्रिय थिए । पुस मसान्तसम्म आउँदा त्यो बढेर एक करोड ६२ लाख ५० हजार एक सय ३६ पुगेका छन् । गत आवको पुस मसान्तसम्म यस्तो बिमालेख संख्या एक करोड ४० लाख ४१ हजार तीन सय ५३ थियो । पछिल्लो एक वर्षमा सक्रिय बिमालेखको संख्या २२ लाख आठ हजार सात सय ८३ थपिएको छ ।
यसकारण बिमामा तानिए निक्षेपकर्ता
सहकारीमा जोखिम र बैंकको ब्याजदर कम भएपछि अहिले सर्वसाधारणमा बिमाप्रति आकर्षण बढेको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल जीवन बिमक संघका निवर्तमान अध्यक्ष पोषक पौडेलले नयाँ व्यवसाय बढ्नुमा बहुपक्षीय कारण भएको बताए । ‘यसपालि नयाँ जीवन बिमा व्यवसायमा उत्साहन नै छ । पछिल्लो समय आर्थिक गतिविधि पनि बढ्दै गएको छ । कोरोना, पटक–पटक आउने बाढीपहिरोलगायतका कारण सर्वसाधारणले बिमाको आवश्यकता गर्दै आएका छन् । पछिल्लो समय लगानीका हिसाबले पनि सुरक्षित देखेका छन् । अहिले सहकारीमा पैसा सुरक्षित छैन भन्ने अनुभूति सर्वसाधारणलाई भइरहेको छ । यता बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर पनि कम भएको छ । त्यसले गर्दा सहकारी र बैंकमा राखिएको मुद्दती निक्षेप परिपक्व भएपछि जीवन बिमा गर्ने कल्चर पनि बढेको छ । लगानी र जोखिम रक्षावरण दुवै उद्देश्यले बिमा गरिएको छ,’ उनले भने, ‘यसबिचमा कम्पनीहरूले मार्केटिङ पनि बढाएका छन् । बिमाको जागरण बढाएका छौँ । विगतमा व्यक्तिलाई बिमा गर्न प्रस्ताव गर्दा कन्भिन्स गर्न नै गाह्रो हुन्थ्यो । अहिले सहजै बिमा गर्न स्वीकार गर्छन् ।’ पुस मसान्तको क्लोजिङका कारण पनि व्यवसाय बढ्न सहयोग पुगेको उनले बताए । कम्पनीहरूले पनि मार्केटिङ बढाउँदा थप सहयोग पुगेको उनको भनाइ छ ।
सामान्यत: ब्याजदर घट्दा निक्षेपको पैसा सेयर बजारमा लगानी हुन्छ । तर, पछिल्लो समय सेयर बजारमा पनि त्यति उत्साह छैन । त्यसपछि निक्षेपको पैसा बिमामा ‘डाइभर्ट’ भएको जानकारवाला बताउँछन् ।
बोनस दर बढाउन भने चुनौती
ब्याजदर घटेका कारण बिमामा सर्वसाधारणको आकर्षण बढ्दा उनीहरूलाई कम्पनीहरूले दिने बोनस दर बढ्नेमा भने चुनौती देखिएको छ । बिमा कम्पनीहरूले आम्दानी, खर्चलगायतका सूचकका आधारमा हरेक वर्ष बिमितलाई बोनस दर तोक्छन् । हरेक वर्षको बोनस दर फरक–फरक हुन्छ । बिमा अवधि सकिएपछि हरेक वर्षको बोनस एकमुस्ट दिइन्छ ।
बिमा कम्पनीहरूको आम्दानीको मुख्य स्रोत नै मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज रकम हो । किनकि, कम्पनीहरूको धेरै लगानी मुद्दती निक्षेपमै छ । अहिले ब्याजदर घटेको अवस्थामा उनीहरूको आम्दानी प्रभावित हुन गई बोनस दर पनि प्रभावित हुने देखिन्छ ।
सिइओ पौडेलले ब्याजदर कम हुँदा बोसन दर प्रभावित हुन सक्ने बताए । ‘कम्पनीहरूको सबैभन्दा धेरै लगानी मुद्दती निक्षेपमै छ । अहिले ब्याजदर कम हुँदै गएपछि आम्दानी पनि प्रभावित हुँदै गएको छ । पहिला ब्याजदर धेरै हुँदा लामो अवधिमा राखेको मुद्दती निक्षेपबाट आम्दानी राम्रै छ । अन्यमा कम छ । त्यो अवस्थामा बोनस दर प्रभावित हुन सक्छ,’ उनले भने, ‘तर, अहिले बिमा कम्पनीहरूले लगानीलाई विविधीकरण गर्दै गइरहेका छन् ।’