जेन-जी आन्दोलनमा भएको दमन र क्षतिबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगको म्याद दोस्रोपटक थप हुने भएको छ। प्रतिवेदन लेखन नसकिएको भन्दै आयोगले एक महिना म्याद थपको प्रस्ताव अघि बढाएको छ। आयोगको म्याद शुक्रबार सकिँदै छ।
गत ९ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन भएको थियो। सुरुमा तीन महिनाको समय दिइएकोमा एक महिना थप भएको थियो। थप भएको समयभित्र पनि काम नसकिएपछि अर्काे एक महिना थप भएको छ। म्याद थपसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको छ।
२३ भदौमा जेन–जी युवाहरूले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा दमन हुँदा १९ जनाको मृत्यु भएको थियो। त्यसको विरोधमा भोलिपल्ट देशभरि प्रदर्शन भएपछि स्थिति समाल्न नसरी तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका थिए। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गरी फागुन २१ मा चुनाव गराउन लागिएको छ।
चुनावअगाडि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुँदा कारबाही सिफारिस भएकाहरू रिसाउने र चुनावी वातावरण बिग्रन सक्ने भएकाले पनि म्याद थप गर्न लागिएको स्रोत बताउँछ।