राष्ट्रिय लिगमा जावलाखेलको पहिलो जित

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

जावलाखेल युथ क्लबले राष्ट्रिय लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेलले श्री भगवती क्लबलाई ४–० ले हराउँदै ३ अंक हात पारेको हो । यसअघि पहिलो खेलमा जावलाखेल अप्रत्याशित रूपमा लालीगुराँस क्लबसँग १–० ले पराजित भएको थियो । एन्फा प्रेसिडेन्ट कप विजेता लालीगुराँसविरुद्ध ‘ए’ डिभिजनको अनुभवी क्लब जावलाखेलले उत्कृष्ट प्रदर्शन गर्न सकेको थिएन । जावलाखेलले आफ्नो दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्यो । 

गत सिजनमा ‘बी’ डिभिजन लिग विजेताका रूपमा शीर्ष डिभिजनमा उक्लेको श्री भगवतीमाथि जावलाखेलले पहिलो तथा दोस्रो हाफमा दबाबमा राखेको थियो । जावलाखेललाई जित दिलाउने क्रममा विदेशी खेलाडी ह्यामिल्टन र धर्मेन्द्रले समान दुई गोल गरेका थिए । श्री भगवतीका खेलाडी सम्हालिन नपाउँदै सातदोबाटोले खेलको पहिलो मिनेटमै १–० को अग्रता लियो । ह्यामिल्टनले जावलाखेललाई अग्रता दिलाएका हुन् । खेलको चौथो मिनेटमा धर्मेन्द्रले २–० को अग्रता दिलाए । खेलको ५७औँ मिनेटमा जावलाखेल ३–० ले अघि बढ्यो । खेलको अन्तिम इन्जुरी समयको आठौँ मिनेटमा ह्यामिल्टनले टोलीको जित ४–० को पक्का पारे । यसअघि श्री भगवतीले आफ्नो पहिलो खेलमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १–१ को बराबरीमा रोकेको थियो । 

एपिएफद्वारा फ्रेन्ड्स पराजित
विभागीय क्लब एपिएफले च्यासल मैदानमा फ्रेन्ड्स क्लबलाई १–० ले हराएको छ । खेमराज श्रेष्ठको आत्मघाती गोलमा एपिएफले लिगमा पहिलो खेलमा जित हात पारेको हो । खेमराजले २५औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् । फ्रेन्ड्सले लिगमा पहिलो हार सामना गरेको हो । यसअघि फ्रेन्ड्सले काँक्रेबिहार क्लबलाई ३–१ ले पाखा लगाएको थियो । खेमराजको चालू लिगमा दोस्रो आत्मघाती गोल हो । यसअघि उनले काँक्रेबिहारविरुद्ध पनि आत्मघाती गोल गरेका थिए । 

यसैगरी, च्यासल मैदानमा संकटा क्लबले राष्ट्रिय लिगमा पहिलो जित दर्ता गरेको छ । संकटाले काँक्रेबिहार क्लबलाई ४–० ले पराजित गरेको हो । संकटाको जितमा अनिश महर्जन, कृष्णबहादुर आले, विशाल तामाङ र गिलबर्ट बिल्गोले गोल गरेका थिए । अनिशले १४औँ मिनेटमा संकटालाई १–० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा कृष्णले संकटालाई २–० को स्थितिमा राखे । 

खेलको ५५औँ मिनेटमा विशालले संकटालाई ३–० को अग्रता दिलाए । गिलबर्टले ७४औँ मिनेटमा गोल गर्दै संकटाको जित ४–० को पक्का पारे । यसअघि पहिलो खेलमा संकटाले सातदोबाटोसँग गोलरहित बराबरी खेलेको थियो । काँक्रेबिहारको यो लगातार दोस्रो हार हो । ‘ए’ डिभिजन लिगका १३ र एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका चार गरी १७ टोलीले विनारेलिगेसनको राष्ट्रिय लिग खेलिरहेका छन् ।

सुझावित समाचार