बबई नदीमा तटबन्ध निर्माणको काम सुरु भएपछि स्थानीयहरू खुसी भएका छन् । गुलरिया नगरपालिका– ५, बालापुरमा तटबन्ध निर्माणको काम सुरु भएपछि स्थानीयहरू खुसी भएका हुन् । विगतका दिनमा तटबन्ध निर्माणकाे कामले गति लिन नसक्दा स्थानीयहरू निराश भएका थिए । तर, अहिले तटबन्ध निर्माणकाे कामले गति लिएसँगै स्थानीयहरूसमेत खुसी भएका छन् ।
बबई नदीमा पानीको सतह बढेसँगै गाउँमा कति वेला बाढी पस्छ भन्ने त्रास हुन्थ्यो, तर अहिले तटबन्ध निर्माणको कामले गति लिएसँगै अब सुरक्षित भइन्छ भन्ने लागेको स्थानीय सन्तोष चौधरी बताए । उनले भने, ‘बालापुर गाउँ बबई नदी किनारमा छ। जसले गर्दा बर्सेनि नदीमा आउने बाढीले खेतबारी कटान गर्ने र गाउँमा बाढी पस्ने समस्या थियो । तर, अब तटबन्ध निर्माण भएपछि नदीले खेतबारी कटानको समस्या रोकिन्छ भन्ने लागेको छ ।’
कृषिलाई मुख्य पेसा बनाएर तरकारी खेती गर्दै आएका बालापुरका हरिबहादुर चौधरीले आफ्नो खेत नदी किनारमा भएको हुँदा बर्खायाममा बबई नदीबाट आउने बाढीले तरकारी बारीमा क्षति पुर्याउने गरेको बताए । उनले भने, ‘बाढीले धेरैको जग्गा कटान गरेर खेतबारी नदी र बगर भएको छ । तटबन्ध निर्माण भएपछि कम्तीमा जग्गा सुरक्षित हुने भयो ।’
गुलरिया नगरपालिका– ५, बालापुरका दिनेशकुमार चौधरीले बर्खायाम सुरु भएपछि गाउँमा कति वेला बाढी पस्ने हो भन्ने त्रासबाट अब मुक्त भएको बताए । उनले भने, ‘बाढी आएपछि धनजनको सुरक्षा गर्ने कि आफू सुरक्षित हुने भन्ने हुन्थ्यो । तर, अहिले तटबन्ध निर्माण भएपछि केही राहत होला भन्ने लागेको छ ।’
गुलरिया नगरपालिका– २, संगमबस्तीदेखि गुलरिया– १०, लटकनियासम्मको करिब ७० प्रतिशत भूभागमा तटबन्ध निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका प्रमुख सुदिन मोक्तान बताए। उनले भने, ‘पहिला बबई, भादा, ओरही नदी व्यवस्थापन आयोजनाले तटबन्ध निर्माणको काम गरिरहेको थियो । बबई, भादा, ओरही नदी व्यवस्थापन कार्यालय डडेल्धुरा सरेपछि अहिले सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरले तटबन्ध निर्माणको काम हेरिरहेको छ ।’
गुलरिया नगरपालिका– ५, बालापुर साइडको बबई नदीमा तटबन्ध निर्माणको काम अमन मेदान्त जेभीले ६ करोड ५९ लाख ७ हजार ४०७ रुपैयाँमा प्राप्त गरेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका सूचना अधिकारी इन्जिनियर सञ्चितकुमार साहले बताए ।
उनले भने, ‘निर्माण कम्पनीले तटबन्ध निर्माणका लागि ०८२ वैशाख २२ गते सम्झौता गरेको थियो । तटबन्ध निर्माणको कामको प्रगति हेर्दा अहिलेसम्म ४० प्रतिशत भएको छ भने तटबन्ध निर्माणको काम ०८३ असार १५ गतेसम्म सक्नुपर्नेछ । निर्माण कम्पनीले करिब पाँच सय मिटर तटबन्ध निर्माण पर्नुपर्नेछ भने तटबन्ध निर्माण गर्दा १२ मिटरको लन्चिङ र स्लोप रिभेटमेन्ट बनाउनुपर्नेछ ।’
०७१ साल र ०७४ सालमा आएको बाढीले गुलरिया नगरपालिकाको अधिकांश भूभागमा बाढी आएको थियो भने करोडौँको धनजनको क्षति भएको थियो । त्यस वेला आएको बाढीले धेरैलाई घरबारविहीन बनाएको थियो भने नदीतटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिको जग्गासमेत कटान भएको थियो । त्यसपछि बबई नदीमा तटबन्ध निर्माणको काम सुरु भएको थियो ।