बढ्न थाल्यो मूल्यवृद्धि

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण
  • भारतबाट आयात हुने सामानको भाउ बढेर आउन थालेकाले घट्दै गइरहेको नेपालको मुद्रास्फीति प्रभावित, मुलुकभित्रकै आन्तरिक उपभोगसमेत बढ्न थालेकाले मुद्रास्फीति उचालिएको राष्ट्र बैंकको तथ्यांक

असोज र कात्तिकमा वस्तुको मागमा भएको संकुचनले घट्दै गइरहेको मूल्यवृद्धि दर मंसिरमा भने बढेर १.६३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । व्यावसायिक गतिविधि बढ्न नसकेको र बजारमा वस्तुको माग बढ्न नसक्दा कात्तिकमा मूल्यवृद्धि दर खुम्चिएर १.११ प्रतिशतसम्म पुगेको थियो । असोजमा यो दर १.४७ प्रतिशत थियो ।

नेपालमा उपभोग हुने अधिकांश वस्तु आयातमा आधारित हुने भएकाले विश्व बजारमा हुने मूल्यवृद्धिको असर मंसिरको सूचकांकमा देखिएको हो । असोजको तुलनामा कात्तिकमा भारतमा मूल्यवृद्धि दर बढेको छ । नेपालमा हुने वस्तु आयातमा भारतको बढी हिस्सेदारी छ । त्यसैले पनि त्यहाँको मुद्रास्फीति बढ्दा नेपालमा प्रत्यक्ष असर परेको हो । भारतमा असोजमा ०.२५ प्रतिशत रहेको मुद्रास्फीति कात्तिकमा ०.७१ प्रतिशतमा पुगेको छ ।

मूल्यवृद्धि दरको प्रमुख कारण आयात वृद्धिलाई मानिएको छ । चालू आर्थिक वर्ष ०८२/८३ को पाँच महिनामा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई सात खर्ब ६६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात तीन प्रतिशतले वृद्धि भएको थियो । भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, लसुन, खानेतेल, तेलहन, दाललगायतका वस्तुको आयात घटेको छ ।

भौगोलिक रूपमा काठमाडौं उपत्यका, पहाड र हिमाली क्षेत्रमा कात्तिकको तुलनामा मंसिरमा मूल्यवृद्धि दर बढेको छ भने तराईमा ऋणात्मक छ । काठमाडौंमा मूल्यवृद्धि दर ०.२४ प्रतिशत, पहाडमा ०.२४ प्रतिशत र हिमाली क्षेत्रमा ०.३६ प्रतिशत छ । तर, तराई क्षेत्रमा भने ०.०४ प्रतिशतले ऋणात्मक छ । काठमाडौंको सहरी क्षेत्रमा बढी मानिसको बसोवास हुने र ठुलो बजार रहेकाले यहाँको मूल्यवृद्धि दरको प्रभाव समग्र मुद्रास्फीतिलाई प्रभावित पार्ने हुन्छ । ग्रामीण र सहरी क्षेत्रबिचको तुलनात्मक तथ्यांक हेर्ने हो भने ग्रामीण क्षेत्रमा कात्तिकको तुलनामा ०.२३ प्रतिशत र सहरी क्षेत्रमा ०.०९ प्रतिशत बढी छ । खाद्यान्न तथा पेयपदार्थ समूहमा मूल्यवृद्धि दर २.०५ प्रतिशत ऋणात्मक छ भने गैरखाद्य तथा सेवा समूहतर्फ ३.७५ प्रतिशत बढेको छ ।

रेमिट्यान्स बढेको बढ्यै : मंसिरमा मात्रै एक खर्ब ८३ अर्ब १८ करोड भित्रियो
चालू आवको पाँच महिनामा रेमिट्यान्स ३५.६ प्रतिशतले बढेर आठ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ । कात्तिकसम्म ६ खर्ब ८७ अर्ब १३ करोड रेमिट्यान्स भित्रिएको थियो । मंसिर महिनामा मात्रै एक खर्ब ८३ अर्ब १८ करोडको रेमिट्यान्स भित्रिएको छ । कात्तिकमा एक खर्ब ३३ अर्ब मात्रै रेमिट्यान्स भित्रिएको थियो । बढ्दो रेमिट्यान्सले वस्तु तथा सेवाको उपभोग वृद्धिमा टेवा पुग्ने भएकाले यसले आयातसँगै मूल्यवृद्धिलाई पनि उचालेको हो । तर, रेमिट्यान्स थुप्रिँदै जाँदा यसले बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या बढाएको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार सुस्त हुँदा अधिक तरलताको समस्या बढ्दै गइरहेको छ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.९ प्रतिशत अर्थात् दुई खर्ब ८१ अर्ब ८९ करोडले वृद्धि भएको छ । मंसिर मसान्तसम्म कुल निक्षेप ७५ खर्ब ४५ अर्ब ७७ करोड पुगेको छ । तर, कर्जा प्रवाह भने १.९ प्रतिशत मात्रै (एक खर्ब दुई अर्ब २४ करोड) विस्तार भएको छ । निक्षेपको तुलनामा कर्जा प्रवाह सुस्त देखिँदा अर्थतन्त्र चलायमान बन्न सकेको छैन । 

चुलिँदो विदेशी मुद्रा सञ्चिति
उत्पादन र पूर्वाधार विकास अघि बढ्न नसक्दा विदेशी मुद्रा सञ्चिति थुप्रिँदै गएको छ । मंसिर मसान्तसम्म यस्तो सञ्चिति ३२ खर्ब एक अर्ब रुपैयाँ कायम भएको छ । असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब रुपैयाँ थियो । पाँच महिनामा १९.६ प्रतिशतले बढेको हो । 

अमेरिकी डलरमा यस्तो सञ्चिति ०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा मंसिर मसान्तसम्ममा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड डलर पुगेको छ ।

चालू खाता तीन खर्ब ५८ अर्ब बचतमा
समीक्षा अवधिमा चालू खाता तीन खर्ब ५८ अर्ब ८३ करोड बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ५८ अर्ब ४५ करोड बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १८ करोड बचतमा रहेको चालू खाता समीक्षा अवधिमा दुई अर्ब ५४ करोड डलर बचतमा छ । 

सुझावित समाचार