नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा निर्वाचन प्रहरीको भर्ना लिने

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आगामी चुनावका लागि संयुक्त रूपमा निर्वाचन प्रहरी भर्ना गर्ने भएका छन्। शुक्रबारदेखि निर्वाचन प्रहरीको आवेदन खुल्दै छ। 

बिहीबार नेपाल प्रहरीले प्रकाशित गरेको सूचनामा एक लाख ३३ हजार नौ सय ९० निर्वाचन प्रहरीको संख्या मात्र समावेश भएपछि अन्योलता देखिएको थियो। सशस्त्र प्रहरीमातहत पनि १५ हजार एक सय १० निर्वाचन प्रहरी भर्नाका लागि सरकारले स्वीकृति गरिरहेको छ। 

बिहीबार गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले संयुक्त रूपमा भर्नाको एकीकृत सूचना निकाल्न ७७ जिल्लालाई नै निर्देशन दिने निर्णय भएको छ। निर्वाचन प्रहरीको भर्नाका लागि ७७ जिल्लामै नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा सूचना निकाल्नेछन्। 

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सबै जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीमातहत खटिने निर्वाचन प्रहरीको संख्या तय भइसकेको छ। सोहीअनुसार छनोट गरी खटाइनेछ। छनोटपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले छुट्टाछुट्टै तालिम दिनेछन्। नेपाल प्रहरीमातहत भर्ना हुने निर्वाचन प्रहरी बुथमा खटिनेछन् भने सशस्त्र प्रहरीमातहत खटिने स्टाइकिङ र मतदानस्थलको बाहिरी घेरामा खटिनेछन्। दुवै निर्वाचन प्रहरीको पोसाक पनि फरक हुनेछ। 

सशस्त्र प्रहरीको संख्या थोरै भएको, तर सबै क्षेत्रमा खटाउने निर्णय भएकाले सशस्त्रलाई पनि निर्वाचन प्रहरी भर्ना गर्न स्वीकृति दिइएको गृह मन्त्रालयले जनाएको छ। 
४० दिनका लागि भर्ना हुने निर्वाचन प्रहरीले प्रहरी जवानबराबर तलब, रासन र बाटो खर्च पाउनेछन्। 

सुझावित समाचार