अब पेट्रोलमा १०% इथानोल मिसाउन पाइने

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण
  • मन्त्रिपरिषद्को निर्णयअनुसार इथानोल खरिद प्रक्रिया अघि बढाउने निगमको तयारी, इथानोल मिश्रण गरेको पेट्रोलको गुणस्तरमा कमी नआउने, तर तुलनात्मक रूपमा सस्तो हुने   

सोमबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गरेर बिक्री गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सो निर्णयपछि आयल निगमले इथानोल खरिदको प्रक्रियासमेत अघि बढाउने भएको छ । तोकिएको मात्रामा इथानोल मिश्रण गर्दा पेट्रोलको गुणस्तरमा फरक नपर्ने भएकाले विश्वभर नै यस्तो प्रयोगमा रहेको आयल निगमका पूर्वकार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘इथानोल मिश्रण भएको पेट्रोल विश्वभर प्रयोगमा छ । ब्राजिलमा सबैभन्दा धेरै खपत भइरहेको छ,’ उनले भने, ‘त्यसैले हामीले पनि गुणस्तर, परिमाण र मूल्यमा उचित निर्णय गर्यौँ भने लागू गर्न सक्छौँ ।’ 

अब आयल निगमले पनि इथानोल मिश्रणका लािग स्वदेशी उद्योगीलाई उत्पादनका लागि प्रोत्साहन गर्ने जनाएको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले मन्त्रिपरिषद्बाट स्वीकृत भएको कार्यविधि प्राप्त गरेपछि इथानोल खरिदका लागि सार्वजनिक सूचना जारी गर्ने बताए । ‘१० प्रतिशत मिश्रणका लागि दैनिक करिब दुई लाख लिटर इथानोल आवश्यक पर्छ,’ भट्टले भने, ‘यति परिमाणमा उत्पादन गरेर दिन सक्ने उद्योगलाई सम्झौता गर्न हामी सार्वजनिक सूचनामार्फत आह्वान गर्नेछौँ ।’ 

इथानोलको मूल्य तुलनात्मक रूपमा सस्तो पर्छ । निगमको प्रारम्भिक अध्ययनअनुसार हाल एक सय २० रुपैयाँ प्रतिलिटरसम्ममा इथानोलको मूल्य पर्छ । पेट्रोलको मूल्य भने हाल एक सय ५९ रुपैयाँ प्रतिलिटर छ । त्यसैले इथानोल मिश्रण गरेको पेट्रोल सस्तो हुनुपर्ने आमबुझाइ छ । 

हाल दैनिक १७ लाखदेखि २० लाख लिटरसम्म पेट्रोलको खपत छ । त्यसैले १० प्रतिशत मिश्रण गर्ने निर्णय लागू भए दैनिक दुई लाख लिटरसम्म इथानोल खपत हुन सक्छ । यसबाट पेट्रोल आयातमा समेत कमी आई व्यापार घाटा कम गर्न मद्दत मिल्ने सरकारको अपेक्षा छ । 

चिनी उद्योगीले पेट्रोलमा मिश्रण हुने इथानोल उपलब्ध गराउनेबारे यसअघि नै सरकारलाई ध्यानाकर्षण गराइसकेका छन् । तर, उद्योगीले दैनिक औसतमा ५० हजार लिटर मात्रै दिन सक्ने क्षमता रहेको बताएका छन् । त्यसैले इथानोलका लागि नयाँ प्लान्ट नै लगाउनुपर्ने निगमको बुझाइ छ । तोकिएको गुणस्तर र परिमाणमा इथानोल दिन प्रतिबद्धता जनाउन कोही आए सार्वजनिक सूचनामार्फत प्रतिस्पर्धा गराई इथानोल खरिदको ग्यारेन्टी निगमले गर्ने कार्यकारी निर्देशक भट्टले जानकारी दिए ।

गुणस्तर, परिमाण र मूल्य सरकारले निर्धारण गर्ने
इनाथोलको गुणस्तर, परिमाण र मूल्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्धारण गर्ने मन्त्रिपरिषद्बाट स्वीकृति भएको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, ०८२’ मा उल्लेख छ । मन्त्रालयका अनुसार गुणस्तर तथा नापतौल विभागले इथानोलको गुणस्तरसम्बन्धी मापदण्ड तोक्ने र सोही मापदण्डमा आधारित भएर उत्पादन भएको इथानोल निगमले खरिद गर्नेछ । त्यस्तै, कुन मूल्यमा इथानोल खरिद गर्ने भन्ने निर्णय भने मन्त्रालयबाटै हुनेछ । ‘पेट्रोलमा मिश्रण गर्ने उद्देश्यले उत्पादित इथानोलको प्रतिलिटर मूल्य कति हुने भन्ने निर्णय मन्त्रालयमा गठन भएको समितिले निर्धारण गर्नेछ,’ स्रोतले भन्यो । 

माग परिमाण भने आयल निगमले तोक्ने भएको छ । देशभर दैनिक खपतका आधारमा पेट्रोलमा मिश्रण हुने इथानोलको माग परिमाण यकिन हुनेछ,’ ती अधिकारीले भने । आयल निगमलाई मात्रै बिक्री गर्ने उद्देश्यले इथानोल उद्योग खोलिने भएकाले सुरुमै परिमाण, मूल्य र गुणस्तरबारे सम्झौता हुने र  त्यसपछि मात्रै उद्योगले उत्पादन थाल्ने सर्त राखिएको छ ।

कुन प्रणालीमा हुन्छ मिश्रण ?
आयल निगमले सोझै उद्योगबाट इथानोल खरिद गर्ने र डिपोमा रहेको संरचनामार्फत मिश्रण गरेर देशैभर पेट्रोल वितरण गर्ने वा उपभोक्तालाई छनोटको सुविधा दिने भन्ने निर्णय भइसकेको छैन । पेट्रोलियम विज्ञसमेत रहेका निगमका पूर्वकार्यकारी निर्देशक सुशील भट्टराईले कुनै उपभोक्ताले शतप्रतिशत पेट्रोल नै प्रयोग गर्छु भनेको खण्डमा विकल्प दिन सकिने बताए । ‘यसका लागि सबै पेट्रोलपम्पमा इथानोलको मेसिन पनि राख्न सकिन्छ । कुनै उपभोक्ताले आफ्नो सवारीसाधनमा १० लिटर पेट्रोल हालेर एक लिटर इथानोल आफैँ राख्न पनि सक्छन्,’ उनले भने ।

आयल निगमले डिपोमा रहेको भण्डारगृहमा नै सोझै १० प्रतिशत इथानोल मिश्रण गरेर पम्पमा पठाउन सक्ने पनि उनले बताए । तर, गुणस्तरका विषयमा उपभोक्ताले गुनासो गर्न नसक्ने गरी काम गर्नुपर्ने उनको सुझाव छ । ‘तोकिएको गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने ग्यारेन्टी गरेर मात्रै आयल निगमले इथानोल मिश्रण गरेको पेट्रोल प्रयोगमा ल्याउनुपर्छ । यसका लािग विकसित देशका अभ्यासलाई पनि अनुसरण गर्न सकिन्छ,’ उनले भने ।

See More On

सुझावित समाचार