नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी नवलपुरको मध्यविन्दु–११, कुसन्डेनिवासी ६९ वर्षीय दलसिंह थापाको मृत्यु भएको हो।
नवलपुर प्रहरीका अनुसार मध्यविन्दु- १०, अरुणखोलाको अरुणखोला सामुदायिक वनबाट कटान गरेको दाउरा लोड गरेको लु ४ त ६२९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
ट्याक्टरको पछाडि ट्रली अचानक पल्टिन गई दुर्घटना हुन जाँदा लोड गरेको मुडामाथि सवार थापा गम्भीर घाइते भई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल ल्याएको थियो।
उनलाई अस्पतालका चिकित्सकले आज दिउँसो १२ बजेतिर मृत घोषणा गरेका थिए। ट्याक्टर र ट्याक्टरचालक ३९ वर्षीय गणेश बागबल प्रहरीको नियन्त्रणमा रहेका छन्।