- विराटनगरबाट पोखरा, भैरहवा, नेपालगन्ज, धनगढीलगायतका गन्तव्यमा सिधा उडान हुने हो भने स्थानीय मात्र नभएर पश्चिम बंगाल र बिहारबाट समेत भारतीय पर्यटक जुटाउन सकिने व्यवसायीको तर्क
कोशीका व्यवसायीले अन्तरप्रदेश र प्रादेशिक हवाई सेवा नहुँदा पर्यटन विकासमा बाधा पुगिरहेकोे गुनासो गरेका छन् । भद्रपुर र विराटनगरमा ठुला क्षमताका विमानस्थल भए पनि पोखरा, लुम्बिनी, नेपालगन्ज, सगरमाथालगायतका क्षेत्रमा सिधा उडान नहुँदा कोशीबाट आन्तरिक पर्यटनको उद्देश्यले भ्रमण गर्ने व्यक्तिले काठमाडौं पुगेर अन्यत्र जानुपर्ने बाध्यता खेपिरहेका हुन् ।
३० वर्षअघि विराटनगर विमानस्थलबाट विभिन्न गन्तव्यमा क्षेत्रीय उडान हुने गरे पनि त्यसयता सुचारु हुन नसक्दा पर्यटन विकासमा बाधा पुगिरहेको व्यवसायीको गुनासो छ । कोशी सबैभन्दा ठुलो आर्थिक हब र धेरै पर्यटकीय गन्तव्य भएको प्रदेशसमेत हो । त्यसैले, यहाँका पर्यटकीय गन्तव्य घुमफिर गर्न चाहने अन्य प्रदेशका नागरिकलाई समेत स्थलमार्ग प्रयोग गर्नुको विकल्प छैन ।
पर्यटन व्यवसायीसमेत रहेका उद्योग वाणिज्य संघ, कोशीका पर्यटन तथा हवाई सेवा समिति संयोजक भवेश श्रेष्ठका अनुसार ५० को दशकको अन्त्यतिर विराटनगर–पोखरा, विराटनगर–भैरहवालगायतका गन्तव्यमा हवाई उडान सेवा उपलब्ध थियो । त्यस्तै, विराटनगर विमानस्थलबाट कोशी प्रदेशको संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङलगायतका जिल्लामा पनि साप्ताहिक हवाई सेवा सञ्चालनमा थिए । ती उडानले प्रदेशभित्र र अन्तरप्रदेशबिच सिधा हवाई सम्पर्क गराएको थियो । तर, सरकारी ध्वजावाहक नेपाल एयरलाइन्सको बेवास्ता र निजी एयरलाइन्सको स्वार्थले अन्तरप्रदेश र प्रादेशिक हवाई सेवा अहिले ठप्प छन् ।
पर्यटन व्यवसायी श्रेष्ठले यात्रु अभाव देखाएर प्रादेशिक र अन्तरप्रदेश हवाई सेवा बन्द गरिएको तर्क उपयुक्त नभएको बताए । ‘यात्रु नपाएर मात्र होइन, काठमाडौंलाई एक मात्र हवाई केन्द्र बनाउने नीतिले गर्दा क्षेत्रीय उडानहरू बन्द गरिएका छन्, यस्तो नीतिले प्रदेशको समग्र विकासमै बाधा पुगिरहेको छ,’ उनले भने । विराटनगरका अर्का पर्यटन व्यवसायी पुण्य भट्टराईले प्रादेशिक र अन्तरप्रदेश पर्यटनको बजार राम्रो रहेकोबारे हवाई सेवाप्रदायक र सरकारी अधिकारीलाई थाहा भए पनि व्यावहारिक हुन नचाहेको बताए । विराटनगरबाट पोखरा, भैरहवा, नेपालगन्ज, धनगढीलगायतका गन्तव्यमा सिधा उडान हुने हो भने स्थानीय मात्र नभएर पश्चिम बंगाल र विहारबाट समेत भारतीय पर्यटक जुटाउन सकिने व्यवसायीको तर्क छ ।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलको चाप कम गर्न पनि क्षेत्रीय उडानहरू थाल्नुपर्ने पर्यटन व्यवसायी राजन श्रेष्ठले बताए । ‘क्षेत्रीय रुट सञ्चालन भए काठमाडौंको हवाई चाप पनि घट्नेछ । यात्रुको समय र खर्च दुवै बच्नेछ र प्रदेशबिचको आर्थिक सम्पर्क पनि बलियो हुनेछ,’ उनले भने ।