कृषिमन्त्री परियारको सयदिने कार्यप्रगति : उखुको समर्थन मूल्यवृद्धिदेखि दुधको बक्यौता असुलीसम्म

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदन परियारले सयदिने कार्यप्रगति सार्वजनिक गरेका छन् । ६ असोजमा कृषिमन्त्री नियुक्त भएका उनले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ र सरकारी अनुदानबापत थप ७० रुपैयाँ प्रतिक्विन्टल उपलब्ध गराउने निर्णयलाई प्रमुख उपलब्धि मानेका छन् ।

गत आव ०८१/८२ मा समर्थन मूल्य पाँच सय ८५ र सरकारी अनुदान ३५ रुपैयाँ गरेर कुल ६ सय २० रुपैयाँ प्रतिक्विन्टल मूल्य निर्धारण भएको थियो । त्यस्तै, अघिल्लो सरकारले यो वर्षदेखि किसानले अनुदान नपाउने गरी बजेट सार्वजनिक गरिएको थियो ।

तर, मन्त्री परियारको पहलमा उखु किसानको अनुदान पनि सुनिश्चित गरिएको छ । त्यस्तै, उखु किसान र उद्योगीको दीर्घकालीन समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन भएको पनि मन्त्रालयले जानकारी दिएको छ । कोभिडयता बल्झिरहेको दुग्ध किसानको बक्यौता पनि हल हुन लागेको मन्त्री परियारले कार्यप्रगतिमार्फत जानकारी दिएका छन् । 

भदौसम्म दुग्ध विकास संस्थानको मात्रै बक्यौता एक अर्ब तीन करोड रहेकोमा ९ पुससम्म ८१ करोड भुक्तानी भइसकेको र बाँकी २२ करोड फागुनभित्र भुक्तानी गर्ने कार्यतालिका बनाएको उनले जानकारी दिए । त्यस्तै, निजी डेरी उद्योगले समेत साढे दुई अर्ब बक्यौतामध्ये एक अर्ब मात्र तिर्न बाँकी रहेको उनको भनाइ छ ।

त्यस्तै, गहुँको समर्थन मूल्य तीन हजार नौ सय ४५ रुपैयाँ निर्धारणका लागि उद्योग मन्त्रालयमा सिफारिस गरिएको र थाइल्यान्डबाट चार हजार पंगासियस भावी माउ माछा आयात गरिएको उनले जानकारी दिए ।

हालसम्म चार लाख ६६ हजार टन मल खरिदका लागि टेन्डर भएको, दुई लाख ४३ हजार वितरण भएको, ८३ हजार टन मौज्दात रहेको र एक लाख ३५ हजार टन विभिन्न देशबाट आयातको प्रक्रियामा रहेको कार्यप्रगतिमा उल्लेख छ ।

See More On

सुझावित समाचार