बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश र स्थानीय तहबिचको सम्बन्धलाई प्रशासनिक तहमा सीमित नगरी आर्थिक तथा विकासका काममा समेत सशक्त साझेदारीका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
थाहा नगरपालिकाको चित्लाङमा आयोजित चित्लाङ हिल स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले ठूला विकास आयोजनामा प्रदेश सरकारले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत बजेट व्यहोर्ने गरी सहकार्य गर्न सकिने स्पष्ट पारे। यसले विकासमा स्थानीय तहको अपनत्व बढाउनुका साथै स्रोतको प्रभावकारी उपयोग हुने उनको भनाइ छ।
‘स्थानीय तहले योजनाको अपनत्व लिनुपर्छ भन्ने प्रदेश सरकारको स्पष्ट धारणा छ,’ मुख्यमन्त्री बानियाँले भने, ‘स्थानीय तहले ३ करोड रुपैयाँ जुटाउन सक्यो भने प्रदेश सरकार थप ७ करोड लगानी गरेर १० करोडको आयोजना सम्पन्न गर्न तयार छ। यसले विकासको गति बढाउँछ र संरचनाको दिगो व्यवस्थापन सुनिश्चित हुन्छ।’
विगतमा प्रदेश सरकारले निर्माण गरेका कतिपय भौतिक संरचना व्यवस्थापनको अभावमा बेवारिसे बनेको उल्लेख गर्दै उनले ती संरचनाको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने अवस्था आएको बताए। ‘प्रदेशले संरचना बनाएर मात्रै हुँदैन, त्यसको संरक्षण र सञ्चालन स्थानीयले लिनुपर्छ,’ उनले भने, ‘थाहा नगरमा बनेको यो संरचना अब नगरपालिकाको सम्पत्ति हो। यसको सफल सञ्चालनले नै संघीयतालाई बलियो बनाउँछ।’
मुख्यमन्त्री बानियाँले विकासलाई दलीय स्वार्थभन्दा माथि राख्नुपर्नेमा जोड दिँदै सहकार्य र एकताको नयाँ भाष्य निर्माण गर्नुपर्ने बताए। ‘सडक र बिजुलीमा कांग्रेस वा एमालेको लेबल हुँदैन,’ उनले भने, ‘निर्वाचनमा एजेन्डा फरक हुन सक्छन्, तर विकासको धारामा सबैले एउटै पानी खाने हो। त्यसैले विकासमा विग्रह होइन, सहकार्य गरौँ।’
कार्यक्रममा मुख्यमन्त्री बानियाँले मकवानपुरको दामन, पालुङ र चित्लाङ क्षेत्रलाई पर्यटनको हबका रूपमा विकास गर्न प्रदेश सरकारले विशेष लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे। काठमाडौँ–चन्द्रागिरि–थाहा नगर जोड्ने सडक कनेक्टिभिटीले सो क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने उनको भनाइ छ।
प्रदेश र स्थानीय तहबिचको सहकार्यले मात्र संघीयताको सार्थक कार्यान्वयन सम्भव हुने भन्दै मुख्यमन्त्री बानियाँले विकासका काममा साझा दृष्टिकोण अपनाउन सबै पक्षलाई आग्रह गरे।